विजयनगरकी कक्षा ६ मा अध्ययनरत अख्तरुन शाह ‘ताप’ को पाठ पढिरहेकी थिइन् । ताप भनेको के हो ? यसले वातावरणमा के असर पार्छजस्ता विषयको ज्ञान पाउँदैछिन् । विज्ञान विषयबारे फुट्टि थाहा नभएकी शाहले मदरसामा विज्ञान तथा वातावारण केही थाहा पाइनन् । मदरसामा विज्ञान र गणित विषय पढाइ हुन्न । सुरुदेखि नै मदरसामा पढेकी उनले अहिले सामुदायिक विद्यालयमा आएपछि गणित विज्ञान विषय देखेकी छिन् । उनको अरु विषयमा भन्दा गणित र बिज्ञान विषयमा ध्यान केन्द्रित छ । यि विषयहरु छन् भन्ने सुनेको भएपनि पढन नपाएको विषयहरु पढ्न पाउँदा अहिले बेग्लै खुसी छिन् ।
आफ्ना दिदीहरु तथा अन्य साथी हरूको अवस्था देख्दा शाह लाई निकै चिन्ता थियो । न परिवारलाई भन्न सक्ने, न त आफूले निर्णय नै लिन सक्ने । यो जटिल समस्याबाट उनलाई उडान कक्षाले पार लगायो । गणेशपुरमा रहेको मदरसा अहिले सुन्नत फैजाने गैसीयामा कक्षा दुईमा अध्ययनरत शाहको अब उच्चशिक्षा पढ्ने सपना पूरा हुने भएको छ । उच्च शिक्षासम्म पढेर जागिर खाने इच्छा सावित हुनेमा उनी ढुक्क छिन् । हाम्रो समुदायका दिदी बहिनी पढ्न छोडेर घरको काम गर्ने गरेको देखेकी छु, मेरो पनि त्यही हालत होला भन्ने लागेको थियो, शाहले भनिन्, ‘अब भने पक्कै पनि पछि केही गर्छु ।’
कक्षामै उत्कृष्ट अङ्क ल्याउने शाहले दुई कक्षासम्म मदरसा र १ वर्ष उडान कक्षामा सहभागी भएपछि कक्षा ६ भर्ना भएकी हुन् । अहिले उनलाई परिवारले समेत साथ दिइरहेको छ । छोरीको पढ्ने इच्छा पूरा हुँदा बुवाआमा खुसी छन् । शाहमात्र होइन, मदरसामा अध्ययन गर्ने बालबालिका विज्ञान र गणित विषय नहुँदा ती विषय पढ्न वञ्चित छन् ।
देशभर लगभग ३ हजारभन्दा बढी मदरसा छन् । झन्डै ९० प्रतिशत मुस्लिम बालबालिका मदरसा पढ्छन् । मदरसामा जेनतेन कक्षा ४ सम्म अध्यापन हुने र त्यसपछिको पढाइ पूर्णबिराम लाग्छ । मदरसालाई उच्च शिक्षाको अनुमति नहुँदा सो समुदायका किशोरी पढाइ अघि बढाउन सक्दैनन् । उनीहरलाई मदरसाबाहेक अन्य विद्यालय पठाउन अभिभावक मान्दैनन् । अझ त्यसमा पनि अन्य समुदायका पुरुषले पढाउने कक्षामा जानु भनेको त झनै ठूलो कुरा हो । विद्यालयको पढाइ छोडेका तथा विद्यालय नगएका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई सिद्धार्थ सामाजिक विकास केन्द्र र गाउँपालिकाले उडान कक्षा सञ्चालन ग¥यो । २०७६ सालबाट सञ्चालनमा ल्याएको अडान कक्षामा १७५ दलित तथा मुस्लिम समुदायका किशोरी सहभागी छन् । यसैको कारण सय जना मुस्लिम किशोरीलाई पुनः विद्यालय भर्ना गराउन सफल भएको हो ।
सोही गाउँकी दुर्गावती कहारको उमेर अहिले १५ वर्ष भयो । उडान कक्षामा सहभागी भएपछि उनलाई घर नजिकैको रामलौटन द्रोपती देवी माध्यमिक विद्यालयमा कक्षा ४ मा भर्ना गरियो । कहारले कक्षा दुईमा पढ्दापढ्दै २०७२ मा छोडेकी थिइन् । तीन वर्षसम्म घरको काम गरेर दैनिकी बित्यो । बाख्रा हेर्ने उनको मुख्य जिम्मा थियो । उनका तीन दाजुभाइ भने विद्यालय जान्थे । उडान कक्षा सञ्चालन आएपछि उनलाई त्यहाँ भर्ना गरियो । गाउँपालिकाले घरघर पुगेर विद्यार्थी खोज्न थालेपछि अभिभावकले विद्यालय नपठाई सुखै पाएनन् । अहिले कहार दैनिक विद्यालय आउजाउ र होमवर्क गर्न भ्याइनभ्याई छ । उनका बुवा रामसुरत लोहारले चेतना कमीका कारण छोरीको पढाइ छुटाएको महसुस गर्दैछन् । छोरीलाई पढाएर कुनै फाइदा नहुने भन्दै घरको काम गर्न आमालाई सघाए सहयोग हुने सोचले पढाइ छुटाएको बताउँछन् । ज्ञान नहुँदा छुटाएको हुँ, अबको जमाना छोरी पढाउनुपर्दो रहेछ, लोहार भन्छन्, ‘हामी जस्तालाई पढाउन मन भए पनि आर्थिक अवस्थाका कारण सक्दैनौं ।’
यता माया लोहारका दुई दिदीहरु कक्षा ५ सम्ममात्र पढेर छाडे । २०÷२२ वर्ष उमेरका उनका दिदीहरुलाई पढेर केही नहुने भन्दै परिवार अब विवाह गरि दिने सोचमा छन् । मायाले पनि कक्षा तीनमै पढाइ छोडेकी हुन् । उडान कक्षा सञ्चालनपछि एक वर्षसम्म यही पढिन् । अहिले कक्षा ६ मा अध्ययन गरिरहेकी उनको शिक्षिका बन्ने इच्छा छ ।
रूढिवादी परम्पराबाट हुर्किएका अधिकांश अभिभावकले किशोरीहरूलाई विद्यालय भर्ना गर्न अनिच्छुक हुन्छन् । पछिल्लो समय भने अभिभावकमा केही चेतना आएको स्थानीय रामलौटन द्रोपती देवी माविका शिक्षक श्यामप्रकाश चौधरीको बुझाइ छ । छोरीप्रतिको व्यवहार मधेसी समुदायमा धेरै पुरानो हो । छोरीलाई पढाउनभन्दा छिटोछरितो बिहे गरेर पठाउनु यहाँको चलन छ । अझ त्यसमा पनि दाइजोले जरा गाडेको समुदायमा छोरी जन्मिएपछि पढाउनुभन्दा पनि दाइजो कति दिने भन्ने चर्चा हुन्छ । शिक्षक चौधरीका अनुसार मुस्लिम तथा दलित समुदायका बालिकालाई विद्यालय भर्ना गरे पनि टिकाउन नसक्ने समस्या छ । अभिभावकहरूमा छोरीको पढाइबारे चिन्ता हुँदैन, सुरुदेखि नै घरको चुलो चौको गर्ने र बिहे गरेर पठाउने जात भनिन्छ, चौधरी भन्छन्, ‘पछिल्लो समय केही सुधार आयो, कतिपय अभिभावक छोरीलाई नपढाएकोमा पश्चाताप मानेका छन् ।’
प्रतिशिक्षक २५ जना बालिका पढाउने गरी उडान कक्षा सञ्चालन भएको हो । एक वर्षसम्म चलेको उडान कक्षामा सहभागी विद्यार्थीलाई अहिले पायक गर्ने विद्यालय भर्ना गरिएको छ । पालिकाभित्रका ४ स्थानमा ७ जना शिक्षकले अध्यापन गराउने गरी उडान कक्षा थालिएको थियो । त्रिनेत्र आधारभूत विद्यालय, रामलौटन द्रोपती देवी मावि, जनज्योति मावि र एक मदरसामा उडान कक्षा सञ्चालन गरिएको सिद्धार्थ सामाजिक विकास केन्द्रका सुपरभाइजर तापस मिश्रले बताए ।
गाउँपालिकाले बालिकालाई शिक्षाको पहुँचमा ल्याउन साइकल, विद्यालय पोसाक, झोला, कपीकलमलगायत शैक्षिक सामग्री सहयोग गर्छ । कक्षा ५ अध्ययनपछि अधिकांशले विद्यालय छोड्ने समस्या भएपछि कक्षा ६ मा भर्ना हुने सबै बालिकालाई उक्त सामग्री दिन थालिएको हो । यो कार्यक्रमले पनि बालिकालाई विद्यालयप्रति आकर्षण बढ्ने र अभिभावकले पनि पढाउन ईच्छुक रहने देखिएको शिक्षा शाखा प्रमुख हरिहर बेल्वासेको भनाइ छ । यस वर्ष उडान कक्षा सञ्चालन नभए पनि बालिकाहरुलाई विद्यालयप्रति आकर्षण बढाउन शैक्षिक सामग्री विरतणलाई निरन्तरता दिएको बेल्वासेले बताउनुभयो । वडा न ७ का अध्यक्ष दिनेश चौधरीले वडाका सबै घर पुगेर छोरी पढाउन अभिभावकलाई आग्रह गरेको बताए । हामी सबै घरमा पुगेर विद्यालय शिक्षामा जोड दिएका छौं । ‘प्रत्येक वर्ष बालिकाको सख्या बढ्दो छ, चौधरी भन्छन्, नागरिकहरूमा चेतना नहुँदा सारै समस्या हुँदोरहेछ, विद्यालय गएपछि तल्लो जात तथा भागेर बिहे गर्छन् भन्ने डर छ । यो सबै शिक्षाको अभावले भएको हो ।’
वडा नं. ५ का अध्यक्ष अनवर मुसलमानले मदरसापछि बालिकाको भविष्य के हुन्छ भन्ने मुस्लिम समुदायमा अन्योल छ । ‘यस समुदायका नागरिकले सामुदायिक विद्यालयमा छोरी पढाउन मान्दैनन् मदरसामा विषय र शिक्षकको समस्या छ, मुसलमान भन्छन्, ‘समाजले कुरा काट्ने डरले पनि छोरी पढ्नबाट वञ्चित हुनुपरेको छ ।’
अहिले विजयनगर गाउँपालिकामा १९ वटा मदरसा चालू छन् । अधिकांशमा १ देखि ४ सम्म पढाइ हुन्छ । यसमध्ये एउटा मदरसामा भने कक्षा ६ सम्म पढाइ हुने गरेको छ । मौलानाहरुले जेनतेन पढाइरहेका छन् । गाउँपालिकाले मदरसाको भौतिक संरचना निर्माणमा ध्यान दिँदा सहज भएको मुस्लिम अगुवाको भनाइ छ । मदरसामा पढ्ने विद्यार्थीमध्ये किशोरीको संख्या बढी छ । १२९५ छात्र र १६३६ जना छात्राले अहिले मदरसामा अध्ययन गरिरहेका छन् ।
पाँच वर्षे अवधिमा पढाइ छोडेका मुस्लिम तथा दलित किशोरीलाई पुनःविद्यालय फर्काउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताए । ‘उडान कक्षाले धेरै सहज भयो, बालिकाहरूलाई अध्यापन गराउन पालिकाले विभिन्न कसरत गरिरहेको छ,’ थापाले भने, ‘विद्यार्थीलाई मात्र नभई अभिभावकलाई सचेत बनाउन जरुरी छ ।’ विद्यालय भर्ना भएका किशोरीले पढाइ छोड्छन् कि भन्ने चिन्ता रहेको अध्यक्षको भनाइ छ । मुख्य समस्या दलित र मुस्लिम समुदायका बालिकामा रहेकाले निगरानी गरी समयसमयमा अभिभावकसँग समन्वय गरिनुपर्ने अध्यक्षको तर्क छ ।
माधव बेल्वासे, कपिलवस्तु
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया