बागलुङमा तरकारी र फलफूल महँगियो

काठमाडौं । ढुवानी ठप्प हुँदा यहाँ तरकारी र फलफूल महँगिएको छ । पोखरा-बागलुङ सडक खण्डमा पहिराले बिहीबारदेखि यातायात सेवा अवरुद्ध भएपछि तरकारी र फलफूल ढुवानी गर्न सकिएको छैन ।

व्यापारीले मनपरी मूल्य बढाएको उपभोक्ताको गुनासो छ । व्यवसायी भने दोब्बर भाडा तिरेर ढुवानी गर्नुपरेकाले मूल्य बढाउनु परेको बताउँछन् ।

स्थानीय किसानबाट खरिद गरेको तरकारी यसै पनि महँगो पर्ने गरेको उनीहरुको गुनासो छ । एक साताअघि रु ६० पर्ने गोलभेँडा अहिले रु. एक सय २० मा खरिद गर्नुपरिरहेको व्यवसायी नारायण सुवेदीले बताए ।

‘स्थानीय उत्पादन न्यून भएकाले खरिद महँगो पर्छ, अब त्यही पनि पाइन छाडेको छ”, उनले भने । यहाँ पोखरा, चितवनलगायत ठाउँबाट तरकारी ल्याइने गरिन्थ्यो । स्थानीय उत्पादनले मात्र धान्न सक्ने स्थिति छैन । तरकारी आयात ठप्प भएपछि स्थानीय किसानले उचित मुल्य नपाएको व्यवसायी बताउँछन् ।

वर्षा याम सकिनै लाग्दा बजारमा तरकारी अभाव भएको छ । त्यहीँमाथि ढुवानी नै गर्न नसकिएपछि थप समस्या निम्तिएको छ । तीजमा उपभोक्ताले चाहेअनुसारको किनमेल गर्न पाएका छैनन् । फलफूलको भाउ पनि छोइनसक्नु छ ।

व्यवसायी विजय आले बुटवलबाट गलकोटहुँदै फलफूल ढुवानी गर्नुपरिरहेकाले दोब्बर भाडा तिर्नुपरिरहेको बताउनुहुन्छ । एक किलो स्याउ रु तीन सयमा किन्नु परेको स्थानीयवासी उमाकुमारी पौडेलले बताए । केही दिनअघिसम्म एक किलो स्याउको मूल्य रु एक सय ५० थियो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सूर्यलाल विक व्यवसायीले मनपरी ढङ्गले मूल्य लिन नपाउने बताउँछन् । आजैदेखि बजार अनुगमन थालिएको उनको भनाइ छ ।

‘अनुगमनका क्रममा बढी मूल्य लिएको पाइएमा व्यवसायीलाई कारबाही हुन्छ’, विकले भने । प्रशासन, प्रहरी, बागलुङ नगरपालिका, उपभोक्ता मञ्चलगायत सरोकार भएका पक्ष मिलेर अनुगमन थालेका हुन् ।

चाडबाडमा बजारमा वस्तुको मूल्य मनपरी लिने व्यवसायीको पुरानै प्रवृत्ति हो । यसैमाथि ढुवानी रोकिएको नाममा कृतिम अभाव सिर्जना गरेर मूल्य बढाउने व्यवसायी पनि यसबेला सक्रिय छन् । सडक सम्पर्क टुट्दा तरकारी-फलफूल मात्र होइन अन्य दैनिक उपभोग्य सामानको पनि अभाव भएको छ । इन्धनको ढुवानीसमेत रोकिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP