‘अपमानजनक’ नाम सच्चियाे, अब फणिन्द्र बादी

दैलेख – नागरिकतामा लेखिएको अपमानजनक सच्याइदिन दिएको निवेदनअनुसार जिल्ला प्रशासन कार्यालय दैलेखले आइतवार दुल्लु नगरपालिका १ दुल्लु बजारका ३९ वर्षीय फणिन्द्र बादीलाई सच्याएर प्रतिलिपि दिएको छ ।

त्यस बेला नागरिकतामा अपमानजनक नाम नराखिदिन आग्रह गर्दासमेत सुनुवाइ नभएकाे बादीले बताउनुभयाे । तत्कालीन दुल्लु गाविसका सचिव डिलबहादुर थापाले गरेको सिफारिसका आधारमा नागरिकतामा ‘फ्याउरो बादी’ लेखिएको उहाँको भनाइ छ । तत्कालीन प्रमुख जिल्ला अधिकारी टेकराज ज्ञवालीले प्रमाणित गर्नुभएको नागरिकता २०६० जेठ ९ गते जारी भएको थियो ।

गएकाे महिनामात्र भगवतीमाई गाउँपालिका–३ मेहेलतोलीका ६२ वर्षीय कविराम कामीको नागरिकतामा पनि यस्तै अपमानजनक नाम रहेको भन्ने समाचार सार्वजनिक भएपछि यस्ता नाम सच्याउनुपर्ने बहस चलेको थियो । आम सञ्चारमाध्यम र संसदमा समेत अपमानजनक नाम सच्याउन दबाब परेपछि गएकाे साउन २३ गते अपमानजनक नाममा नागरिकता जारी नगर्न र पहिले जारी भएका नागरिकता सच्याउन चाहेमा सच्याइदिन गृह मन्त्रालयले परिपत्र गरेपछि फणिन्द्र बादीले अहिले नाम परिवर्तन गराउनुभएको हो ।

बादीलाई गाउँका समूहमा नाम राख्दा, मतदान गर्न र बैंकमा खाता खोल्नेजस्ता काममा नागरिकता देखाउन उहाँलाई गाह्रो लाग्थ्यो । ‘नागरिकतामै फ्याउरो बादी लेखिएको कारण जिस्काउनलाई पनि चिया पसल र चौतारामा नाम सोध्थे, म भन्थेँ अनि सबै गलल हाँस्थे’, फणिन्द्रले भन्नुभयो, ‘अब त जसले सोधे पनि निर्धक्क फणिन्द्र बादी भन्छु ।’

गृह मन्त्रालयको परिपत्रअनुसार पहिले लेखिएको अपमानजनक नामको ठाउँमा ‘फणिन्द्र बादी’ लेखिएकाे छ । ठेगाना, नागरिकता नम्बर, बाबुको नाम, नागरिकता जारी भएको मिति सबै पुरानै कायम गरेर नागरिकताको प्रतिलिपि दिइएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताउनुभयो ।

नागरिकतामा अपमानजनक नाम सच्याउन गृह मन्त्रालयको परिपत्रअनुसार देशभरमै पहिलो पटक जिल्ला प्रशासन कार्यालय दैलेखले २०७९ भदौ ५ गते एकै दिन दुई जना (भगवतीमाई गाउँपालिका ३ का ६२ वर्षीय कविराम कामी र भगवतीमाई गाउँपालिका ५ कट्टीका ४४ वर्षीय कर्णबहादुर विक) लाई पहिले लिएको नागरिकतामा लेखिएको अपमानजनक नामको सट्टा सच्याएर दिएको थियो ।

फणिन्द्र बादी पुरानाे नागरिकतामा भएकाे अपमानजनक नाम सच्याएर प्रतिलिपि पाउने दैलेखको तेस्राे व्यक्ति भएको जिल्ला प्रशासन कार्यालय दैलेखका सूचना अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

परिपत्रअनुसार बाग्लुङकाे ताराखोला गाउँपालिका ४ तारागाउँकी ५६ वर्षीया सावित्री कामीलाई पनि नागरिकतामा भएकाे नाम सच्याएर प्रतिलिपि दिइएको थियो । २०७९ भदौ ६ गते बाग्लुङका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले प्रतिलिपि दिनुभएको थियो । दैलेखमा तीन, बाग्लुङमा एक गरी देशभर अहिलेसम्म चार वटा नागरिकताका अपमानजनक नाम सच्याइएका छन् । 

नाम सच्याउनका लागि नागरिकतामा भएकाे नाम अपमानजनक भएको भनी आफू बसेको पालिकाको वडाको सिफारिस, सर्जिमिनसमेत नागरिकताको प्रतिलिपि अनुसूची फाराम, सक्कल नागरिकता र निवेदन लिएर जिल्ला प्रशाासन कार्यालय जानुपर्ने प्रक्रिया तोकिएको छ । त्यसपछि जिल्ला प्रशासन कार्यालयले प्रहरीमार्फत बुझ–विस्तार गरी प्रतिलिपि दिने गरिएको छ ।

अपमानजनक भएको भनिएको नागरिकताको प्रमाणपत्रमा उल्लेखित नामले सम्बन्धित व्यक्तिको विषयमा कुनै फौजदार कसुरमा मुद्दा चलेर फरार रहेको, कैद सजाय असुल गर्नुपर्ने वा यस्तै अघिल्लो नागरिकताअनुसार कुनै असुल उपर गर्नुपर्ने भए त्यसकाे दायित्वसमेत जाने गरी नाम सच्याउन सम्बन्धी परिपत्रको छुट्टै व्याख्या पठाइएको गृह मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका इन्चार्ज सहसचिव डा. भीष्मकुमार भुसालले बताउनुभयो ।

अपमानजनक नाम सच्याइसकेपछि श्रीमान्–श्रीमती, छोराछोरीसमेत परिवारजनको पनि कसरी बदल्ने भनी गृह मन्त्रालयले छुट्टै परिपत्र गरेको छ । त्यसअनुसार दैलेखमा कविराम कामीको एक छोराको नागरिकतामा बुबाको नाम कोलममा नयाँ सच्चिएको र कर्णबहादुर विकको श्रीमतीको नागरिकतामा पतिको नाम सच्याइएको छ ।

नागरिकता वाहकको नाम सच्याइसकेपछि मतदाता नामावली, बैंक खाता, राष्ट्रिय परिचपपत्र, राहदानीसमेत सबै ठाउँमा सच्याउने विधि र प्रक्रिया पनि गृहको परिपत्रअनुसार भइसकेको जिल्ला प्रशासन कार्यालय दैलेखका सूचना अधिकारी कोइरालाले जानकारी दिनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP