मनोज गजुरेलको थाहा पाउनुभयो नि !

सम्भवतः मेरो ‘आईसीयु यात्रा’ को यो अन्तिम गन्थन हुनेछ । अन्तिम दुईवटा अर्थमा : पहिलो– एउटै विषय दोहोर्‍याइरहँदा मान्छे त्यहीँ अल्झिँदोरहेछ । दोस्रो– ‘म बिरामी थिएँ’ भनिरहँदा सुन्नेलाई वाक्क र भन्नेलाई पनि दिक्क लाग्न सक्छ ।

‘ठीक छु, ठीक हुँदैछु र ठीक हुनेछु’ भन्ने भाव मन र वचनमा ल्याउँदा साँच्चै नै आत्मविश्वास र स्वउत्प्रेरणा मिल्छ । त्यसैले अब उप्रान्त आराम छु, आराम चाहान्छु ।

कोरोना भाइरससँग जम्काभेट

शुरुमा मलाई पनि लाग्थ्यो, यो कोरोना सोरोना केही पनि हैन । विश्वभरि लाखौं मान्छेहरु थलिन थालेपछि ‘केही हो कि’ जस्तो लाग्न थाल्यो । आफैं ढलेपछि ‘के हो के हो’ जस्तो लाग्यो ।

‘के हो, के हो’ यस अर्थमा कि हाम्रो परिवारका १२ जनामध्ये माइली भाउजूलाई १ दिन मात्र खोकी लाग्यो, बेसारपानीले ठीक पार्नुभयो । भतिजले ज्वरोलाई घरमै पछार्‍यो । ८० बर्षकी आमाको २ दिन स्वाद हरायो, तेस्रो दिन फर्कियो ।

ठुल्दाजु–भाउजू प्रत्येक दिन योग गर्नुहुन्छ, अहिलेसम्म हाछ्युँ पनि आएको छैन । बाबु–नानीहरु अहिलेसम्म तन्दरुस्त छन् । माल्दाजु डाक्टरको सल्लाहअनुसार घरमै औषधी खाएर ठीक हुनुभयो, म एपीएफ अस्पतालको आईसीयुमा पुगेँ ।

आईसीयु छिर्नु अगाडिको त्रास

अस्पतालमा मेरो छातीको एक्स–रे गरियो । निमोनिया भएको, फोक्सो र छातीको बीचमा हावा भरिएकाले तुरुन्तै आईसीयुमा लैजाने कुरो भयो । आईसीयु नपुगुञ्जेल मनमा डरलाग्दा दृश्यहरु आइरहे ।

कालो प्लास्टिकमा बेरेर, सेतो लुगा लगाएका स्वास्थ्य स्वयंसेवकहरुले गहिरो खाल्डोमा हालेको डरलाग्दो कल्पना गर्दागर्दै आईसीयु वार्डमा पुर्‍याइयो । तर, आईसीयु भनेको गईसीयु हैन, गहन उपचार गरेर छिट्टै निको पार्ने युनिट रहेछ । त्यहाँ प्रविधि, सेवा, सुविधा र डाक्टर/नर्सहरुको हौसला सुने/देखेपछि आईसीयुको महत्व र आवश्यकता बुझियो ।

आईसीयुमा भजन, ओछ्यानमै भोजन

भनिन्छ, डाक्टरको बोली र नर्सको बचनले आधा रोग ठीक हुन्छ । एपीएफ अस्पतालमा यो भनाइ पूर्णतः लागू भयो । डा. प्रवीण नेपालको प्रभावकारी कमान्डिङ, डा. अपूर्व श्रेष्ठको व्यवस्थित संयोजन, डा. रोशनकुमार झाको मित्रवत सुझाव, डा. प्रभात रावलको शक्तिशाली मोटिभेसन, डा.मनोरञ्जन दुवा, डा. सन्तोष बजागाई, डा. सुन्दर चापागाईं, डा. दिनेश शाही, डा. दीपेश पौडेल, डा. अनुप भुजेललगायतको उत्प्रेरणा र उपचार बलियो उर्जा बन्यो ।

थला परेको ज्यानलाई मिठो बोली र उत्प्रेरक ब्यवहारले ११ दिनमै तन्दरुस्त बनाउन सहयोग गर्ने सिस्टरहरु निशा खत्री, सुस्मिता श्रेष्ठ, जानुका न्यौपाने, अञ्जली महर्जन, रचना कार्की, आरजु थापा, रोजना कार्की, दिक्षा..लगायतलाई धन्यबाद नदिई रहन सक्दिंन । उठ्नै नसक्ने शरीरलाई ओछ्यानमै खाना, नाना, औषधी र एक्सरेको ब्यवस्था गर्ने प्यारामेडिक्सहरु लेखनाथ दहाल, सूर्य लामिछाने, राजाराम रिजाल, कृष्ण बराल, बिष्णु कुमार श्रेष्ठलगायतलाई मेरो सम्मान छ ।

डा. सौरभ श्रेष्ठले आईसीयुका बिरामीसँग गर्ने व्यवहार सबै अस्पतालले सिक्न लायक थियो । बिहान भजन, दिउँसो राष्ट्रिय गीत र साँझ मोटिभेसनल गीत बजाइदिने उहाँको शैलीले हामी आईसीयुका बिरामीहरुलाई बेग्लै उर्जा मिल्थ्यो ।

बिरामीलाई ‘बिरामी’ वा ‘बेड नम्बर यति’ नभनेर ‘मनोज सर’, ‘नारायण बुबा’, ‘सरस्वती आमा’, ‘दिपेश भाइ’ भनेर सम्बोधन गर्ने ‘सौरभ थेरापी’ साँच्चै सिक्नलायक थियो ।

यस्तो गर्दा बिरामीलाई बिरामी छु भन्ने सोच कम र डाक्टरमाथि भरोसा ज्यादा हुँदो रहेछ । उहाँहरुले उचित समयमा रेम्डिसिभिरलगायतका औषधी शुरु गरेपछि शरीर विस्तारै लयमा फर्किने कुरामा ढुक्क हुन थालें ।

छोराछोरीको चिन्ता : आईसीयुको पीडा

ठीक हुन्छु भन्ने थाहा हुँदाहुँदै पनि एउटा मनले छोराछोरीको चिन्ता लिइरह्यो । हुन त उनीहरु हुर्किसकेका छन् । हजुरआमा, दाजु दिदीहरुसँग (दाइका छोराछोरी) खुशी र सुरक्षित छन् । यो कुरा थाहा हुँदाहुँदै पनि मनमा एकखालको त्रास र पीडा रहिरह्यो । पाँचौ/छैंठौं दिनमा फोन सम्पर्क भएपछि तनाव कम भयो ।म आईसीयुमा उपचाररत भएको बेला बजारमा मेरो मृत्यु भएको हल्ला कोरोनाभन्दा द्रुत गतिमा फैलिएछ । एउटा अनलाइनले त निधन भनेर प्रकाशित गरेछ । २ घण्टा चलेको हल्लाको हुरी मसँग पनि आयो । यसो हेरें, चिमोटें । म त जिउँदै छु । मेरो निधन नभएको कुरामा म पक्का विश्वस्त भएपछि फेसबुकमा राम्रो हुँदैछ भनेर स्टाटस राखें ।

कलाप्रेमी आईजीपीको उपहार र हौसला

सशस्त्र प्रहरीका आईजी शैलेन्द्र खनाल एक सर्जक र कलाप्रेमी पनि भएकाले हाम्रो आत्मीय सम्बन्ध छ । मेरो स्वास्थ्य र उपचारका बारेमा उहाँले नियमित चासो र चिन्ता राख्नुभएको, स्वास्थ्यलाभको कामना गर्दै बुके पठाउनुभएको कुरा डाक्टरहरुले सुनाउनुहुन्थ्यो ।

यसले मलाई हौसला त दिन्थ्यो नै, केवल ३ महिनामा कोभिड अस्पताल निर्माणको नेतृत्व गर्नु भएकोमा गर्व पनि लाग्थ्यो । राष्ट्रसेवक प्रहरी, सार्वजानिक व्यक्तिदेखि सर्वसाधारणले यहाँ सहज, सरल, प्रभावकारी उपचार पाइरहेका छन् ।

मेरो अनुभव रह्यो– शिक्षा र स्वास्थ्य सार्वजानिक वा सरकारी हुनु राम्रो रहेछ । निजी स्वास्थ्य क्षेत्रले पनि पैसालाई हैन, पेशा र सेवालाई प्राथमिकतामा राख्नु पर्दछ ।

लेखक डाक्टरको सल्लाह र अस्पतालको यात्रा

मेरा परम मित्र र साहित्यकार भएकाले मात्र हैन, कोभिड-१९ का बारेमा धेरै अध्ययन र अनुसन्धान गर्ने डा. रवीन्द्र पाण्डेसँग नियमित सम्पर्कमा रहेको थिएँ । अक्सिजनको मात्रा ८९/९० भएपछि उहाँले अस्पतान जान ताकेता गर्नुभयो । र, उहाँकै सल्लाहमा अस्पताल गएँ ।

अझै केही दिन सहेर बसेको भए के हुन्थ्यो, थाहा छैन । यसको मतलब के हो भने हामी सबैले एकजना डाक्टरको सम्पर्कमा रहनुपर्ने रहेछ । अहिले डाक्टरको पहुँच नहुनेका लागि पनि स्वायंसेवी डाक्टरहरुले आफू र आफ्ना सम्पर्क नम्बरहरु सार्वजनिक गरेका छन् । गाउँघरमा पनि स्थानीय स्वाश्थ्यकर्मी वा स्वयंसेवकसँगको सम्पर्कमा रहिरहनु आवश्यक छ ।

साथी, शुभचिन्तक र आफन्तको आर्शिवाद

अस्पतालबाट फर्केपछि थाहा पाएँ, सामाजिक सञ्जालमार्फत् लाखौं लाख शुभ चिन्तकहरुले स्वाश्थ्य लाभको कामना गर्नु भएको रहेछ । देश बिदेशबाट कामनाको शक्तिशाली उर्जा पठाउनु हुने देश विदेशका तपाईंहरु सबै साथी, शुभचिन्तक, दर्शकप्रति हार्दिक हार्दिक नमन टक्रयाउँछु । र, चाँडै तपाईंहरुको मन र मुहारमा हाँसो छर्ने प्रतिवद्धता जाहेर गर्दछु ।

सार्वजानिक तथा ब्यक्तिगत रुपमा पनि हजारौंले चासो र चिन्ता गर्नु भएछ । परिवार तथा आफन्त तथा सयौं साथीभाइको कामनाले पनि चाँडै निको हुन ठूलो मद्धत गर्यो । सबैलाई धन्यवाद छ ।

प्रधानमन्त्रीको चासो र डाक्टरहरुको चिन्ता

त्यसै गरी ‘माइनोजको स्वास्थ्य कस्तो छ ?’ भनेर भाइ मोहन गजुरेलसँग चासो लिइरहने सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, आईसीयुमा पस्नुअघि ‘निको भएर चाँडै फर्किनुपर्छ है’ भन्दै हौसला दिने स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, पर्यटन मन्त्री योगेश भट्टराई, पूर्वमन्त्री युवराज खतिवडा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, स्वकीय सचिव ईन्द्र भण्डारी तथा स्वास्थ्य मन्त्रालयका आईसीएस कमाण्डर डा. गुणराज लोहनीको चासो, चिन्ता र व्यवस्थापनका लागि आभार ब्यक्त गर्नु मेरो कर्तव्य र दायित्व हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, राप्रपा नेता कमल थापा, फुटबलर गणेश थापा, डा. भोला रिजाल, सिस्नुपानी अध्यक्ष लक्ष्मण गाम्नागे, महासचिव टंकराज आचार्य, डा. रवीन्द्र समीर, रमेश बराल, पासाङ शेर्पा, अस्पताल र सञ्चारसँग अहोरात्र खट्ने भाइ मोहन गजुरेल, सञ्जिव मैनाली, दाजु केशव, धीरेन्द्रलगायत सबै सञ्चारकर्मी तथा पत्रकार साथीहरुप्रति मनैदेखि आभार ।

त्यस्तै मेरा अग्रज महजोडी, जीवा लामिछाने दाइ, सहकर्मी कलाकार साथीहरुको निरन्तरको शुभेच्छा मेरा लागि थप उर्जा भयो ।

मनोज गजुरेलको, थाहा पाउनु भयो नि ?

म आईसीयुमा उपचाररत भएको बेला बजारमा मेरो मृत्यु भएको हल्ला कोरोनाभन्दा द्रुत गतिमा फैलिएछ । एउटा अनलाइनले त निधन भनेर प्रकाशित गरेछ । २ घण्टा चलेको हल्लाको हुरी मसँग पनि आयो । यसो हेरें, चिमोटें । म त जिउँदै छु । मेरो निधन नभएको कुरामा म पक्का विश्वस्त भएपछि फेसबुकमा राम्रो हुँदैछ भनेर स्टाटस राखें ।

मेरा दाइ, भाइ तथा मित्रहरुले पनि म उपचाररत रहेको तथा त्यो हल्ला असत्य भएको लेख्नुभएछ । निको भएपछि हेर्दा म हर्षबिभोर भएँ । मलाई हजारौं हजार मित्रहरुले स्वास्थ्यलाभको कामना गर्नुभएको रहेछ । उहाँहरुको उर्जाले मलाई थप जिम्मेवार बनायो । राष्ट्रकवि माधव घिमिरेका बारेमा पनि केही वर्ष पहिले यस्तै हल्ला चलेको थियो । उहाँ सय बर्षभन्दा बढी बाँच्नुभयो । मैले मेरो आयु बढेको महसुस गरें ।

साधकहरुको प्रार्थनाको शक्ति

कोरोना संक्रमित भएको खबर सार्वजानिक भएपछि थुप्रै योगध्यान आवद्ध संस्था र साधकहरुले प्रार्थना तथा कामनाका तरंग पठाउनुभयो । स्वामी आनन्द अरुण, ओशोधारा र ओशो मैत्रीसंघका आचार्यहरु, पतञ्जली तथा पातञ्जल योग केन्द्रका योगीहरु, ईशा फाउण्डेसन, ब्रम्हकुमारी तथा विपश्यनाका साधक साधिकाहरुले धेरै प्रार्थना र उत्प्रेरणा दिनुभयो । सही समयमा, सही अस्पताल, सही डाक्टर र सही उपचार मिल्नुमा कामना र प्रार्थनाको पनि शक्ति छ भन्ने मलाइ लाग्छ ।

आईसीयुमा योगी विकासानन्दको रेकी

आईसीयुमा पस्नुअघि अकस्मात योगी विकासानन्दज्यूको फोन आयो । उहाँले भन्नुभयो, ‘आईसीयुमा रहँदा सकेसम्म काम सफल भएको भिजुलाइज्ड गर्ने प्रयास गर्नुहोला, चाँडै रिकभर गर्न मद्दत पुग्छ । अर्को कुरा, भरे राति ९ बजे म रेकी पठाउँछु । केही अनुभूति हुन पनि सक्छ, नहुन पनि सक्छ । आँखा चिम्लिएर स्वीकार भावमा रहनुहोला।’

औषधी शुरु भैसकेको थियो । आईसीयुको वातावरण, औषधी र मानसिक कमजोरीका कारण म अर्धचेत थिएँ । जसोतसो ९ बजेदेखि १५/२० मिनेट ‘रेकी रिसिभिङ मोड’मा स्थित हुने प्रयास गरेँ, त्यस्तो केही पनि अनुभूति भएन । भोलिपल्ट कुनै काल्पनिक घटनाको ‘भिजुलाइज्ड’ गर्न खोजें । अहँ, भिजुलाइज्ड हुँदैहुँदैन, चित्रमात्रै बन्छ । चित्रमा पनि ‘कलर’ आउँदैन, ‘ब्ल्याक एण्ड ह्वाइट’मात्र आउँछ । त्यो पनि दिमागले ‘सेभ’ गर्न सक्दैन, ‘डिलिट’ भैहाल्छ । यो के भएको हो, विज्ञहरुले भन्नुहोला । तर, यो आइडियाले दिन कटाउनचाहिँ मज्जाले सहयोग गर्‍यो ।

अवचेतन मनका खेलहरु

१. दिन र रात नछुट्नि आईसीयुमा गहन उपचारको शुरुका ४/५ दिन मेरो अवचेतनमा विभिन्न छालहरु आए, जुन आजसम्म पनि फर्किसकेका छैनन् । पहिलो छाल थियो, त्यही आईसीयुको, जहाँ म योभन्दा पहिले पनि बसिसकेको छु भन्ने ! ती डाक्टरहरुको बोली, यो म सुतिरहेको बेड, निरन्तर बजिरहेको मनिटरको आवाज, यो ठाउँ, यो घटना सबै मैले योभन्दा पहिले, कुनै युगमा हो कि, पूर्वजन्ममा हो कि, सपनामा पो हो कि, हुबहु भोगिसकेझैं लाग्थ्यो । यो मेरो दिमागी भ्रम वा अवचेतनमा सुरक्षित भएको पूर्वघटना, म भन्न सक्दिनँ । तर, अहिले पनि बिर्सन सकेको छैन ।

२. भोलिपल्ट बेलुका ९ बजेतिर झकाउन खोजेँछु । खासमा मलाई निदाउन डर लागिरहेको थियो । आँखा चिम्लिएँ भने चिम्लिएको चिम्लियै होला भन्ने त्रासले ।

झकाउन खोजेको मात्र के थिएँ, कसैको तातो हात आएर निधारमा छाम्यो । मैले झट्ट आँखा खोलेँ, कोही थिएन । त्यसपछि केही दिनसम्म निरन्तर सोही समयमा फरक–फरक अनुभूति भए । कानमा कसैले केही भनेजस्तो लाग्ने । पैतालामा कसैले छामेजस्तो महसुस हुने । शरीरमा तातो र कम्पनको अनुभूति हुने । यो औषधिका कारण दिमागमा उत्पन्न भ्रम थियो वा योगी विकासानन्दले भनेझैं रेकी, प्रार्थना वा गुरुको शक्तिपात थियो, त्यो भन्न सक्दिनँ । तर, अझै पनि त्यो घटना मेरो मानसपटलमा घुमिरहेको छ ।

३. म एक नम्बर बेडमा थिएँ, २ नम्बरमा एकजना आमा भेन्टिलेटरमा हुनुहुन्थ्यो । आमालाई गाह्रो भएको प्रष्ट थाहा हुन्थ्यो । म त भेन्टिलेटरमा थिइनँ । त्यसैले कामना गरिरहन्थें, भगवान, आमालाई छिट्टै निको होस् । तर, डाक्टरहरुको अनेकौं प्रयासका बाबजुद एकरात आमाले शरीर छोड्नुभयो ।

म अर्धचेत थिएँ । तर, पल्लो बेडमा भइरहेको गतिविधि मेरो कानले सुनिरहेको थियो । जुन पलमा आमा स्वास गयो, त्यो पलमा मेरो अवचेतनमा यस्तो भाव, भ्रम वा अनुभूति भयो कि मेरा आँखा अगाडिबाट दूधका दुईवटा धाराहरुले आकासतिर सिर्का हाने । मैले आँखा खोल्ने प्रयास गरें, सकिनँ । निन्द्रा लागेन ।

सिस्टरहरु आएर सुई लगाइदिनु भयो । म निदाएँ । आमाले स्वास छोडेको समयमा मेरो अवचेतनामा आएका ती दूधका धारा आमाका आत्मा थिए कि मेरो मेरो अवचेतनमा संग्रहित कल्पना ? त्यो पनि थाहा छैन, तर त्यो घटना बिर्सन मलाई गाह्रो भैरहेको छ ।

विपस्यनाको माला : रोग बिर्साउने विधि

दिमागमा अनेकथरीका विचार, शरीरमा थुप्रै प्रकारका अनुभूति र मनमा थरिथरिका विकार चल्न थाले । शरीरलाई त औषधिले काम गर्दैथियो, तर मनलाई नियन्त्रण गर्न सजिलो थिएन ।

मैले विपस्यना ध्यान सम्झिएँ । स्वास आएको र गएको हेर्ने यो विधिले मनलाई धेरै शान्त बनायो । नाकबाट पसेको स्वास कण्ठनली, छाती, पेट हुँदै नाभीकेन्द्रसम्म पुगेको ‘थाहा पाउने’ । त्यहाँबाट फर्किएको स्वास सोही प्रकृयाले बाहिर गएको हेर्ने वा थाहा पाउने । सोही प्रकृया दोहोर्‍याउने । यसलाई स्वासको माला बनाउने भनौं न ।

शुरुमा १०८ पटक गरें । त्यसपछि ५०८ पटक अनि १००८ पटकसम्म गनेको थाहा छ । त्यसपछि मन चल्नासाथ यो विधि गरिहाल्ने बानी बस्यो । शरीरले पनि औषधी सहजसँग ग्रहण गर्न थाल्यो ।

साथीहरु प्रश्न गर्नुहुन्छ, योग ध्यान गर्ने मान्छेलाई कसरी यस्तो साह्रो पार्‍यो । योचाहिँ कोरोनालाई नै सोध्नुपर्ला । रोग र शोक जसलाई जतिखेर पनि लाग्न सक्छ । तर, एउटा कुरा के सत्य हो भने ध्यान, योग र साधनासँग जोडिएको मान्छेले रोग र शोकलाई सके पचाउने नसके स्वीकार गर्ने क्षमता राख्दछ ।

जहाँसम्म योग गर्नेहरु किन बिरामी र दुखी हुन्छन् भन्ने प्रश्न छ, सायद अस्तित्वले त्यसैमाथि दुःख र पीडाको प्रयोग गर्छ, जसले सहन सक्छ, पचाउन सक्छ र पार लगाउन सक्छ ।

मदनकृष्ण श्रेष्ठदेखि केपी ओलीसम्मको याद

फोक्सो र छालाका वीचमा हावा भरिएपछि सिरिञ्जबाट निकाल्ने प्रयास भयो । भोलिपल्टको एक्सेरमा हावा अझै नघटेको देखियो । डा.सौरभले भन्नुभयो, ‘एउटा सानो पाइप छिराएर निकाल्नुपर्ने भो ।’कोरोना संक्रमण आँखामा पट्टी बाँधेकाले हात्ती छामेजस्तो रहेछ । जसले जस्तो भोग्यो, उसले त्यस्तै अनुभव सेयर गर्छ । म उमेरको हिसाबले जोखिम वर्गमा थिइनँ । प्रेसर, सुगर, दम र मुटुको समस्या वा किड्नीको समस्या केही पनि थिएन ।

जीवनमा कहिल्यै शरीरमा हतियार नछिरेको मलाई औधी डर लाग्यो । डाक्टरहरुले काउन्सिलिङ गर्नु भो । डाक्टरको सुझाव स्वीकार गर्नुको विकल्प थिएन । देब्रे काखीमुनि प्वाल पारेर सानो पाइप फोक्सो छेउमा पुर्‍याइयो । र, त्यहाँको हावा बाहिर निकाल्न प्लास्टिकको झोला झुण्ड्याइयो ।

पेटभित्र पाइप राखेर बाहिर प्लास्टिक बोकेर हिँड्ने बिरामी मैले थुप्रै भेटेको छु । ज्यादै दुःख पाएको र असमयमै मृत्यु भएको पनि देखेको छु । त्यो रात मलाई निन्द्रा पर्न गाह्रो भयो । दिमागमा हजारथरी कुरा खेले । बिहानीपख स्वासको विधि गर्दै थिएँ, अकस्मात हौसलाको तरंगले दिमाग तरंगित भयो ।

आदरणीय मदनकृष्ण श्रेष्ठलाई सम्झिएँ । उहाँ पार्किन्सन्सको बिरामी हुनुहुन्छ । मस्तिष्कमा पेस मेकर जडान गरेको छ । त्यसको बेट्री छातीको छालामुनि राखिएको छ । त्यहाँबाट तारमार्फत् बिजुली पठाएर पेस मेकर चल्छ । तर पनि मदनदाइ अहिले पनि मस्त हुनुहुन्छ, व्यस्त हुनुहुन्छ । म अस्पताल आउनुअघि फोन गरेर स्वास्थ्य लाभको कामना गर्नु भएको थियो । उहाँका अगाडि मेरो समस्या त सामान्य हो भन्ने लाग्यो ।

उता प्रधानमन्त्री केपी शर्मा ओली दुई–दुई पटक मृगौला फेरेको मान्छे । त्यस्तो मान्छेको सक्रियता र ऊर्जा पनि सम्झिएँ जसका अगाडि मेरो छातिको पाइप कुनै ठूलो समस्या थिएन । मुटुको अपरेसन गरेका मेरा मित्र पासाङ शेर्पा दिनको १८ किलोमिटर कुद्छन् । यस्ता सयौं उदाहरणहरु सम्झिएपछि आफ्नो समस्या सामान्य लाग्न थाल्यो । अरुलाई हेरेर पनि मान्छेले आफ्नो आत्मविश्वास बढाउन सक्दोरहेछ ।

उच्च मनोबलको अनुभव

सबैले भन्छन्– मनोबल उच्च बनाउनुपर्छ । ‘उच्च मनोबल’ भनेको के हो ? आ–आफ्ना तर्क होलान् । मेरो भोगाइमा उच्च मनोबल २ प्रकारका हुन्छन् । एउटा, रोग लाग्नुभन्दा पहिलाको उच्च मनोवल, अर्को रोग लागिसकेपछिको मनोबल । कसलाई, कतिखेर, के समस्या आउँछ भन्ने कुरा कसैलाई थाहा हुन्न । त्यसैले ‘मलाई केही हुँदैन’ भन्ने उच्च मनोबल हैन । ‘जतिबेला जे पनि हुन सक्छ, त्यसैले मैले मेरो खानपान, जीवनशैली र सोचलाई सधैं सकारात्मक, सक्रिय र स्वस्थ राख्नुपर्छ’ भन्ने सोच उच्च मनोबल हो ।

बिरामी भएर अस्पताल भर्ना भैसकेपछिको ‘उच्च मनोबल’ फरक हुँदोरहेछ । मान्छे आईसीयुमा छ । शारीरिक र मानसिकरुपमा कमजोर हुन्छ । हलचल गर्ने अवस्था छैन । यस्तो अवस्थाको ‘उच्च मनोबल’ भनेको चाहिँ डाक्टर, औषधी र अस्तित्वसँग आत्मसमर्पण गर्नु रहेछ । मनलाई शीरभन्दा माथि राखेर कल्पना गर्नु कि ‘मलाई डाक्टरद्वारा उपचार हुँदैछ । औषधिले राम्रो काम गर्दैछ, साथी, शुभचिन्तकहरुले प्रार्थना गर्दैैछन्, प्रकृतिले सहयोग गर्दैछ’ भन्ने भावको निर्माण गर्नु उच्च मनोबल रहेछ ।

आईसीयुबाट निस्किँदाको अनौठो अनुभव

नेपाल एपीएफ अस्पतालमा ११ दिनको उपचार पश्चात डा. प्रभात रावलले डिस्चार्ज पेपर दिँदै भन्नुभयो, ‘केही समस्या परे हामी जतिबेला पनि हाजिर छौं ।’ अस्पताल, चिकित्सक र कर्मचारी सबैलाई धन्यवाद दिएँ । अस्पतालको एम्बुलेन्सले बाहिर गेटसम्म छोड्यो ।

त्यहाँ मलाई लिन दाजु केशव र भाइ मोहन र सञ्जिब आउनुभएको रहेछ । लक्ष्मीपूजाको साँझ थियो । बाहिर र भित्र दुबैतिर खुशी नै खुशी थियो ।

तर, ११ दिनको आईसीयु बसाईले होला, बडो अनौठो लागिरहेको थियो । बाटो नयाँ लाग्यो । ठाउँ नयाँ लाग्यो । अर्कै शहरमा हिँडेजस्तो, नौलो मान्छेसँग बोलेजस्तो, के–के जस्तो !

घरमा पुग्दा बाबु, नानी, भतिजा, भतिजी, आमा, दाजु, भाउजू सबै नयाँ–नयाँ लागे । तर, यो अनुभूति कसैलाई भनिनँ । सबै लक्ष्मीपूजाको दिन मेरो आगमनमा दंग हुनुहुन्थ्यो । मपनि दंग पर्दै तिहारको उमंगमा मिसिएँ ।

अनुभवीको अनुरोध

कोरोना संक्रमण आँखामा पट्टी बाँधेकाले हात्ती छामेजस्तो रहेछ । जसले जस्तो भोग्यो, उसले त्यस्तै अनुभव सेयर गर्छ । म उमेरको हिसाबले जोखिम वर्गमा थिइनँ । प्रेसर, सुगर, दम र मुटुको समस्या वा किड्नीको समस्या केही पनि थिएन ।

तसर्थ कोरोना लागेपछि जसलाई जे पनि हुन सक्छ, खोप नआउने बेलासम्म यो रोगको गम्भीरता बुझेर सरकारले भनेअनुसार मास्क लगाउने, भौतिक दुरी कायम गर्ने तथा हात सफा राख्नुहुन हार्दिक अनुरोध गर्दछु । आशा गरौँ, छिट्टै खोप आउनेछ । अनि हामी सामान्य जनजीवनमा फर्किनेछौं ।

अन्त्यमा

मेरो सामान्य बुझाइमा यसले नभेटुन्जेल सामान्य हो, भेटेपछि कहाँँ पुर्‍याउँछ, उसैलाईमात्र थाहा हुन्छ । यो डराउने वा ख्याल ख्याल गर्ने विषय हैन । स्वास्थ्य मापदण्ड पालना गर्ने र उच्च मनोवल बनाउने कुरा हो ।

म लगभग ठीक भैसकेको छु, बाँकी रहेका सानातिना समस्या समयसँगै ठीक हुन्छन् । तपाईंहरुको सुझाव, सल्लाह र मायासहित सामाजिक जिम्मेवारीसहितको आफ्नो काममा फर्किंदैछु ।

मैले भोगेका कोरोनाका कुरा यति नै । अब कर्म र करुणाका कुरासहित विभिन्न माध्यममा भेटौंला । सबैलाई धन्यवाद । सधैंलाई धन्यवाद ।

    Tags:

1525 Shares