जब विदेश हिँडेका व्यक्ति थाहै नपाइ लागूऔषध कारोबारी बने…

काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले २१ भदौमा कतार एयरवेजको उडानमार्फत दोहा जान लागेका म्याग्दीका श्यामप्रसाद रोका र वीरबहादुर मगरलाई पक्राउ गर्‍यो ।

विमानस्थल सुरक्षामा खटिएका अधिकारीले उनीहरुको सुटकेसको एक्सरेमा शंकास्पद दृश्य देखेपछि ब्यूरोलाई खबर गरेका थिए । खोलेर हेर्दा दुई जनाको साथबाट ४ किलो ३५ ग्राम लागूऔषध चरेश बरामद भयो ।

लागूऔषधबारे अनुसन्धान गर्ने प्रहरीको विशिष्टकृत इकाइ एनसीबीको टोलीले उनीहरुलाई सार्वजनिक गर्न हतार गरेन । बरु रोका र मगरमार्फत १६ दिन लामो ‘अपरेशन ह्यास’ चलाएर चरेश किनबेचमा संलग्न एउटा गिरोहलाई मात्र समातेको छैन, चरेश लुकाउन तयार पारिएको कारखानै फेला पारेको छ ।

ब्यूरोका प्रमुख हृदय थापाका अनुसार विभिन्न लेयरमाथि अनुसन्धान गर्दै गर्दा प्रहरीले कपनमा लागूऔषध चरेश लुकाउन प्रयोग गरिने ह्याण्डी क्राफ्टका सामान बनाउने काराखानासम्म पुगेको थियो ।

‘कारखानामा उनबाट बनाइएका विभिन्न रंगका ह्याण्डी क्राफ्ट र नेपाली कागजबाट बनेका विभिन्न रंगका डायरी बरामद भएको छ’ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) थापाले भने, ‘ती सामग्रीमा फल्सबटम बनाएर चरेश तस्करी हुन लागेको भेटिएको छ ।’

चरेश तस्करीका मुख्य नाइके सेसे भनिने उर्पा तामाङ र वीरबहादुर तामाङलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । ब्यूरोका एसपी जीवन श्रेष्ठका अनुसार उनीहरुले एक भारतीय नागरिकसँग मिलेमतोमा उनीहरुले भारत हुँदै हङकङ, थाइल्याण्ड र टर्कीसम्म चरेश पुर्‍याउने गरेका थिए ।

‘विमानस्थलबाट लैजान कडाइ भएपछि स्थलमार्ग प्रयोग हुने गरेको थियो’ उनी भन्छन्, ‘कोभिड–१९ भाइरसका कारण हङकङ निर्यात गर्न नसकेकाले दोहा पठाउन खोजिएको पाइएको छ ।’

जो थाहै नपाई लागूऔषध कारोबारी बने

ब्यूरोका एसएसपी थापाका अनुसार सेसे र वीरबहादुरले वैदेशिक रोजागारीमा जान लागेका व्यक्तिलाई प्रयोग गरेर लागूऔषध तस्करीको प्रयास गरेका थिए । प्रहरीका अनुसार ब्यूरोले विमानस्थलबाट चरेशसहित पक्राउ गरेका रोकाद्वयलाई उनीहरुको लगेजमा लागूऔषध छ भन्ने थाहै थिएन ।

‘उड्नु अघिल्लो दिन दुई जनालाई राखेर वियर खुवाएका रहेछन्, साँझ बस्दा ७/७ हजार तिरिदिएछन्’ थापाले भने, ‘त्यतिको भरमा बुद्धिस्ट कपडा छ भनेर सुटकेश जिम्मा लगाएको खुलेको छ ।’

थापाका अनुसार उनीहरुले झोलामा के छ भनेर हेरेका पनि थिए, फल्स बटम बनाएर लुकाएका कारण लागूऔषध देखेनन् । र, विदेश जानुपर्ने व्यक्ति लागूऔषधसम्बन्धी कसूरमा हिरासत पुगेका छन् ।

उनीहरुलाई पक्राउ गरेर सोधपुछ गर्ने क्रममा म्याग्दीका दिलबहादुर गुरुङ, धादिङका अनिलबहादुर घले र सुनबहादुर गुरुङसम्म प्रहरी पुगेको थापा बताउँछन् ।

‘अनिल र सुनबहादुरले माइला भन्ने कृष्णबहादुर तामाङ र याङ्की भन्ने जितबहादुर तामाङले भनेअनुसार विदेश जाने मानिसको खोजी गरेका थिए’ थापा भन्छन्, ‘उनीहरुले दिलबहादुर रोकामार्फत दुई जना विदेश जाने मानिस भेटेका थिए ।’

तीनै जनालाई भेटेपछि प्रहरीले कृष्ण र जितबहादुरलाई पक्राउ गरेको थियो । त्यसक्रममा कृष्ण विदेशमा चरेश पठाउने मध्येका एक भएको खुल्यो भने जितबहादुर उनको सहयोग रहेको भेटिएको थापाको भनाइ छ ।

उनीहरुलाई सोधपुछ गर्ने क्रममा चरेश तस्करीका नाइके सेसे र वीरबहादुर तामाङसम्म प्रहरी पुगेको थियो ।

जेल बस्दा सीप सिके, छुटेपछि त्यसैलाई अपराधमा जोडे

एसएसपी थापाका अनुसार नुवाकोटको विदुर नगरपालिका–१३ का सेसे ३ कात्तिक २०५४ मा लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेका थिए । केन्द्रीय कारागार, सुन्धारामा १९ वर्ष जेल सजाय काटे ।

जेलमा बस्दा उनले ह्याण्डी–क्राफ्ट बनाउने तालिम लिएका थिए । २०७३ मा रिहा भएका उनले जेलमा सिकेको सीपलाई फेरि लागू औषध कारोबारको टूलको रुपमा प्रयोग गरेको पाइएको छ ।

उनले ह्याण्डी क्राफ्टमै लुकाएर लागूऔषध कारोबार गर्न थालेको पाइएको ब्यूरोका प्रवक्तासमेत रहेका एसपी श्रेष्ठ बताउँछन् ।

उनका अनुसार चरेश कारोबारका लागि उनीसँग चाहिने जति रकम थिएन । पहिले तोकिएको जरिवाना तिर्न नसक्दा थप ४ वर्ष जेल बस्नुपरेको थियो । त्यसैले चरेश खरिदका लागि उनलाई नुवाकोटका वीरबहादुर तामाङले सहयोग गर्ने गरेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार सेसेले हङकङ जाने व्यक्तिलाई सीपमुलुक तालिमको नक्कली प्रमाण पत्र पनि विक्री गर्ने गरेको भेटिएको छ ।

श्रेष्ठका अनुसार पक्राउ परेका ९ जनाविरुद्ध लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार विस्तृत अनुसन्धान भइरहेको छ । उनीहरुमाथिको अभियोग पुष्टि एकदेखि ३ वर्षसम्म जेल सजाय हुनसक्छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP