
घनश्याम भर
(विजयनगर) कपिलवस्तु, १० जेष्ठ ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका सामुदायिक तथा धार्मिक विद्यालयका बाल विकास केन्द्रमा कार्यरत सहजकर्ताहरूलाई पोषण सम्बन्धी दुई दिने तालिम प्रदान गरेको छ ।
गाउँपालिकाको सभाहल खडैचामा सञ्चालन गरिएको उक्त तालिम आइतबार सम्पन्न भएको बहुक्षेत्रीय पोषण कार्यक्रमकी सहजकर्ता कुसुम पाठकले जानकारी दिइन् । उनका अनुसार तालिममा बालबालिकाको पोषण अवस्था सुधार, सन्तुलित आहार, सरसफाई, बाल विकास तथा पोषण सम्बन्धी व्यवहार परिवर्तनका विषयमा प्रशिक्षण दिइएको हाे ।
तालिम समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि पोषण अत्यन्त महत्वपूर्ण रहेको बताउँदै बाल विकास केन्द्रका सहजकर्ताले सिकेका ज्ञान र सीप व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । अध्यक्ष थापाले बालबालिकाको भविष्य उज्ज्वल बनाउन प्रारम्भिक बाल्यकालदेखि नै उचित पोषण आवश्यक भएको बताए । उनले सहजकर्ताहरूले अभिभावक तथा समुदायलाई समेत पोषणसम्बन्धी सचेतना फैलाएर स्वस्थ समाज निर्माणमा योगदान पुर्याउनुपर्नेमा जाेड दिए ।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले बाल विकास केन्द्रहरू बालबालिकाको सिकाई र विकासको आधार स्थल भएकाले त्यहाँ कार्यरत जनशक्तिलाई समयानुकूल तालिम आवश्यक रहेको बताए । पोषणसम्बन्धी ज्ञानले बालबालिकाको स्वास्थ्य सुधार मात्र नभएर उनीहरूको सिकाई क्षमता र समग्र विकासमा समेत सकारात्मक प्रभाव पार्ने बताए । उनले यस्ता कार्यक्रमले गुणस्तरीय बाल विकास सेवामा थप टेवा पुग्ने विश्वास लिएकाे जिकिर गरे ।
तालिममा स्वास्थ्य अधिकृत हरिकुमार श्रेष्ठ, गौतम राय र इन्द्र प्रसाद भण्डारीले सहजीकरण गरेका थिए । सहभागी सहजकर्ताहरूले तालिमबाट प्राप्त ज्ञानलाई बाल विकास केन्द्र तथा समुदायस्तरमा व्यवहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया