एमाले बैठकमा घनश्याम भुसालको तीन बुँदे फरक प्रस्ताव

काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले केन्द्रीय कमिटी बैठकमा तीन बुँदे फरक प्रस्ताव राखेका छन् । गत ३ असोजको स्थायी कमिटी बैठकमा पनि भुसालले लिखित रुपमा फरक प्रस्ताव राखेका थिए ।

केन्द्रीय कमिटी बैठकमा पनि भुसालले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा फरक प्रस्ताव राखेका छन् । उनले विगतको समीक्षा, नयाँ कार्यदिशाका निम्ति ठोस प्रस्ताव र जनताको बहुदलीय जनवाद (जबज)को सैद्धान्तिक व्याख्या गरिनुपर्ने प्रस्ताव गरेका छन् ।

एकांगी प्रतिवेदन

उपमहासचिव भुसालले राजनीतिक प्रतिवेदन एकांगी रुपमा आएको उल्लेख गरेका छन् । ‘हामीले सानोतिनो धक्का खाएका छैनौं, ठूलो धक्का खाएका छौं । पार्टी एकतादेखि विभाजनसम्म उल्लेख गरिएको प्रतिवेदन एकांगी छ,’ भुसालको भनाइ छ ।

पार्टी विभाजन हुनुमा सबैको कमजोरी रहेको र बढी जिम्मेवार अध्यक्ष रहेको भुसालको भनाइ थियो । तर राजनीतिक प्रतिवेदनमा कमजोरीको पाटो छुटेको उनले बताए । ‘हाम्रै के कमजोरी भए भन्ने यो रिपोर्टमा भनेका छैनौं । जिम्मेवार पार्टीले आफ्नो कमीकमजोरी थिएन भन्ने एकांकी भएर चल्दैन । कमजोरी भएको छ । हामी सबै कमजोरीमा जिम्मेवार छौं र अध्यक्ष बढी जिम्मेवार हुनुहुन्छ,’ भुसालले भने ।

ठोस कार्यक्रम आवश्यक

एमालेको नवौं महाधिवेशनले नयाँ कार्यदिशा तय गरे पनि ठोस कार्यक्रम बन्न नसकेको उनको भनाइ छ । ‘२०६२÷६३ को क्रान्तिपछि नवौं महाधिवेशनबाट नयाँ कार्यदिशा तय गर्‍यौं । त्यो कार्यदिशा अनुसार ठोस कार्यक्रम पार्टीले कहिल्यै पनि बनाएन,’ भुसालले भने ।

ठोस कार्यक्रम नबन्दा पार्टीले लिएको नयाँ कार्यदिशा प्रष्ट हुन नसकेको उनको भनाइ छ । ‘के गर्दा सफल भइएन हो, के गर्दा असफल भइएन हो । केही मानक भएन,’ भुसालको तर्क छ । ठोस कार्यक्रम बनाएर मात्रै एमाले अगाडि बढ्ने उनले बताए ।

जबजको सैद्धान्तिक व्याख्या

केन्द्रीय कमिटी बैठकमा फरक प्रस्ताव राख्दै भुसालले जनताको बहुदलीय जनवाद (जबज) जप्ने मात्रै भएको बताए । ‘जसले जप्छ, ऊ पुरस्कृत हुने र जसले लागू गर्छ त्यो चाहिं किनारा हुने अवस्था आयो,’ भुसालले भने ।

जबजलाई सिद्धान्त भने पनि त्यसको परिभाषा हुन नसक्दा यस्तो समस्या आएको उनको तर्क छ । ‘जबज भनेकै के हो ? भन्ने सैद्धान्तिक परिभाषा भएको छैन । जबज सिद्धान्त त भनियो । तर सिद्धान्तको परिभाषा अहिलेसम्म गरिएको छैन,’ भुसालको भनाइ छ ।

यी तीन प्रस्ताव एमाले निर्माणको आधारभूत कुरा भएको उनको दाबी छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP