Trending
समाज एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने खेल आईपीएलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा खेल कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई आर्थिक १९ दशमलव ५६ अङ्कले ओरालो लाग्यो नेप्से परिसूचक

आमासँग रिसाएर घर छाडेकी, किशोरी २० हजार भारुमा भारतमा बेचिईन

जनकपुरधाम । १६ वर्षीया गृष्मा (नाम परिवर्तन) कक्षा ८ मा पढ्दै थिइन् । मोरङ स्थायी घर भएकी उनको परिवारले चिया नास्ताको पसल सञ्चालन गर्थे । बुवा, आमासँगै उनी पनि त्यही चिया पसलमा काम गर्थिन्, परिवारको रोजीरोटी चलिरहेकै थियो ।

तर गत वैशाख ९ गते उनी एकाएक घरबाट गायब भइन् । ९ गते हराएकी उनी १० गते त घर आउँलिन् भन्ने परिवारलाई लागेको थियो । तर गृष्मा घर फर्किनन् । त्यसपछि वैशाख ११ गते बल्ल परिवारले इलाका प्रहरी कार्यालय रानी, मोरङमा खोजतलासका लागि निवेदन दिए ।

किशोरी हराएको निवेदन पाउनासाथ प्रहरीले खोजतलास सुरु ग¥यो । किशोरीको सम्पर्कमा रहेका व्यक्तिहरु, चिनजानका व्यक्तिहरु सबैसँग प्रहरीले गृष्माबारे जानकारी लियो । तर गृष्मा कहाँ छिन् भन्ने केही जानकारी पाउन सकेन । गृष्मालाई भारत पु–याएर बेचबिखन गरेको हुनसक्ने प्रहरीको अनुमान थियो ।

यही क्रममा प्रहरीले ती किशोरीका कथित प्रेमी भनिएका एक युवालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु ग¥यो । तर युवकले किशोरीबारे आफू अनभिज्ञ रहेकोमात्रै बताइरहे ।

तर प्रहरी अनुसन्धानका क्रममा भारतीय नम्बरबाट ती युवकको मोबाइलमा फोन आएको देखियो । त्यो फोन अरु कसैले नभएर गृष्माले नै गरेकी थिइन्, जबकि युवकले फोन कलका बारेमा प्रहरीलाई कुनै जानकारी नै दिएको थिएन । युवकको भूमिका झनै शंकास्पद देखिएपछि प्रहरीले युवकलाई नियन्त्रणमै राखेर अनुसन्धान गर्‍यो । अनुसन्धान गर्न गाह्रो भएपछि प्रहरीले अभद्र व्यवहारको मुद्दा चलायो ।

यता नेपाल प्रहरी भने भारतीय प्रहरीको समन्वयमा जुन नम्बरबाट फोन आएको थियो, त्यही नम्बर र उक्त नम्बर प्रयोग गर्ने व्यक्तिको खोजी गर्न थाल्यो । उक्त नम्बर बिहारकी माया नाम गरेकी महिलाको थियो, जुन नम्बरबाट गृष्माले युवकलाई फोन गरेकी थिइन् । त्यही एक फोन कलका आधारमा नेपाल प्रहरी माया नाम गरेकी महिलासम्म पुगेको थियो ।

तर मायाले गृष्माबारे कुनै जानकारी नभएको बताइरहिन् । फोटो देखाउँदा पनि आफूले गृष्मालाई नचिनेको र कहाँ छिन् भन्ने थाहा नभएको बताइरहिन् । तर प्रहरीले मायाको फोन कल रेकर्ड (सिडिआर) हेरेपछि बल्ल मायाले गृष्मा हरियाणाको गुडगाउँमा रहेको जानकारी दिइन् ।

यस्तो छ गृष्माको ‘मोरङ टु गुडगाउँ’ यात्रा

१६ वर्षीय किशोरी आफ्ना बुवा आमासँगै चिया नास्ता पसलमा काम सघाउने गर्थिन् । उनको साथमा एउटा फोन थियो, जुन फोनबाट एक युवकसँग लगातार कुरा गरिरहन्थिन् । गृष्मा र युवकको अत्याधिक कुरा हुन थालेपछि उनकी आमाले पटकपटक गृष्मालाई सम्झाएर ‘फोनमा नझुण्डिन’ आग्रह गरिरहिन् । तर गृष्माले आमाको कुरा सुन्न चाहिनन् । अति भएपछि आमाले गृष्मालाई गाली गर्दै बुवालाई सबै कुरा भनिदिने बताइन् ।

आमाले माया गरेर गरेको गाली गृष्माको लागि अप्रिय भयो र उनी घर छाडेर हिँड्ने सोचमा पुगिन् । गत वैशाख ९ गते आमाले राखेको केही पैसा बोकेर गृष्मा भारततर्फ लागिन् । जोगबनी नाका पार गरेपछि गृष्मा त्यहाँबाट एक बस चढेर बिहारको सिमराई भन्ने स्थानमा पुगिन् । गृष्माको साथमा केही पैसा थियो, त्यही पैसाले उनी सिमराईमा एउटा कोठा भाडामा लिएर बस्न थालिन् ।

सिमराईमा बस्ने क्रममा गृष्माको भेट आफूलाई माया बताउने महिलासँग भयो । १६ वर्षीय किशोरी एक्लै बसेको देखेपछि मायाले किशोरीसँग कुराकानी गर्न थालिन् । गृष्माले आफू नेपालबाट आएको र कामको खोजीमा रहेको बताएपछि मायाले आफूले काममा लगाइदिने बताइन् । डान्स गरेर राम्रो पैसा कमाउन सक्ने बताएपछि गृष्मा पनि मायासँगै जान तयार भइन् ।

त्यसपछि मायाले गृष्मालाई सिमराईबाट पटना लिएर गइन् । त्यहाँ उनलाई बार र पार्टीहरुमा डान्स गराउन थालियो । डान्स गर्दा पनि अर्धनग्न भएर डान्स गर्नुपर्ने भएपछि गृष्माले त्यसो गर्न अस्वीकार गरिन् । तर गृष्माको केही लागेन । बरु मायाले गृष्मालाई जबरजस्ती यौनधन्दामा लगाउने कोशिस गरिन् । ‘पुरुषसँग सुत्न गएमा धेरै पैसा आउने भन्दै आफूलाई मायाले जबरजस्ती गर्न खोजेको’ गृष्माले प्रहरीलाई बयान दिएकी छन् ।

तर गृष्माले गलत धन्दा नगर्ने बताएपछि मायाले गृष्मालाई धेरैपटक पिटेको र सुरुमा मायाको बहिनीको घरमा पुराएको बताएकी छन् । पटनामा गलत धन्दा नगर्ने बताएपछि मायाले गृष्मालाई पटनाबाट बैंगलोरमा डान्स रेष्टुरेण्टमा काम गर्न लैजाने बताइन् । तर गृष्माले आफू बैंगलोर नजाने बताएपछि पटनाबाट फेरि बिहारमा ल्याइयो । त्यहाँ १२ दिन राखियो र उनलाई जबरजस्ती यौनधन्दामा धकेल्ने प्रयास भयो । तर गृष्माले नमानेपछि उनलाई हरियाणाको गुडगाउँमा जाने गरी २० हजार भारुमा बेचियो । गृष्माका अनुसार मायाले चटक देखाउने एक जादुगरसँग २० हजार भारतीय रुपैयाँ लिएर उनलाई बेचेकी थिइन् । हरियाणामा बस्ने मोहम्मद मुवारक नाम गरेका व्यक्तिसँग २० हजार लिएर मायाले गृष्मालाई बेचिन् । त्यसपछि गृष्मा मुवारकसँगै हरियाणा पुगिन् ।

गुडगाउँ पुगेपछि मुवारकले गृष्मालाई चटक देखाउने स्थानमा डान्स गर्न लगाउन थाले । यद्यपि मुवारकले अश्लील नृत्य गर्न नलगाएको र राम्रो व्यवहार देखाएको गृष्माले बताएकी छन् । मुवारकले नयाँ कपडा किनिदिने, कपाल स्ट्रेट गरिदिने लगायतको काम गरेको गृष्माले बयान दिएकी छन् ।

मायाले नै फोन गरेर गृष्माको ठेगाना बताइन्

यहीबीचमा मुवारकलाई मायाको फोन आयो । तिम्रो बुवा आमा यहाँ (बिहार) आएका छन्, तिमी घर आउ भनिन् । किनभने मायामाथि कारवाही हुने भएपछि मायाले नै मुवारकलाई फोन गरेर गृष्मालाई पठाइदिन भनेकी थिइन् । बिहार प्रहरीले मायालाई नियन्त्रणमा लिएपछि मायाले नै गृष्मा रहेको स्थान र कोसँग छिन् भनेर प्रहरीलाई बताएकी थिइन् । त्यसपछि नेपाल प्रहरी, हरियाणा प्रहरी, दिल्लीस्थित आफन्त नेपाल (कीन नेपाल) र दिल्लीस्थित नेपाली दूतावासको पहलमा गृष्मालाई गत शुक्रबार उद्धार गरियो र सोमबार उनलाई नेपाल ल्याइयो ।

निर्दोष युवा प्रहरी कष्टडीमा

गृष्मा बेपत्ता भएपछि प्रहरीले स्थानीय एक युवकलाई लामो केरकार गरेर नियन्त्रणमा राखिरहेको छ । गृष्माको प्रेमी दावी गरिएका ती युवालाई मानव बेचबिखनमा अनुसन्धान गर्न भन्दै प्रहरीले लामो समयदेखि प्रहरी हिरासतमा राखिरहेको छ । अभद्र व्यवहारमा म्याद थप गरेर उनलाई हिरासतमा राखिएको छ । जबकि गृष्मा भारतमा बेचिनुमा युवकको कुनै संलग्नता पाइएको छैन ।

यस सम्बन्धमा के भएको हो भनी बुझ्दा इलाका प्रहरी कार्यालय रानी, मोरङका प्रहरी निरीक्षक प्रकाश राउतले गृष्माकै सम्बन्धमा अनुसन्धानका लागि नियन्त्रणमा लिँदा अभद्र व्यवहार गरेपछि त्यही मुद्दामा म्याद थपेर अनुसन्धान गरिरहेको बताए । घटनामा निजको संलग्नता नभएको पुष्टी भए पनि अदालतबाट म्याद थपेर ल्याइसकेको कारण छाड्न नमिलेको उनको भनाइ छ । म्याद सकिएपछि उनलाई रिहा गरिने पनि राउतले जानकारी दिए ।

पढाइलाई निरन्तरता दिँदै सीप सिक्ने इच्छा

हरियाणाबाट उद्धार गरिसकेपछि गृष्माले आफ्ना बुवा आमा र आफन्त नेपालका उद्धार अधिकृतसँग पढाईलाई निरन्तरता दिँदै केही सिप सिक्ने बताएकी छन् । ८ कक्षा पढ्दै गरेकी गृष्मा अब पढाइलाई पनि निरन्तरता दिने र केही सीप सिकेर स्वरोजगार बन्ने सोचमा छिन् । गाउँमा सबैले ‘पोइला गएकी’ भनेर हल्ला चलाएकाले तत्काल गाउँमा नजाने र सेफ हाउसमै बसेर त्यहीँबाट केही सीप सिक्ने गृष्माको योजना छ । कम्तीमा एसईईसम्म पढ्ने र केही काम गर्ने गृष्माको योजना छ ।

आमाको गाली माया हो : गृष्मा

गृष्माले बिहार र पटनामा पाएको यातना धेरै छ । यौनधन्दामा सामेल हुन नमान्दा मायाले पिटेको घाउ र चोट अझै छ । तर घरबाट भागेर हिँडेकाले गृष्माले आफ्नो आमालाई फोन गर्न सकिनन् । आमाले सम्झाएको मेरै लागि रहेछ भन्ने लागे पनि बुवा–आमा, आफन्त र समाजको डरले फर्केर घर आउन सकिनन् । त्यसपछि उनी धेरै दुःख झेल्न पुगिन् ।

यतिबेला गृष्मालाई लागेको छ कि आमाको गाली खासमा उनकै लागि थियो । छोरी नबिग्रियोस्, राम्रो बनोस् भन्ने सोचेर आमाले गाली गरेको त्यतिबेला नबुझेको भए पनि अहिले भने आमाको गाली र मायाको महत्व बुझेको गृष्मा बताउँछिन् । उनी भन्छिन्, ‘त्यतिबेलाको सानो गल्तीले ठूलो दुःख पाएँ, अब त्यस्तो गल्ती दोहो–याउँदिन ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP