कोरोनाको खोप लगाए पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्छ

काठमाण्डाै – भारतबाट कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप नेपाल भित्रिएको छ ।

नेपाल ल्याइएको खोपलाई टेकुमा रहेको स्वास्थ्य सेवा विभागमा भण्डारण गरिएको छ । अब केही दिनभित्रै प्रदेशमा रहेका खोप भण्डारण केन्द्रहरुमा खोप पुर्याएर तोकिएका खोप केन्द्रमा खोप अभियान सुरु गर्ने तयारी छ ।

पहिलो चरणमा अग्रपंक्तिमा काम गर्नेहरुलाई खोप उपलब्ध गराइन्छ । डाक्टर, नर्सलगायत सबै स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाइकर्मी लगायतलाई पहिलो प्राथमिकतामा राखिएको छ ।

अहिले ल्याइएको खोपले सबैलाई पुग्दैन । त्यसैले खोप आउँदैमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नु पर्दैन भनेर ढुक्कले बस्ने अवस्था अहिले छैन । यो भनेको एकदमै थोरै परिमाण हो ।

अब पनि जनस्वास्थ्यका मापदण्डलाई फितलो हुन दिनु हुँदैन । निरन्तर अपनाउनै पर्छ । व्यक्तिगत सरसफाइमा ध्यान दिने, मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, साबुनपानीले हात धुनेलगायत जनस्वास्थ्यका मापदण्ड खोप लगाएपछि पनि अपनाउनु पर्छ ।

भारतबाट ल्याइएको कोरोनाको खोप हतारमा बनाइएको भए पनि सुरक्षित छ । प्रभावकारी देखिएको छ । तर खोप लगाइसकेपछि कति समय सुरक्षा दिन्छ भन्ने कुरा चाहिँ अनुसन्धानकै विषय हो ।

अहिले ल्याइएको खोप एउटा व्यक्तिलाई पूर्ण सुरक्षा दिनका लागि दुई वटा मात्रामा दिनुपर्छ । अहिलेको मुख्य प्राथमिकतामा स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा काम गर्ने व्यक्तिहरु, स्वास्थ्य स्वयम्सेविकाहरु र कोरोनाको शव व्यवस्थापन गर्दै आएकाहरु परेका छन् । अहिले आएको खोपले यी समूहलाई दुई डोज मात्र दिन पुग्छ ।

पहिलो मात्रा लिएको कम्तीमा २८ दिन अर्थात् ४ हप्ताको फरकमा दोस्रो डोज दिनुपर्छ । त्योभन्दा अगाडि दिन मिल्दैन । बरु केही ढिला भए पनि फरक पर्दैन । खोप लगाएपछि कम्तीमा आधा घण्टा आराम गर्न लगाइन्छ । सामान्य दुख्ने, सुन्निने वा ज्वरो पनि आउन सक्छ । तर त्यो आफैँ निको भएर जान्छ । अरु खालका गम्भीर समस्या भएमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नका लागि अनुरोध गरिन्छ ।

खोप लगाएपछि सामान्य तरिकाले पहिला जसरी काम गर्ने गरिन्छ । त्यसरी नै काम गर्दा केही फरक पर्दैन । अहिलेको खोप १८ वर्षमुनिका बालबालिकालाई दिइँदैन । किनभने १८ वर्षमुनिका बालबालिकामा खोपको परीक्षण भएको छैन ।

गर्भवती र सुत्केरी महिलालाई पनि दिइँदैन । खोप लिनुपर्ने व्यक्ति सिकिस्त बिरामी छ भने आराम गरेर मात्र लिन लगाइन्छ । सिकिस्त बिरामीलाई तुरुन्तै खोप नलगाउनुको पनि कारण छ ।

सिकिस्त बिरामीको अरु नै कारणले ज्यान गएको छ भने त्यसको आरोप खोपलाई लाग्न सक्छ । त्यही भएर सिकिस्त बिरामीलाई तुरुन्तै नदिने भनिएको हो । त्यो भनेर सिकिस्त बिरामीलाई खोप नै नलगाउने भनेको भनेर बुझ्न भएन । अलिकति आराम भएपछि उसलाई खोप लगाइन्छ ।

अरु खोपमा सामान्य खालका अवाञ्छित घटनाको रिपोर्टिङ गरिँदैन । सिकिस्त भएमा वा ज्यान गएमा मात्र गरिन्छ । कोरोनाको खोप नयाँ भएकाले सामान्य घटनाको पनि रिपोर्टिङ गर्नुपर्ने हुन्छ । सामान्य पनि रिपोटिङ गरिएको हुनाले संख्या ठूलो देखिन सक्छ ।

भारतमा ज्यान गएका वा सिकिस्त भएका भन्ने कुराहरु बाहिर आए । तर त्यो खोपसँग सम्बन्धित छैन भनेर अनुसन्धानले देखाएका छन् । भारतबाट ल्याइएको खोप एकदमै सुरक्षित छ । आत्तिनु पर्दैन । खोप लगाइसकेपछि हामी अनुगमनलाई तीव्र बनाउँछौँ ।

यो खोप थोरै परिमाणमा भएकाले थप खोप खरिदका लागि पनि सरकार लागिपरेको छ । यो खोपले जोखिममा रहेका थोरै व्यक्तिलाई मात्रै सुरक्षा दिन सकिन्छ । कोभ्याक्समार्फत् २०२१ को पहिलो चौमासिकमा खोप आउँछ । अरु खोप पनि किन्ने प्रयास नभएको होइन । तर खोप पाइएको छैन । प्रयास र पैसा भएर मात्र हुँदैन । खोप पाउन गाह्रो छ ।

    Tags:

1148 Shares