भन्सार नगरी नेपाल प्रवेश गरेको ८२ लाखको सामानसहित ट्रेलर सशस्त्र प्रहरीद्वारा पक्राऊ

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नाकाबाट भन्सार नगरी ८२ लाख बराबरको छड बनाउने कच्चा पदार्थ बोकेको गाडी नेपाल भित्रिए पछि सशस्त्र प्रहरीले पक्राउ गरेको छ । 

मङ्गलवार बिहान ९ बजे भन्सार मूल गेट हुँदै यु पी ५३ सी टी २११९ नम्बरको ट्रेलरमा फलामे छड बनाउन प्रयोग हुने कच्चा पदार्थ एम एस विलेट (फलाम) नेपाल भित्रिएको हो । उक्त ट्रेलरमा ३४.४ मेट्रिक टन विलेट विजया स्टिल प्रा.लि.का लागि भित्रिएको बताइएको छ ।

सशस्त्र प्रहरी बल २८ नम्बर हेड क्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक धुव्र बहादुर कार्कीका अनुसार विशेष सूचनाका आधारमा विओपि कृष्णनगरले कृष्णनगर नगरपालिका वडा नं. २ मा रहेको चेक पोइन्टमा पक्राउ गरेको बताउनुभयो । सशस्त्र प्रहरीले ट्रेलर सहित भारतको वरीयातपुर कुशिनगर बस्ने चालक वर्ष ३४ को सन्जय कुमार कुशवाह र सहचालक वर्ष २४ को अंगद कुमार कुशवाह लाई पक्राउ गरी कृष्णनगर भन्सार कार्यालयलाई बुझाइएको छ ।

भन्सार कार्यालय प्रमुख जनार्धन पौडेलका अनुसार गाडी चालक नयाँ भएको कारणले थाहा नभएर भन्सार नगरी भित्रिएको बताउनुभयो । विलेट लिएर आएका ५ वटा सँगैको लहरमा छिरेको र गेटमा बस्ने कर्मचारी झुक्किएर थाहा नपाएको बताउनुभयो । 

पक्राउ गरिएको माल सम्बन्धी अनुसन्धान सुरु भएको पौडेलले बताउनुभयो । यता स्थानीय मनोज ओझाका अनुसार निषेधाज्ञाको मौका छोपी भन्सार कार्यालयका कर्मचारीको मिलेमतोमा गाडी भित्राइएको दाबी गर्नु भयो । मुख्य नाका बाट भन्सार नभई माल बाहक गाडी भित्रिनुमा कर्मचारीको मिलेमतो भएको हुन सक्ने देखिन्छ । 

    Tags:

1419 Shares