कपिलवस्तु, २५ माघ ।
मायादेवी गाउँपालिकाको वडा नं. १ ईमिलियामा २९ लाख रुपैयाँको लागतमा निर्माण गरिएको खेलमैदान प्रयोग नगरी वडा नं. ५ स्थित ऐतिहासिक पुरातात्त्विक क्षेत्र सिसहनियाकोटमा प्रतियोगिता सञ्चालन भइरहेको छ । प्रदेश सरकारको शसर्तसहितको बजेट, गाउँपालिकाको लगानी तथा सामाजिक विकास डिभिजन कार्यालय कपिलवस्तुको आर्थिक सहयोगमा निर्माण भएको ईमिलियास्थित खेलमैदान छाडेर पुरातात्त्विक स्थल रोजिनु गम्भीर विषय बनेको छ ।
२९ लाख रुपैयाँको लागतमा सम्पन्न खेलमैदानमा माटो सम्याउने, हैण्डपम्प जडान, बाउन्ड्रीवाल तथा शौचालय निर्माण गरिए पनि त्यसको सदुपयोग नहुनु योजनाको असफल भएको प्रष्ट हुन्छ । गाउँपालिकाका इन्जिनियर सुनिल आचार्यका अनुसार खेलमैदान तयार भएको छ । स्थानीयवासीले खेलमैदान प्रयोग नगरी पुरातात्त्विक स्थलमै खेल सञ्चालन गरिनु खेल संरचनाप्रति गम्भीर लापरवाही भएको बताएका छन् ।
पुरातत्ववले सचेत गराउँदा पनि पुरातात्त्विक स्थलमै खेल सञ्चालन गरिनुले स्थानीय पालिका प्रशासनको गैरजिम्मेवारी उजागर भएको छ । लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्वविद् हिमाल उप्रेतीका अनुसार सिसहनियाकोटमा गरिएको जियो–फिजिकल सर्वेक्षणले तिलौराकोट जस्तै व्यवस्थित बस्ती रहेको प्रमाणित गरिसकेको छ।
पुरातात्त्विक स्थलमा खेल सञ्चालन गर्दा त्यहाँका संरचनामा क्षति पुग्न सक्ने जोखिमलाई बेवास्ता गरिएको देखिन्छ । पुरातात्त्विक स्थलमा खेल खेलाउँदा खन्ने–पुरिने कार्यले त्यहाँ भएको सरचना मासिने सम्भावना उच्च भएकाले यसबारे निगरानी गर्न कर्मचारी खटाउने निर्णय भएको उप्रेतीले बताए ।
गाउँपालिकाले आफै बनाएको खेलमैदान प्रयोग गर्न नसक्नु योजना र नेतृत्वको असफलताको स्पष्ट संकेत हो । कतै यो निर्णय व्यक्तिगत स्वार्थ र राजनीतिक चलखेलको परिणाम त होइन भन्ने आशंका स्थानीयवासीहरूले व्यक्त गरेका छन् ।
खेल सञ्चालनका लागि आवश्यक संरचना खेलमैदानमा उपलब्ध हुँदा पनि पुरातात्त्विक स्थल रोजिनुले गाउँपालिकाले सम्पदाको महत्व बुझ्नै नचाहेको आरोप लागेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया