Trending
राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने खेल आईपीएलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा खेल कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई आर्थिक १९ दशमलव ५६ अङ्कले ओरालो लाग्यो नेप्से परिसूचक आर्थिक लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता राजनीति अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी समाज कम्तीमा १२ सम्म पढाइदिने वाचासहित भर्ना गरौँ : शिक्षामन्त्री श्रेष्ठ अपराध जनकपुरमा महिला र बालिकाको जलेको शव फेला

६ महिनामै भत्कियो भैरहवा–लुम्बिनी सडक

भैरहवा — विदेशी ठेकेदार, विदेशी लगानी र विदेशी प्राविधिकसहितको परामर्शदाता कम्पनी राखेर निर्माण गरिएको भैरहवा–लुम्बिनी सडक खण्ड ६ महिनामै भत्किएको छ । विस्तार गरिएको सडकमा ठूल्ठूला खाडल बनेका छन् । धेरै स्थान दबिएको छ । कालोपत्र उप्केर गिट्टी–बालुवा छरपस्ट छन् । सडकको दायाँबायाँ बनाइएका सर्भिस लेन ट्र्याक्टरले कोतरेर छाडेको जस्तै देखिन्छन् ।

निर्माणलगत्तै भत्किएको भैरहवा–लुम्बिनी सडकको बेथरी खण्ड । तस्बिर : माधव/कान्तिपुर
सडक गुणस्तरीय बनाउन सरकारले करोडौं रुपैयाँ खर्चेर विदेशी प्राविधिक र परामर्शदाता राखे पनि काम भने स्थानीय ठेकेदारको झैं कमसल देखिएको छ । यो सडक गुणस्तरहीन निर्माणको एउटा उदाहरण बन्न पुगेको छ । सडकको डिजाइन नै त्रुटिपूर्ण हो वा डिजाइनमा उल्लेख गरिएअनुरूप सामग्री प्रयोग नगरी कमसल निर्माण गरिएको हो ? छानबिनको विषय बनेको छ । ‘निर्माणका क्रममा आयोजना र सरकारी पक्षबाट राम्ररी अनुगमन नहुनुको परिणाम हो,’ सिद्धार्थनगर–४ का स्थानीय डिलबहादुर क्षत्रीले भने, ‘अनुगमन प्रभावकारी नभएपछि ठेकेदार कम्पनीले मनपरी गर्‍यो ।’ आयोजना, परामर्शदाता कम्पनी र ठेकेदारको मिलेमतोले गर्दा सडक निर्माणमा कमसल सामग्री प्रयोग गरिएको आरोप उनले लगाए ।

भैरहवाको बुद्धचोकबाट गौतम बुद्ध विमानस्थलसम्मको ६ लेन क्षेत्र आस्फाल्ट (निश्चित तापक्रममा तताइएको गिट्टी, अलकत्रा बिछ्याएर तत्कालै पेल्ने) प्रविधिबाट र त्यहाँबाट तौलिहवासम्मको सडक डीभीएसटी सर्फेस ड्रेसिङ (अलकत्रा बिछ्याएर माथिबाट गिट्टी छरेर पेल्ने) प्रविधिबाट कालोपत्र गरिएको हो । तर, यहाँ प्रयोग गरिएका यी दुवै प्रविधि सफल भएनन् । विश्व पर्यटनको केन्द्र लुम्बिनी र त्यससँग सम्बन्धित अन्य पर्यटकीय स्थलमा आउजाउका लागि सहज सडकमार्ग बनाउने लक्ष्यसहित भैरहवा–लुम्बिनी–तौलिहवा सडक स्तरोन्नति चार वर्षअघि सुरु गरिएको थियो ।

बुद्धचोकदेखि विमानस्थलसम्मको ३.८ किमि ६ लेन, विमानस्थलदेखि लुम्बिनीको पर्सा चोकसम्मको १४.५ किमि चार लेन र पर्साचोकदेखि तौलिहवासम्मको करिब २३ किमि दुई लेन निर्माण गर्नका लागि भारतको ठेकेदार कम्पनी गावर कन्स्ट्रक्सन गुडगाव, हरियाणासँग २०७४ असार ८ मा ठेक्का सम्झौता भएको थियो । २०७६ पुस मसान्तसम्ममा सम्पन्न गर्ने गरी एसियाली विकास बैंकको ऋण सहयोगमा थालिएको यस आयोजनाको सुरुको ठेक्का रकम १ अर्ब ९३ करोड रुपैयाँ हो । पछि थप गरेर लागत २ अर्ब ८ करोडभन्दा बढी पुर्‍याइएको थियो । कुल लगानीमध्ये एसियाली विकास बैंकको ८४.५ प्रतिशत र बाँकी नेपाल सरकारको हो ।

लागत थपसँगै आयोजनाको निर्माण अवधि पनि लम्बिएको थियो । सम्झौताभन्दा एक वर्ष ढिलो सम्पन्न भएको आयोजनाको परामर्शदाता कोरियाली कम्पनी केईसीसी हो । परामर्शदाता कम्पनीको टिम लिडरलाई मात्रै मासिक २० हजार यूएस डलर (करिब २८ लाख रुपैयाँ) तलबभत्तालगायत सुविधा उपलब्ध गराउने गरी यही आयोजनाका लागि भनेर ल्याइएको थियो । यही कोरियाली कम्पनी अहिले बुटवल–नारायणगढ सडक विस्तार योजनाको परामर्शदाता छ ।निर्माण सम्पन्न भएको केही महिनामै सडकको बेहाल भए पनि आयोजना, परामर्शदाता कम्पनी र ठेकेदार तीनवटै पक्षले आफ्नो बचाउ गरेका छन् । भैरहवा–लुम्बिनी–तौलिहवा सडक योजनाका योजना प्रमुख प्रदीपराज शाक्यले ठेकेदारले निर्माण सम्पन्न गरेको सात महिना बिते पनि मर्मत सम्भार अवधिमै रहेकाले बिग्रेको ठाउँमा पुनर्निर्माण गर्न लगाइने बताए । सडक निर्माण अवधिमा आयोजनाको कार्यालय पुग्दा अधिकांश समय उनलाई भेट्न मुस्किल हुन्थ्यो । अन्य कर्मचारीले उनी बाहिर रहेको जवाफ दिने गर्थे । यो आयोजना सम्पन्न भएपछि उनी बुटवल–नारायणगढ सडक विस्तार योजनामा कार्यरत छन् ।

‘भत्केको र बिग्रेको ठाउँमा मर्मत गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइसकेका छौं, वर्षात् रोकिनासाथ मर्मतको काम अघि बढ्छ,’ शाक्यले भने, ‘डिजाइनअनुरूपको निर्माण कार्य गुणस्तरीय बनाउने काम ठेकेदार पक्षको हो, गुणस्तर कायम भए/नभएको हेर्ने जिम्मेवारी परामर्शदाता कम्पनीको हो ।’ निर्माण सकिएपछि एक वर्षको अवधि मर्मतसम्भारको रहने र यस अवधिमा बिग्रेका ठाउँमा पुनर्निर्माण तथा मर्मत ठेकेदार कम्पनीले गर्ने उनले बताए । ‘यो सडकको ठाउँ–ठाउँमा समस्या त आएका छन्,’ उनले भने, ‘बीच–बीचमा मर्मत गरिएपछि सामान्यतया एक पटक निर्माण गरिएको सडक पाँच वर्ष टिकाउ हुनुपर्छ ।’

कोरियाली परामर्शदाता कम्पनीका नेपाली प्रतिनिधि डेपुटी टिमलिडर प्रकाशजंग शाहले निर्माण सम्पन्न भएको उक्त सडकका ठाउँ–ठाउँमा समस्या देखिएको र वर्षा रोकिएपछि अनुसन्धान गरेर कारण पत्ता लगाउने बताए । ‘हामीले यसबारेमा अध्ययन गरेर बिग्रेको स्थानमा पुनर्निर्माण गर्न परे गर्न लगाउँछौं,’ उनले भने । योजनामा तोकिएको लागत रकमभन्दा १९ प्रतिशत कममा निर्माण सम्पन्न गर्ने भनी ठेक्का लिएको कम्पनीले भुक्तानी लिन अब १० प्रतिशत मात्रै बाँकी छ । एक वर्षको मर्मतसम्भार अवधिमध्ये सात महिना बितिसकेको छ । बाँकी समयमा सडकको यो दुर्दशामा सुधार हुने योजना र परामर्शदाता कम्पनीको भनाइप्रति स्थानीय भने विश्वस्त छैनन् ।

‘हाम्रा हरेक योजना समयमै सम्पन्न नहुने र भइहाले भने पनि गुणस्तरीय नहुने समस्या छ,’ भैरहवास्थित बुद्धचोकका स्थानीय विष्णुप्रसाद मरासिनीले भने, ‘पुरानै रोग भैरहवा–लुम्बिनी–तौलिहवा सडकमा पनि देखियो ।’ यो सडक निर्माणका क्रममा आयोजना र अन्य सम्बन्धित निकायबाट अनुगमन र निरीक्षण नभएको आरोप उनले लगाए । ‘निर्माण भइरहेको बेलामा त प्रभावकारी रूपमा अनुगमन नगर्ने निकायले अब बाँकी पाँच महिनामा अध्ययन गरेर सडकको अवस्थामा ठेकेदारमार्फत के सुधार गर्लान् र ?’ मरासिनीले भने, ‘फिल्डमा खटेर गुणस्तरतर्फ जिम्मेवार बन्नुको साटो हाम्रा सम्बन्धित निकायमा कमसल निर्माण कार्य भएको जान्दाजान्दै पनि कागजी प्रक्रिया मिलाएर ठेकेदारलाई सहजीकरण गरेर उन्मुक्ति दिलाउने प्रवृत्ति हावी छ ।’

यो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउजाउ गर्ने पर्यटकलाई लक्षित गरेर बनाइएको सडक हो । यस्तो ठाउँमा बनेको सडक कस्तो हुनुपर्छ ? ‘खाल्डाखुल्डी हुनुभएन, सबै किसिमका गाडी जाने र साना गाडी सरर जाने किसिमको हुनुपर्छ,’ आयोजना प्रमुख शाक्यले भने । लुम्बिनी विकास कोषका प्रमुख इन्जिनियर तथा योजना प्रमुख सरोज भट्टराईले पनि पर्यटक लक्षित गरेर बनाइएका सडक खाल्डाखुल्डी नभएर आरामदायी हुनुपर्ने बताए । ‘ह्वीलचेयरबाट पनि आरामले यात्रा गर्न सकिने खालको अपांगमैत्री हुनुपर्छ,’ उनले भने ।

यही सडकबाट लुम्बिनी र लुम्बिनीसँग सम्बन्धित अन्य पर्यटकीय स्थलमा पर्यटकको आवागमनका लागि करोडौं मूल्यका विद्युतीय पर्यटकीय सवारीसाधन लुम्बिनी विकास कोषमा आइसकेका छन् । सडक निर्माणको ठेक्का लिएको गावर कन्स्ट्रक्सनका साइड प्रतिनिधि पवन नयनले सडकको मर्मत अवधिभित्रै भत्के बिग्रेको स्थानमा मर्मत गर्ने बताए । सडक निर्माणमा डिजाइनअनुरूप पूरै कार्यान्वयन गरी तोकिएअनुरूपको गुणस्तर कायम गरिएको उनले दाबी गरे । ‘कतै कतै डिजाइनमै कमजोरी छ,’ उनले भने, ‘हेभी गाडी चल्ने ठाउँमा आस्फाल्ट प्रविधिबाट पिच गराइनुपर्थ्यो,’ उनले भने । सडकको डिजाइन नेपाल सरकारले बनाएको र डिजाइनअनुरूपको निर्माण कार्य ठेकेदार कम्पनीबाट गरिएको उनले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP