सरस्वती अधिकारी
काठमाडौं : नेपालबाट प्रशोधित राँगा भैँसीको मासु चीन निर्यात गर्न कानुनी बाटो खुलेसँगै तयारी अगाडि बढाइएको छ। तर मुलुकभर भैँसीको संख्या उल्लेख्य रूपमा घट्दै गएको र उत्पादनमा पनि कमी आएसँगै चीनमा मासु निर्यात चुनौतीपूर्ण बन्दै गएको छ।
पछिल्ला दुई वर्षमा मुलुकभर २० लाख ७८ हजार ८ सय ६९ वटा भैँसी घटेका छन्। आर्थिक वर्ष २०७७/२०७८ मा ५१ लाख ५९ हजार ९ सय ३१ वटा भैँसी रहेकोमा २०७९/२०८० मा ३० लाख ८१ हजार ६२ मात्र रहेको र त्यसमध्ये २०८०/२०८१ मा २० लाख ६५ हजार ६६ वटा भैँसी कृत्रिम गर्भाधान भएका सरकारी तथ्यांकमा उल्लेख छ।
नेपालमा प्रतिवर्ष प्रतिव्यक्ति १४ केजी मासु आवश्यक पर्छ। मासु उत्पादनसमेत घटेको देखिन्छ। अघिल्लो आर्थिक वर्ष मासु उत्पादन १ सय १६ हजार मेट्रिक टन रहेकोमा आव २०७९/८० मा ७७ हजार ५ सय मेट्रिक टनले घटेको छ।
यस्तो अवस्थामा यहाँबाट मासु निर्यात चुनौतीपूर्ण देखिएको सरोकारवाला बताउँछन्। तर निजी क्षेत्र समेतलाई आकर्षित गर्दै राँगा–भैँसी पालनमा जोड दिएर मासु निर्यातमा सहजीकरण गरिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह–प्रवक्ता वरिष्ठ पशु चिकित्सक डा. तपेन्द्र बोहोराले बताए।
‘तथ्यांकले संख्या घटेको देखिएको छ, निजी क्षेत्र अगाडि आए सरकारले सहजीकरण गर्नेछ, डा. बोहोराले भने–चीन सँग भएको सम्झौताअनुरूप आगामी आर्थिक वर्षदेखि राँगा भैँसीको मासु निर्यातका लागि उत्पादन प्रवर्द्धन गर्ने खालका क्रियाकलापहरू अगाडि बढाइनेछ।’
‘संघ प्रदेश, स्थानीय तह सबैले मासु प्रवर्द्धनका कार्य एवं गतिविधिहरू गर्ने गरी छलफल भइरहेको बताउँदै उनले निजी क्षेत्रको उत्सुकताका साथ इच्छुक देखिएकाले प्राविधिक सहयोग गरी सहजीकरणको भइरहेको र आगामी बजेटहरूमा यसलाई सहयोग पुग्ने किसिमका कार्यक्रम आउनसक्ने बताए।
सम्झौताअनुरूप, मासुका लागि राँगा भैँसी रोग मुक्त क्षेत्रमा पालिएको र प्रशोधन गर्ने उद्योग पनि रोग मुक्त क्षेत्रमा स्थापना भएको हुनुपर्छ। त्यसको विस्तृत रुपमा प्रारम्भिक अध्ययन भइरहेको डा. बोहोराले जानकारी दिए।
‘निजी क्षेत्रहरूले आफ्नो किसिमले अध्ययन गरिरहेका छन् र सरकारको सहयोगमा कृषि सेवा विभाग, प्रदेश कार्यालयहरू, स्थानीय तहमा प्रारम्भिक अध्ययन विश्लेषण भइरहेको छ उनले थपे–यद्धपी यही जोन भनेर यकिन गरिसकिएको छैन, तयारीकै चरणमा छ।’
संख्या नबढाइए चुनौती
नेपालबाट चीनमा मासु निर्यात गर्ने सम्झौतासँगै बजार खुलेको र उत्पादन गर्नसके खपत हुने ठाउँ बढेको भन्दै डा. बोहोराले यसअघि धेरैजसो दूधका लागि मात्र भैँसी पाल्ने गरिएकोमा अब भैँसीको प्रजनन दर वृद्धि गर्ने, पाडापाडीको पालन बढाउने जस्ता गतिविधि बढाएर दीर्घकालीन योजनासहित संख्या वृद्धि गर्ने ढंगले अगाडि बढ्नुपर्ने खाँचो औँल्याए।
‘चीनमा पठाएसँगै अरू मुलुकमा पनि जाने सम्भावना बढ्छ, यसमा तिनै तह, निजी क्षेत्रको प्रमुख भूमिका छ, कृषि मन्त्रालयका सहप्रवक्ता डा. बोहोराले भने, ‘किसान, सहकारीहरूलाई समेटेर उत्पादन बढाउनै जोड दिनैपर्छ।’
अहिले उत्पादन भइरहेको मासुले आन्तरिक खपत धानिरहेको अवस्था छ। केही वर्षअघि राँगा भैँसी भारतबाट जिउँदो आयात भएकोमा अहिले देशभित्रको उत्पादनले पुगिरहेको बताउँदै उनले अब थप उत्पादन गर्नैपर्ने बताए।
पशु सेवा विभागका उपमहानिर्देशक डा. लेखराज दाहाल किसानले मूल्य बढी पाउने भएपछि उत्पादन बढ्ने बताउँछन्। ‘उत्पादन बढाउन हामीसँग सबै पूर्वाधारहरू छन्। साइलेज छ, घाँस छ, केही समस्या छैन तर जुन मूल्यमा अहिले नेपालमा बिक्री हुन्छ त्यसले त्यति नाफा भएको छैन, चीन गएपछि थप मूल्य पाउँछन् र नाफा बढेपछि किसानले गाईभैँसी पालिहाल्छन् र उत्पादन बढ्छ’ उनले भने।
सरकारले विशेषगरी रोग नियन्त्रणलाई फोकस गरेको भन्दै उनले राँगा भैँसीको मासु चीन निर्यात गर्ने प्रक्रियामा रहेको भन्दै चिनियाँ लगानीकर्ताहरू नेपालमा आइसकेको बताए।
‘उनीहरूको चासो खोरेँत रोग मुक्त क्षेत्र घोषणा हुनुपर्छ भन्नेमा छ, त्यसअनुसार इलाम जिल्लालाई खोरेँत मुक्त क्षेत्र घोषणाको प्रक्रियामा लगिसकेका छौँ, सिन्धुली र मकवानपुरका केही पालिकालाई पनि त्यसमा लाँदैछौँ उनले भने–पूरै देशलाई खोरेँत मुक्त बनाउने आयोजना पनि सुरु भएको छ, त्यसो हुँदा राँगाभैँसी उत्पादन बढ्छ र मासु चीन जान्छ।’
यसकार्यका लागि किसानसँगै पालिकाहरू उत्साहजनक रूपमा अगाडि सरेका डा दाहालले बताए। ‘उत्पादन बढाउन सकिने भएकाले मासु निर्यात चुनौतीपूर्ण छैन। चीनमा मासु अभाव छ, पाल्ने मान्छे पनि छैन तर नेपालमा किसान र किसानको अनुभवबाट बजारको अवसरलाई हासिल गर्नेतर्फ जुट्नुपर्छ’ उनले थपे।
मासुका लागि चिनियाँ बजार
गत पुसमा नेपाल र चीनका निजी क्षेत्रबीच नेपालबाट वार्षिक डेढ अर्ब अमेरिकी डलर बराबरको राँगा भैँसीको मासु निर्यात गर्ने सम्बन्धी समझदारी बनेको छ।
नेपालको हिमालयन फुड इन्टरनेशनल र चीनको सांघाई जियान फुड कम्पनी लिमिटेडबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो।
समझदारीसँगै उक्त कम्पनीले पहिलो चरणमा वार्षिक उक्त मूल्य बराबरको मासु निर्यात गर्ने लक्ष्य राखेको छ। चीनमा वार्षिक २७ लाख मेट्रिक टन मासु आयात हुने तथ्याङ्क छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको क्रममा नेपाल र चीनबीच राँगा भैँसीको प्रशोधित मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको थियो।
त्यसो त यसअघि पनि विभिन्न मुलुक हुँदै चीनमा नेपालबाट मासु पुगेको छ।
आर्थिक वर्ष २०७९/२०८० को तथ्यांकले नेपालले १ सय पाँच मेट्रिक टन राँगाभैँसीको मासु र मासुजन्य पदार्थ निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ।
चीनलाई संसारकै सबैभन्दा ठूलो राँगा भैँसीको मासु आयात कर्ता मानिन्छ। सन् २०१४ मा चीनले विभिन्न देशहरूबाट ३० लाख मेट्रिक टन राँगा भैँसीको मासु र मासु जन्य उत्पादन आयात गरेकोमा २०२३ मा नौ गुणाले बढेर २ करोड ७८ लाख मेट्रिक टन पुगेको थियो।
अस्ट्रेलिया, अमेरिका, ब्राजिल र अर्जेन्टीनासहितका देशहरू भैँसी–राँगाका मासु र मासु जन्य उत्पादन चीनमा सबैभन्दा धेरै निकासी गर्ने देशमा पर्छन्। यो दशकको अन्त्यसम्म चीनमा राँगा भैँसीको मासु आयात ३ करोड ५० लाख मेट्रिक टनसम्म पुग्नसक्ने आँकलन गरिएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया