Trending
flash विजयनगरका ७ वटै वडामा नेकपा एमालेकाे वडा अधिवेशन सम्पन्न समाज वैशाखयता विपद्जन्य घटनामा परि ३ सय ५३ जनाको ज्यान गयाे flash एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन कपिलवस्तुमा पुनः पाण्डे flash प्रेस सेन्टर नेपाल कपिलवस्तुमा बेल्वासेको नेतृत्व अन्तर्राष्ट्रिय सन् २०६० सम्म कार्बन उत्सर्जनलाई शून्यमा झार्ने साउदी अरेबियाको भनाइ समाज तिहारकाे लागि ५० हजारभन्दा बढी सयपत्रीको माला भारतबाट आयात हुँदै अन्तर्राष्ट्रिय अमेरिकालाई चीनको चेतावनी राजनीति राप्रपाकाे ५४ जिल्लामा अधिवेशन सकियाे flash प्रेस सेन्टर कपिलवस्तुकाे अध्यक्षमा बेल्बासे, २१सदस्य कार्य समिति चयन समाज प्रमुख सामाजिक समस्या बन्दै आत्महत्या

हिन्दुत्वविरोधी काउन्टर न्यारेटिभ : पाकिस्तानमा ‘गजवा ए हिन्द’ को आवाज किन उठ्दैछ ?

काठमाडौं । यही अगस्ट १५ मा तालिबान विद्रोहीले अफगानिस्तानको सत्ता कब्जा गरे । २० वर्षदेखि अमेरिकी नेतृत्वको नेटो फौजसँग लडिरहेका तालिबान विद्रोहीले अचानक काबुल कब्जा गरेपछि संसारभर तरङ्ग मच्चियो । उक्त तरङ्गबाट दक्षिण एसिया अछुतो रहने कुरै भएन ।

तालिबानको पुनर्योदयलाई कतिपयले भारतको हार र पाकिस्तानको जीतको रुपमा व्याख्या गरेका छन् । यसखाले व्याख्या गलत भन्न सकिँदैन । यसका केही कारणहरू छन् ।

पहिलो-भारत र २००१ पछि बनेका अफगान सरकारबीचको घनिष्ट सम्बन्ध हो । भारतले अफगानिस्तानको पुनर्निर्माणमा दुई दशकभित्र तीन अर्ब डलर बराबर खर्च गरिसकेको छ । तालिबानविरुद्धको लडाइँमा नर्दन अलाइन्सलाई सहयोग गरेको भारतले पछिल्लो घटनाक्रमपछि ठूलो धक्का महसुस गरिरहेको छ ।

दोस्रो-पाकिस्तान र तालिबानको सम्बन्ध सुरुदेखि नै राम्रो हुनु । सन् १९७९ मा पूर्व सोभियत युनियनले अफगानिस्तानमा आक्रमण गर्‍यो । सोभियत सेनासँग लड्न भन्दै इस्लामिक मुजाहिद्दीन तयार पारियो र हालको तालिबानका प्रारम्भिक नेताहरू रुसविरुद्धको लडाइँमा सामेल भएका थिए ।

पाकिस्तानी खुफिया संस्था आईएसआईमार्फत् अमेरिकी खुफिया संस्था सिआईएले मुजाहिद्दीनलाई पैसा र हतियार उपलब्ध गराएको थियो । १९८० को दशकमा तालिबानका संस्थापक मोहम्मद ओमारसहित ९० हजार अफगानीलाई आईएसआईले तालिम दिएको बताइन्छ । अमेरिकी आक्रमणपछि तालिबान नेतृत्व पाकिस्तानमा गएको र त्यहीबाट अमेरिकी सेनाविरुद्धको लडाइँको समन्वय गरेको कतिपयको दाबीसमेत छ । सन् २०१० मा लण्डन स्कुल अफ इकोनोमिक्सद्वारा प्रकाशित एक प्रतिवेदनमा पाकिस्तान सरकारका उच्च अधिकारी र तालिबान नेतृत्वबीच सम्बन्ध रहेको उल्लेख थियो । पुन: सत्तामा आएपछि समेत पाकिस्तानले तालिबानलाई ‘ग्रिन सिग्नल’ दिइसकेको छ । यस क्रममा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ‘अफगानिस्तान दासत्वबाट मुक्त’ भएको टिप्पणी गरेका थिए ।

र, तालिबानको पुनरोदयसँगै भारतलाई मध्य एशियामा रणनीतिक धक्का लागेको छ ।अधिकांश भारतीय कुटनीतिज्ञ र नेताहरूले उक्त क्षेत्र अस्थिर हुन सक्ने चिन्ता व्यक्त गर्न थालेका छन् । मध्य एशियामा भारतको महत्वपूर्ण रणनीतिक स्वार्थ रहँदै आएको छ ।ऊर्जामा पहुँच र आर्थिक प्रभावको विस्तारलगायतका रणनीतिक स्वार्थहरू तालिबानको पुनरागमनसँगै सीमित हुन सक्ने विश्लेषण हुन थालेको छ । तालिबानले जम्मू-काश्मिरमा सक्रिय पृथकतावादी समूहलाई सहयोग उपलब्ध गराउन सक्ने आशंका भारतीयहरूको छ । यही भएर भारतले तालिबानको हकमा ‘पर्ख र हेर’ को रणनीति लिन बाध्य देखिन्छ ।

यसबाहेक, तालिबानको पुनरागमनपछि दक्षिण एशियामा धार्मिक-साँस्कृतिक अतिवादले प्रश्रय पाउने चिन्ता व्यक्त हुन थालेको छ । भारतमा हिन्दुत्वको नारा थप सशक्त बन्दै जानु र पाकिस्तानमा इस्लामिक शासनको पक्षमा नारा उठ्नु यसको संकेत मान्न सकिन्छ ।

‘द ब्याटल अफ द न्यारेटिभ्स : गजवा ए हिन्द भर्सेस हिन्दुत्व’

भारतविरुद्ध कडा अभिव्यक्ति दिएर चर्चामा आइरहने पाकिस्तानी राजनीतिक विश्लेषक जैद हमिदले केही समयअघि आफ्नो युट्युब च्यानलमा एक भिडियो पोष्ट गर्दै भनेका थिए- ‘यतिबेला पाकिस्तानसामु दुश्मनको फौजभन्दा एउटा विचारधाराका कारण खतरा उत्पन्न भएको छ र उक्त विचारधारा भनेको हिन्दुत्व हो । यो एक विस्तारवादी, फासिवादी विचारधारा हो । यसको उद्देश्य बर्मादेखि अफगानिस्तानसम्म हिन्दु राष्ट्र बनाउने हो । तर सो उद्देश्यसामु सबैभन्दा ठूलो रोकावट पाकिस्तान बनिरहेको छ ।’

‘कुनै पनि ठूलो लडाइँ लड्नुपूर्व विचारधारा अघि सारिन्छ । हिटलरले पनि पहिला नाजी विचारधाराको सहायताले चुनाव जितेका थिए । त्यसपछि उनले सोही विचारधारालाई फौजी तागतमा परिणत गरे र त्यसैलाई आधार बनाएर जर्मनीमार्फत् पूरा दुनियाँमा युद्ध सुरु गरे । अर्थात् पहिला नाजी विधारधारा आयो र पछि फैलिँदै गयो’, हमिदले भिडियोमा भनेका छन्, ‘जब एउटा धार्मिक अतिवादी विचारधारा तपाईंसँग भिड्न आउँछ भने त्योसँग भिड्न फौजी तागत मात्रै होइन, काउन्टर न्यारेटिभ पनि चाहिन्छ ।’

हमिदले संकेत गरेको काउन्टर न्यारेटिभ इस्लामिक अतिवादमा आधारित छ । इस्लाम आस्थाका आधारमा पाकिस्तान बनेको र सोही आधारमा मानिसहरूलाई एकताबद्ध गरेर हिन्दुत्वविरुद्ध संघर्ष गर्नुपर्ने उनको भनाई छ । ‘जबसम्म गजवा ए हिन्दको सिद्धान्त हाम्रो राष्ट्रिय सुरक्षाको सिद्धान्त बन्दैन तबसम्म हामीले हिन्दुत्वको सामना गर्न सक्दैनौं’, उनले सबै पाकिस्तानीहरूलाई अपिल गर्दै भनेका छन् ।

के हो गजवा ए हिन्द ?

सभ्यतासँग जोडिएको मनोविज्ञान, भावना र आस्थालाई राजनीतिक हतियार बनाइने प्रवृत्ति सर्वत्र व्याप्त छ । र, राजनीतिक स्वार्थका लागि मानिसको आस्थासँग खेल्ने प्रवृत्ति मानव समाजकै लागि घातक हुने अनुभवले देखाउँछन्
भारतमाथि इस्लाम धर्मले गर्ने अन्तिम हमला वा विजयलाई ‘गजवा ए हिन्द’ भन्ने गरिन्छ । इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदले यसबारे भविष्यवाणी गरेका थिए । यही कारण जम्मू-काश्मिरमा सक्रिय कतिपय विद्रोही समूहहरू यही सिद्धान्तबाट प्रेरित छन् । पाकिस्तानी विद्रोही समूहले बारम्बार प्रयोग गर्ने यो शब्दले’भारतविरुद्ध पवित्र युद्ध’ भन्ने अर्थ पनि राख्छ। विशेषगरी मोदी सरकारले धारा ३७० खारेज गरेपछि यो शब्दबारे भारत र पाकिस्तानमा निकै चर्चा हुन थालेको देखिन्छ ।

अरेबिक भाषामा गजवाको अर्थ सम्पत्ति वा भूगोलको साटो आस्थाबाट निर्देशित युद्ध भन्ने अर्थ लाग्छ । कतिपयले यो शब्दको अपव्याख्या भएको ठान्छन् । शब्दलाई अपव्याख्या गर्दै भारतविरोधी विद्रोही समूह जैस ए मोहम्मद लगायतका समूहले पैगम्बर मोहम्मदले गरेको भविष्यवाणीलाई आधार बनाएर भारतविरुद्ध आफ्ना क्रियाकलाप गर्दै आएको देखिन्छ । त्यस्तै, कसै-कसैलेयसलाई इस्लामिक राष्ट्रवादसँग जोडेर हेर्ने गर्छन् ।

एकातिर पाकिस्तानमा ‘गजवा ए हिन्द’लाई भारतविरोधी न्यारेटिभको रूपमा स्थापना गर्ने प्रयास जारी छ भने अर्कोतिर भारतमा ‘हिन्दुत्व’लाई पाकिस्तानविरोधी न्यारेटिभको रूपमा अघि सारिने गरिन्छ ।

मुख्यत: भाजपा र यसको माऊ संस्थाराष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले हिन्दुत्वको मुद्दा उठाउँदै आएका छन् । आरएसएसले अनुशरण गर्दै आएकोहिन्दुत्वको सिद्धान्तलाई विरोधी क्याम्पबाट कतिपयले फासिवादी विचारधाराको रूपमा पनि चित्रित गर्ने गरेका छन् । हिन्दुत्वले अखण्ड भारतको अवधारणाको पक्षपोषण गर्ने भएकाले ‘धार्मिक विस्तारवाद’को रूपमा समेत यसको व्याख्या हुनेगर्छ ।

हिन्दु र हिन्दुत्वबीच फरक छ ? अवश्य पनि फरक छ । राजनीतिज्ञ एवं लेखक शशी थरुरको शब्द सापट लिने हो भने हिन्दु (Hinduism) ले ‘धर्मलाई’ र हिन्दुत्वले ‘राजनीतिक सिद्धान्तलाई’ जनाउँछ । हिन्दु धर्मले केही कुरालाई पनि निषेध गर्दैन, यसले सबै परम्परा, संस्कृति र पन्थलाई स्वीकार्छ । तर हिन्दुत्व निकै फरक छ । हिन्दुत्व ‘सबै कुरा स्वीकार्ने सिद्धान्त वा सबैलाई समावेश गर्ने सिद्धान्त’ होइन । यो बहिष्करणको सिद्धान्त हो । यसले आस्थालाई आफ्नो राजनीतिक हतियार बनाउँछ ।

‘सभ्यताको लडाइँ ?’

सन् १९९२ मा अमेरिकी लेखक स्यामुअल पि. हन्टिङ्टनले शीतयुद्धको अन्त्यसँगै वैचारिक लडाइँ अन्त्य भएको र अबको लडाइँ सभ्यता र संस्कृतिका लागि हुने दाबी गरेका थिए । यस्तो लडाइँमुख्यत: क्रिश्चियन सभ्यता, इस्लाम सभ्यता, पूर्वी सभ्यता (हिन्दु, बौद्ध, चिनियाँ र जापानी सभ्यता), ल्याटिन अमेरिकी सभ्यता र अफ्रिकी सभ्यताबीच नै हुने उनको निष्कर्ष थियो । हन्टिङ्टनले आफ्नो किताब ‘द क्ल्यास अफ सिभिलाइजेसन’ ले प्रमुख सभ्यताबीच हुने लडाइँलाई ‘केन्द्रीय राज्यबीचको द्वन्द्व (core state conflicts)’ र कुनै मुलुकभित्र रहेका फरक सभ्यताका समूहबीच हुने लडाइँलाई ‘जोखिम क्षेत्र (fault lines)’ द्वन्द्व भनेका छन् ।

यदि हन्टिङ्टनले भने अनुसार हेर्ने हो भने पाकिस्तान र भारत फरक सभ्यता भएका मुलुक हुन् । जम्मू-कश्मिरलाई लिएर दुवै मुलुकबीच बेलाबेला भएका लडाइँलाई ‘सभ्यताकोलडाइँ’का रूपमा लिन सकिन्छ । र बाबरी मस्जिदलाई लिएर भारतमा जारी विवादलाई ‘फल्ट लाइन’ द्वन्द्व भन्न सकिन्छ ।

तर हन्टिङ्टनको धारणालाई धेरै विद्वानले कडा आलोचना गरेका छन् । कतिपयले सभ्यताका आधारमा विश्व राजनीतिलाई बुझ्न नसकिने भन्दै उनको आलोचना गरेका छन् । त्यस्तै कतिपयले विश्वव्यापीकरण हुँदै गइरहेको आजको युगमा सभ्यताबीच प्रस्ट रेखा भेट्न नसकिने भनेका छन् ।चर्चित अर्थशास्त्री अमर्त्य सेनले सन् १९९९ को एउटा लेखमा उल्लेख गरेका थिए-‘विविधता नै विश्वका अधिकांश संस्कृतिको विशेषता हो ।’

एउटा कुरा भने प्रस्ट छ- सभ्यतासँग जोडिएको मनोविज्ञान, भावना र आस्थालाई राजनीतिक हतियार बनाइने प्रवृत्ति सर्वत्र व्याप्त छ । र, राजनीतिक स्वार्थका लागि मानिसको आस्थासँग खेल्ने प्रवृत्ति मानव समाजकै लागि घातक हुने अनुभवले देखाउँछन् ।

यही भएर बेलैमा बुझौं- हिन्दुत्व र गजवा ए हिन्द जस्ता सिद्धान्तले मानिस-मानिसबीच फाटो ल्याउँछन् ।हत्या, हिंसार विध्वंशको कारक बन्छन् । सबैले बुझ्न जरुरी छ- यी दुवै यस्ता अतिवादी विचारधाराहुन् जसले दक्षिण एशियाको धार्मिक, साँस्कृतिक र जातीय विविधतालाई धरासायी बनाउने उद्देश्य बोकेका छन् । किनभने विविधतालाई स्वीकार्न नसक्ने कुनै पनि वाद, सिद्धान्त वा पन्थले एकताको होइन, विभाजनको बीजारोपण गर्छन् । तसर्थसहिष्णुता, सहअस्तित्व र सहकार्यले नै मानव सभ्यता परिस्कृत हुँदै जान्छ भन्ने कुरालाई आत्मसात गरौं । र कुनै पनि रूपमा टाउको उठाउने अतिवादको खुलेर विरोध गरौं ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP