प्रकृति र संस्कृतिको संगममा शक्ति आराधना

काठमाण्डौ – “तपाईंलाई पक्कै थाहा हुनुपर्छ, काठमाण्डौमा ब्लड क्यान्सर निको पार्ने देवी कुन होला ?” रेडियो नेपालका महानिर्देशक शैलेन्द्र राज शर्माले अप्रत्याशित रुपमा सोध्नुभएको प्रश्नले मलाई २०५९ सालमा अक्क न बक्क पार्यो ।

म चुप लागेकाले उहाँ आफैँले उत्तर सहितको प्रश्न फेरि सोध्नुभयो, “रक्तकाली मन्दिर थाहा होला नि तपाईलाई ?” म प्रष्ट भएँ । ढुक्कको श्वास लिँदै भनेँ, “किन थाहा नहुनु, सधैँ हिँडिरहने बाटोमै पर्छ मेरो।” मेरो जवाफपछि उहाँले धारावाहिक रुपमा कसरी रक्तकाली मन्दिरमा रक्तसम्बन्धी रोगीहरुले बिहानै पुगेर पूजा गर्छन् भन्ने क्रममा राजा पनि वर्ष एकपटक दशैँमा पुग्ने गरेको प्रसंग कोट्याउनु भयो ।

“रक्तकाली” नाम भएकै कारण रक्तसम्बन्धी भयानक रोगबाट निदान गर्ने देवीका रुपमा पुज्ने गरेको सुनेर म जस्तै सुन्ने कोही आश्चर्यमा पर्न सक्छन् । तर नेपाली संस्कार, संस्कृति र परम्परामा यस्ता धेरै किंवदन्ती जोडिएका विश्वासहरु छन्, जसलाई नागरिकले आस्था एवं विश्वास प्रकट गर्दै आएका छन् । 

वास्तवमा “रक्तकाली” पनि यसपटक गृह मन्त्रालयले दशैँमा “भीडभाड नगर्न” आदेश दिएको शक्तिपीठहरु मध्येमै पर्दछ, जहाँ सयौँ वर्षदेखि काठमाण्डौबासीको आस्था र विश्वास जोडिएका छन् । लामो बिदासहितको पर्व हुनाले “दशैँ” चाडमा नेपाली जनमानसले देशको कुना कन्दरा पुगेर खुशीयालीपूर्वक मनाउन पाएका छन् । तर स्थान र जातजाति पिच्छे यसका नाम, संस्कार, संस्कृति र परम्परा भने भिन्न-भिन्न पाइन्छन् । 

यसपटक कोरोना भाइरसको प्रकोपका कारण दशैँको संस्कार, संस्कृति र परम्परामा फिकापन आउने अनुमान धेरैले गरेको पाइयो । ठूलाबडाबाट टीका थापेर आशीर्वाद लिने परम्परा बन्द नै गर्नुपर्ने आह्वान सरकारी निकायले नै गरेको अवस्थामा जनमानसका अन्य पक्षमा कस्तो प्रभाव पर्न सक्ला भनेर अनुमान मात्रै गर्न सकिन्छ । 

वास्तवमै प्रकृति र संस्कृतिको अनुपन संगम देख्न पाइने दशैँ ठूलो उल्लासमय पर्व हो । देशको राजधानी समेत रहेको काठमाण्डौमा विभिन्न कारणले रहेका देशभरीका मानिसहरु दशैँ मनाउन आ-आफ्ना घर रहेका जिल्ला फर्किएपछि सुनसान रहने गरेको अनुभव धेरैले गर्न पाएका छन् । 

यस्तोमा “मोहनी” पर्व मनाउने गर्ने क्रममा विशेष चहलपहल हुने गरेको काठमाण्डौ उपत्यकामा भीडभाड हुने एउटा प्रमुख कारण भने यहाँका विभिन्न शक्तिपीठहरुमा बिहान झिसमिसेदेखि रातिसम्म हुने गरेको पूजा आराधनालाई पनि लिने गरिएको छ । त्यस्ता दर्जनौँ शक्तिपीठहरुमध्ये “रक्तकाली” पनि एक हो, जहाँ दशैँमा के राजा, के प्रजा, सबै एकैनाश दर्शन गर्न शक्ति आराधना गर्न पुग्ने गरेका छन् । 

काठमाण्डौको माथिल्लो भेग भन्ने गरिएको क्षेत्रपाटी र नरदेवीको बीचमा स्वयम्भूतर्फ जाने बाटोमा रहेको हेर्दा सानो देखिने रक्तकाली मन्दिरलाई नेवाः भाषामा “कुलांभुलु” भन्ने गरिएको छ । अर्थात् मातृशक्तिकी देवीका रुपमा काठमाण्डौले प्राचीनकालदेखि नै पुज्दै आएकी देवीहरुलाई नै वर्तमानमा शक्ति आराधनाकी देवीहरु “काली” का रुपमा व्याख्या गरिँदै आएको छ । 

काठमाण्डौका अन्य शक्तिपीठहरुमा नरदेवी, शोभा भगवती, भद्रकाली, इन्द्रायणी, नक्साल भगवती मैतीदेवी, संकटा, दक्षिणकाली लगायतका मातृशक्ति मानिएका मन्दिरहरुमा पनि शक्ति पूजासहित आराधना गर्ने परम्परा रहँदै आएको छ र सोही अनुरुप भक्तजनको भीड हुने गरिएको छ । 

अर्कोतर्फ दशैँकै क्रममा घटस्थापनादेखि महानवमीसम्म “नवरात्रि मेला” का रुपमा बिहानको प्रथम प्रहरमै प्रकृतिको बरदानका रुपमा रहेका यहाँका नदी संगमहरुमा पुगेर पूजा आराधना गर्ने परम्परा पनि चल्दै आएको छ । जुन नेवाः संस्कृतिको मौलिकताका रुपमा पनि लिने गरिन्छ । विभिन्न कारणले केही वर्षदेखि रात्रि मेला” जाने परम्परामा जनसहभागिता कमी भएको महशुस गर्न थालिएको छ । 

प्रकृति र संस्कृतिको संगममा शक्ति आराधना गर्दै आइरहेको नेपाली समाजमा यसपटक भाइरसको कुप्रभाव परेको छ । नदी संगमहरुमा पुगेर दीप प्रज्वलन गर्नु र नदीको बहावमा दीप प्रवाह गर्नु नेपाली संस्कृतिको अर्को विशेषता रहेको छ । पानी उत्पन्न शक्तिलाई मानव समाजले सभ्यताको सुरुवातदेखि नै पुज्दै आएको छ । नेपाली समाजमा पनि त्यस्ता उदाहरणहरु धेरै पाइन्छन् । दशैँ पनि त्यस्तो अवसर र ऋतुभित्र नै पर्छ ।  

त्यस्ता दृश्यहरु देख्न पाउनुलाई पनि भाग्यको बरदान मान्ने गरेका हाम्रा ज्येष्ठ नागरिकहरुमाथि यसपटक भाइरसको कुदृष्टि परेको छ । आस्थाका धरोहर बोकेका ज्येष्ठ नागरिकहरुको स्वस्थता र सुरक्षाका लागि राज्यले गरेको पहल नै वर्तमानमा संस्कृति र सभ्यतामा अवरोध जस्तै देखिए पनि यो अपरिहार्य जस्तै भएको छ ।

त्यसले राष्ट्र प्रमुखबाट हुने गरेको परम्परागत शक्तिपीठको दर्शन यात्रा पनि अवरोध खडा गर्ने देखिएको छ । गृह मन्त्रालयको सूचनाले त्यस्तै संकेत गरेको छ ।

    Tags: