Trending
समाज पहुचँमार्ग भत्किनुको कारणबारे छानबिन गर्न माग खेल स्कटल्याण्ड समूह विजेता बन्दै सुपर १२ मा, ओमान बाहिरियो राजनीति प्रदेश १ : विश्वासको मतदानको मिति सार्ने सत्तापक्षको कसरत‚ आजै गर्नुपर्ने विपक्षीको अडान राजनीति प्रदेश १ : विश्वासको मतमाथि छलफल आज, मतदान मिति सार्ने सत्ता पक्षको कसरत खेल टि-२० विश्वकप : सुपर १२ मा बंगलादेश समाज बाढीले कैलालीमा जनजीवन अस्तव्यस्त, विपन्न बस्तीमा गाँसकै समस्या समाज प्रधानमन्त्रीले आज कैलाली र बर्दियाको बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै राजनीति एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै समाज विराटनगर विमानस्थल भोलिदेखि खुलाउने तयारी समाज बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा कोरोनासँगै सरुवा रोगको जोखिम

संकटमा ‘भोजपुरे करुवा’, लोप हुँदै भोजपुरे शिल्पकला

काठमाडौं । कुनैबेला भोजपुरे करुवा भनेर कहलिएको बुट्टादार करुवा अहिले संकटमा पर्दै गएको छ । यस्तो करुवा बनाउने पेसालाई निरन्तरता दिने युवापुस्ता नहुँदा उनीहरुको शिल्पकला पनि लोप हुने अवस्थामा पुगेको छ ।

सानोतिनो मेहनतले बन्दैन बट्टेदार करुवा । यसका लागि चाहिन्छ- तागत, मेहनत, लगन, सिर्जनात्मकता, धैर्य र जोखिम मोल्न सक्ने साहस पनि । मेसिनले मानिसलाई अभ्यस्त बनाउँदै लगेको छ । त्यसैले मान्छे अब आफ्नै जाँगर, सिप र कलामा आधारित हुन छाडेका छन् । त्यसैले, अहिलेको पुस्तामा यत्ति धेरै कुरा एकैसाथ भेटिन मुस्किलप्रायः छ ।

नयाँ पुस्ताले यो पेसालाई अँगाल्न नचाहनुको पछाडि यस्तै कारणहरु देख्छन् कालीगढ नन्दराज जोशी । ‘यो काम गर्न तागत, मेहनत, लगन, सिर्जनात्मकता, धैर्य र जोखिम मोल्न सक्ने साहस चाहिन्छ । सुरु गरेपछि दुई महिनामा अन्तिम रुपमा पुग्न सकिन्छ ।’

उनी अगाडि थप्छन्- ‘काम गर्दा ८० प्रतिशतसम्म पनि बिग्रने जोखिम हुन्छ । अहिलेका पुस्ता दुःख गरिसकेपछिको जोखिम झेल्न चाहँदैनन् । त्यसैले पनि यो पेसा अपनाउन नचाहेका हुन् ।’

पुस्तौदेखि यो क्षेत्रमा काम गरिरहेका कालीगढ परिवारका नयाँ पुस्ताहरु अधिकांश अन्य पेसामा छन् । उनीहरु पुख्र्यौली पेसालाई निरन्तरता दिन चाहँदैनन् । अहिले टक्सारमा नै बसेर ७ घर परिवारले मात्रै यो पेसालाई निरन्तरता दिइरहेका छन् । बाँकी कोही काठमाडौं नै फिर्ता आए, कोही धरान, कोही विराटनगर गए । केही परिवारले धरानमा त केही परिवारले काठमाडौंबाटै यो कामलाई निरन्तरता दिइरहेका छन् ।

अहिलेको पुस्ता धेरै दुःख गर्न नचाहने र आधुनिकतासँग भिज्न थालेकाले यस्ता परम्परागत शिल्पकलालाई निरन्तरता दिन नचाहेको टक्सारका वडाध्यक्ष कुमार श्रेष्ठको बुझाइ छ । उनी भन्छन् ‘यो करुवा उत्पादन गर्नु धेरै दुःखको काम हो । अहिलेका पुस्ता त्यत्ति दुःख गर्न चाहँदैनन् र उनीहरु अहिलेको आधुनिक समयमा भिज्दै गइरहेकाले यस्ता परम्परागत काममा चासो दिँदैनन् ।’

विगत ४० वर्षदेखि टक्सारमा नै करुवा, वाइन ग्लास, बटुका आदि उत्पादन गरिरहेका कालीगढ विमल शाक्य आफू नै अन्तिम पुस्ता भएको बताउँछन् । उनी भन्छन- ‘अबको पुस्ताले यो पेसा गर्दैनन् । मेहनत र जोखिम धेरै छ । अबको केही वर्षसम्म मात्रै हो ।’

०७२ सालमा टक्सार बजार २ सय वर्ष पुगेको उपलक्ष्यमा महोत्सवको आयोजना भएको थियो । उक्त अवसरमा टक्सार सेवा समाज काठमाडौंको परिकल्पनामा सात फिट अग्लो ३६० केजीको करुवाको प्रतिमा स्थापित गरिएको छ । निरन्तरता दिने पुस्ता क्रमशः घट्दै जाँदा करुवा प्रतिमामा सीमित हुने होकी भन्ने चिन्ता कालीगढहरुको छ ।

०४६ सालको बहुदलको आन्दोलनले राजारानीको ब्लक भएको बुट्टेदार करुवाको माग घट्न थाल्यो । ०४८ सालसम्म आइपुग्दा अत्यन्त कम भएको यसको माग त्यसपछि बन्द भयो । त्यसपछि बुद्धका, विभिन्न मठ मन्दिरका ब्लक भएका करुवाहरु बढी चल्न थाल्यो
बुट्टादार करुवाको सुरुआत

बुट्टादार करुवा कुँद्ने काम कहिलेदेखि सुरु भयो र कसले गर्‍यो भन्ने यकिन छैन । कालीगढ नन्दराज जोशी भन्छन्- ‘व्यक्तिगत प्रयोजनका लागि बनाउँथे । कालीगढहरुको घरमा सीमित हुन्थ्यो कसले सुरुमा बनाए र कहिलेदेखि भयो भन्नेचाँहि भन्न सकिन्न ।’ तर व्यावसायिक रुपमा भने २८ सालतिरदेखि करुवा बनाउने पेसा सुरु भएको कालीगढ नन्दराज जोशी बताउँछन् ।

२०२६ सालभन्दा अघि टक्सारमा सादा करुवा बन्थ्यो । ०२६ सालमा धरानस्थित घोपा क्याम्प (तत्कालीन बि्रटिस क्याम्प) रहेका बि्रटिस क्याम्पबाट एक जना ब्रिटिस व्यक्ति उनको काम विशेषले भोजपुर पुगे । टक्सार नजिकै हेलिप्याडमा ओर्लेर टक्सार घुम्न निस्के ।

त्यसबेला टक्सारको रौनक नै बेग्लै थियो । पूर्वको औद्योगिक केन्द्रको रुपमा लिइन्थ्यो । त्यही बेला ती बि्रटिसहरु भाँडाकुँडा बनाउने स्थानहरु घुम्दै धनज्योति शाक्यको घरमा पुगे ।

उनले त्यहाँ सादा करुवा (बुट्टारहित) बनाएको देखेपछि उनले नन्दराज जोशीलाई एउटा बुट्टेदार करुवाको चित्र देखाएर यस्तो बन्छ ? भनेर सोधे । त्यसबेला बुट्टादार करुवा बनाउने प्रचलन कम थियो । कसैकसैले आफ्नो लागि मात्रै बनाउने गर्थे । व्यक्तिगत प्रयोजनका लागि धनज्योतिले कुँदेका बुट्टादार करुवा निकालेर देखाए ।

उनले किन्न चाहे र उक्त बुट्टेदार करुवा बोकेर घोपा क्याम्प फर्के । उनी धरान पुगेको केही समयपछि त्यस्तै बुट्टेदार करुवाहरुको अर्डर दिए । माग भई आएपछि नन्दराले (धनज्योतिका छोरा) ले थप करुवा बनाउन सुरु गरे । अर्डर आएपछि त्यसबेला कत्ति थान बनाएँ भन्ने अहिले नन्दराजलाई याद छैन । तर ती बि्रटिस व्यक्तिको अनुरोधपछि नन्दराज आफूले बुट्टेदार करुवा बनाउन सुरु गरेको उनी स्मरण गर्छन् । उनी विगत सम्झँदै भन्छन्- ‘त्योभन्दा अघि सामान्य सादा करुवा मात्रै बन्थ्यो । २८ सालतिर अर्डर आएपछि मैले सुरु गरेको हो ।’

ती व्यक्तिको माग पूरा गरेपछि बजारमा बेच्नको लागि पनि उनले बुट्टादार करुवाको पठाए । त्यसबेला बुट्टादार करुवा धरानमा बढी खपत हुन थाल्यो । धरानबाटै अन्य क्षेत्रतिर पनि जान थालेको नन्दराज बताउँछन् । बुट्टादार करुवाको व्यावसायिक विस्तार नै टक्सारबाट सुरु भएको नन्दराज दाबी गर्छन् ।

पूर्वी पहाडमा सादा करुवाको लागि टक्सारभन्दा संखुवासभाको चैनपुर चर्चित थियो । त्यहाँ पनि बुट्टादार करुवाको सुरुवात भोजपुरपछि मात्रै भएको मानिन्छ । नन्दराज भन्छन्- ‘बुट्टादार करुवा व्यक्तिगत प्रयोजनका लागि एकदम थोरै मात्रामा बन्थे । तर व्यावसायिक रूपमा बनाउन थालेको त मैले नै हो ।’ ०४६ सालमा काठमाडौं आएर दुई वर्ष अघिसम्म उनले यही कामलाई निरन्तरता दिएका थिए ।

करुवामा राजारानी, बहुदलअघिको त्यो चर्चा

०३२ सालमा तत्कालीन राजा वीरेन्द्र धनकुटा गएका थिए । त्यसबेला राजा वीरेन्द्र समय समयमा धनकुटा आउजाउ गरिरहन्थे । त्यतिबेला दश जना शिल्पकारले सहकारी संस्था पनि गठन गरेका थिए । त्यही मौकामा टक्सार धातु उद्योग सहकारीका प्रतिनिधिहरु राजाको दर्शन भेटका लागि गए ।

उक्त समूहमा नन्दराज पनि सहभागी थिए । ०३२ सालमा राजा वीरेन्द्र धनकुटा जाँदा नन्दराजले राजाको ‘ब्लक’ चित्र अंकित करुवा बनाएर उपहार दिए । त्यस्तै अरू पनि करुवा बनाउन अनुमति मागे । राजाले मौखिक रूपमा अनुमति दिए ।

राजाको अनुमतिपछि उद्योग मन्त्रालयसँग पनि अनुमति माग गर्न नन्दराज काठमाडौं आए । उद्योग मन्त्रालयले नमूनाको लागि एक जोडी ल्याउन भन्यो । नन्दराजले टक्सारमा रहेका आफ्ना बुबा धनज्योतिलाई करुवा ल्याउन खबर पठाए ।

०३४ सालमा उनका बुबा करुवा ल्याउँदा ल्याउँदै काठमाडौंको एयरपोर्टमा पक्राउ परे । राजारानीको ‘ब्लक’ भएको करुवा सहित धनज्योतिलाई जिल्ला प्रहरी कार्यालयमा लगियो । धनज्योतिले सबै कुरा भनेपनि त्यो दिनभर थानामा राखियो । साँझ मात्रै छोडियो ।

उद्योग मन्त्रालयले मागेको नमूना जोडी करुवा जिल्ला प्रशासनमार्फत् मन्त्रालय पठाइएको थियो । त्यसको ६ महिनापछि उनले करुवा बनाउने स्वीकृति पाए । राजारानीको ‘ब्लक’ सहितको करुवा बनाउने अनुमति पाएपछि नन्दराजले टक्सार फर्केर राजारानीको ‘ब्लक’ भएको करुवा बनाउन थाले ।

राजारानीको ‘ब्लक’ भएको करुवा यति चर्चित बन्यो कि नन्दराजले माग थेग्न सकेनन् । त्यसपछि नन्दराजले अरूलाई पनि बनाउन लगाए । त्यसपछि उपहारका लागि, सेना, प्रहरी, सरकारी कार्यालयहरुमा, घरका कोठाहरुमा सजावटको मुख्य सामग्री बन्न पुग्यो, करुवा । देशभित्र मात्रै नभएर विदेशमा पनि उच्च माग भयो । ०४६ भन्दाअघि राजारानीको ब्लक भएको बुट्टेदार करुवाको माग बढ्न थाल्यो ।

०४६ सालको बहुदलको आन्दोलनले राजारानीको ब्लक भएको बुट्टेदार करुवाको माग घट्न थाल्यो । ०४८ सालसम्म आइपुग्दा अत्यन्त कम भएको यसको माग त्यसपछि बन्द भयो । त्यसपछि बुद्धका, विभिन्न मठ मन्दिरका ब्लक भएका करुवाहरु बढी चल्न थाल्यो ।

कसरी बन्छ ?

यसका लागि ढुंगामा खोपेर बुट्टा बनाउनुपर्छ । ढुंगाको बुट्टामा मैन टाँसेर फेरि निकालेर काट्दै सेप अनुसार बनाइएको मैनको भाँडामा एउटा एउटा गरेर टाँस्नुपर्छ ।

यसरी मैनको नमुना करुवा बनाउनुपर्छ । उक्त मैनको नमुना करुवा बनाएपछि दुई पटक गोबरमाटोले मोड्नुपर्छ ।
लेप सुकेपछि खस्रो धानको भुस र माटो मिसाएर दुई पटक फेरि मोड्नुपर्छ । त्यो सुकेपछि त्यसलाई पोल्नुपर्छ । रातो हुनेगरी पोलेपछि भित्रको मैन पग्लेर झर्छ।

त्यसपछि पगालेको धातुलाई माटोको भाँडा भित्र राखिन्छ । त्यसलाई पनि फेरि भट्टीमा पोलिन्छ । हजार डिग्री तापक्रममा पोलेर निकाल्दै सबैतिर टाँसिनेगरी घोप्टाएर राखिन्छ । त्यसपछि त्यो माटो फुटाएर निकालेपछि फेरि हातले बुट्टाहरु मिलाउने काम गरिन्छ ।

त्यसरी काम गर्दा करिब दुई महिना लाग्छ करुवालाई अन्तिम रुप दिनको लागि । यसरी बुट्टेदार करुवा बनाउन विभिन्न चरणमा काम गर्नुपर्छ । करुवा बनाउन धैर्य, लगन, कडा मेहनत गर्नुपर्छ । एकपटकमा २० देखि ५० थानसम्म बनाउन सकिन्छ ।

कहाँ पाइन्छ कच्चा पदार्थ ?

काँसबाट बुट्टेदार करुवा, थाल, डबका, कचौरा, पानस जस्ता सामग्री बनाइन्छ । काँस आफैंमा धातु होइनन् । काँस बनाउनको लागि राङ र तामा मिसाउनुपर्छ ।

काँस बनाउनको लागि आवश्यक राङ भारतबाट ल्याइन्थ्यो । तामा भोजपुरकै खानीले पनि केही समय पूर्ति गर्‍यो । पछि भारतबाट नै ल्याउनुपर्थ्यो ।

काँस बनाउँदा मात्रा मिलेन भने गुणस्तरहीन हुन्छ । गुणस्तरहीन काँस बन्यो भने ऐना फुटे जस्तै फुट्ने नन्दराज शाक्य बताउँछन् ।

पित्तल बनाउनको लागि जिंक र तामा मिसाउनुपर्छ ।

कमी छैन कच्चा पदार्थको

अहिले करुवा, थाल, कचौरालगायत काँसका सामग्री बनाउनको लागि आवश्यक कच्चा पदार्थको अभाव नभएको नन्दराज बताउँछन् । उनी भन्छन्- ‘अहिले कच्चा पदार्थको अभावभन्दा पनि निरन्तरताको कमीले करुवा संकटमा परेको छ ।’ पहिलाका पुराना भएका काँसहरूले नै नयाँ बनाउनका लागि पर्याप्त हुने उनको दाबी छ ।

बुट्टादार मात्रै नभएर समग्र पेसा नै संकटमा पर्ने जोखिम बढेको कालीगढहरु बताउँछन् । कुनैबेला टक्सारमा बनेका भाँडाकुँडा नेपाल लगायत भारतको दार्जिलिङ, कालेम्पोङ, सिक्किमसम्म निर्यात हुन्थ्यो ।

टक्सारमा उत्पादित काँस, तामा, पित्तलका थाल, गाग्री, ओम्खरा, सादा करुवा, डबका, कचौरा, फोसी लगायतका भाँडाकुँडा आकर्षक र गुणस्तर हुने मानिन्छ । काँसको काम शाक्य परिवारले र तामा पित्तलको काम ताम्राकारले गर्दै आएका छन् ।

पेसाको पुनर्जीवन कसरी ?

अनुभवी कालीगढहरु करुवा, थाल, डबका, कचौरा, पानस, वाइन ग्लास उत्पादन बढाउनको लागि नयाँ पुस्तालाई प्रशिक्षण दिएर उद्योग सञ्चालनका लागि अनुदान दिनुपर्ने बताउँछन् ।

यो शिल्पकला शाक्य परिवारबाहेकका इच्छुक युवालाई पनि सिकाउने र सिक्नको लागि प्रेरित गर्नुपर्ने कालीगढ नन्दराज शाक्य बताउँछन् । उनी भन्छन्- ‘मैले त यसो गरौं भनेर टक्सार महोत्सवको बेला साना उद्योगमा प्रस्ताव गरेको थिएँ ।’ यदि त्यस्तो आयोजना भए आफू दुई वर्षसम्म बसेर सिकाउन तयार भएको बताउँछन् ।

फेरि उद्योग ब्युँताउन र नयाँ पुस्तालाई आकषिर्त गर्नको लागि केही नयाँ प्रविधि पनि अपनाउनुपर्ने कालीगढ विमल शाक्यको बुझाइ छ । उनी भन्छन्- ‘नयाँ पुस्तालाई तालिम दिनुका साथै यसलाई सहज बनाउनको लागि मैन, कोइलाको विकल्प पनि ल्याउनुपर्छ ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP