आज सन्सार मुस्कुराउदै छ कि, रोइरहेको छ?

चित्र शर्मा


यो प्रस्न सोधौँ, आफैले आफैलाई अनि अरूलाई। झट्ट पढदा सोधीसक्नू भयो होला हैन र ?आफूलाई आफैले के सोच्नु हुन्छ ? मानव या दाानव ? मानिस खुसी हुन मानवीय चरीत्र भुल्नै पर्ने हो हामीले ? तपाईंले यो खुसिको लागी कतिलाई दुख दिनुभएको छ? आज म मानवको मुर्ति मात्र देख्छु तर मानव भित्रको मन देख्दिन। म टाउके विद्वानको समाजमा छु तर विवेक भएको समाजमा छैन । आज मानव छ तर मानवीयता भन्ने कुरा हराएको छ। मान्छेले प्रकृतिमा आफ्नो अस्तित्व गुमाउन खोजेको हो त ?

म आज आफुले पढेलेखेका कुरा सम्झन्छु ,शिक्षकले सिकाएका कुरा सम्झन्छु ,साथीहरूले सिकिरहेका कुरा सम्झिन्छु, आज मानिसको प्रवृत्ति देख्छु , मानिसको व्यवहार देख्छु मानिसको विचार देख्छु बिल्कुल आकास पातल फरक छ। मानिसले ज्ञान हासिल गर्दै गर्दा विवेक गुमाएको यथार्थ हजारौ प्रमाण छन समाजमा। मानिस पशु बराबर हुन आएको छ ।होइन र?

म पनि त एक मानिस हु , मसँग मस्तिष्क छ,मैले मस्तिष्कको सदुपयोग गरिन भने ,म र पशुमा के फरक हुनसक्छ र ?म एउटा फुल जस्तै हुँ, फक्रिन चाहन्छु, जहाँ पानीबिना म फक्रिन सक्दिन। म त एउटा पानीको ड्रम जस्तै हु‌ं , जसरी पानी बिना ड्रमको अस्तित्व छैन, त्यसरीनै बुद्धि , विवेक बिना मेरो अस्तित्व रहँदैन।
झट्ट हेर्दा मानिस निकै सुन्दर देखिन्छन् तर जब विचार र व्यवहारको कुरा आउँछन् तब मानिस दानव को रुपमा देखापर्छन् , आजको परिस्थिति यस्तै भन्छ होइन र? मानवता पाइएको भेटिन्छ र कतै?अवश्य पनि पाउन मुस्किल छ किनकि मानिसले मानवता गुमाइसकेको छ !

आज म कौशिमा हेर्दै, वर परको दृश्य हेरेर यी प्रश्नहरु आफूलाई सोध्ने गर्छु।जहाँ पनि घरैघर अनि हरेक छानामुनि ती स्वार्थी मानिस कति होलान् ? आफ्नै गृहमा नियाल्दा,धेरैभन्दा धेरै जीवहरूको आवास रहेको भेट्टाउँछु। साँच्चै म जनावरहरूको समाजमा आज छु जस्तो लाग्छ! किनकि प्रकृतिप्रेमी भन्ने मानवले घरको झ्याल, ढोका, टेबल जस्ता अन्य वस्तुहरूको प्रयोग गरेर प्रकृतिमाथि ठूलो हमला गरेको छ। वृक्षरोपण नाममा हजारौ रूखहरू काटिएको छ, प्रकृतिलाई नाङ्गो बनाई ठूलाठूला महल रोपिएको छ। त्यसैले हरियो वृक्ष विनाश गरी सुख्खा मैदानमा मानिस कतिदिन सम्म खुसी हुनसक्छ ?
के ती वृक्ष हरु मुस्कुराएका होलान्? विश्वको सुन्दरता र शोभा बढाउने ति हरिया लोभलाग्दो मनमोहक जंगल फडानी गरेर हामी कस्को भन्दा कस्को विशाल, समृद्ध घर बन्छ भनि प्रतिस्पर्धा गरिरहेका छौं? आफ्नो आयु आफैले घटाइरहेका छौं। दुई हात , दुई गाँस भए पुग्ने यो ज्यानलाई अरुको भन्दा ठूलो आवास किन चाहिएको छ? आखिरीमा हामी त खाली हात जाने होइन र ? अनि हामी स्वार्थी, लोभी नभए को हुनसक्छ ? हाम्रो यस्तो नकारात्मक कार्यले गर्दा आउने प्राकृतिक प्रकोप ( बाढि , पहिरो ) माथि हामी खनिन्छौं र प्रकृतिलाई दोष दिन्छौँ। दोषी प्रकृति कि हामी ?

त्यति मात्र कहाँ होर , यो संसारमा मानिसले मानिसलाई गन्न छोडिसकेका छन्। गोरा मात्र मानिस हौं भन्ने समाजमा हामी कसरी विवेकशील प्राणी हुनसक्छौं? सबै बराबर होइनम र? हामी धेरै पढेका विद्वान कसरी हुन सक्छौ ? यदि त्यस्तो हो भने के हामीले मानिस जन्मजातै आफ्नो रुप, बनावट लिएर आउदा फरक भएर जन्मिएको हुन्छ भन्ने कुरा किन पढेनम् त? अब देखि शिक्षा लिनु र दिनुमा केहि फरक भएन , काला,राता सेता अनुहार भएका हामी सबै आमाको कोखबाट यो विश्वमा प्रकट भएको हौ भन्ने कुरा के गलत हो ? कि रगत पनि फरक छ एउटै आमाका छोराछोरीमा पनि?
यत्तिकैमा रुकुमको घटनाका कुरा खेल्न थाल्छन्। ठकुरी हरुले विकलाई डुम, कामि भनी मारेको सुन्दा मानिसले मानिसलाई चिन्न छोडेको महसुस हुन्छ। मानिसले किन बिर्सिदै छ यो जगतमा महिला र पुरुषमात्र जात छन् भन्ने कुरा?
बाहुन ,मल्ल ठकुरी , बि.क, केबल एउटा समाजले जबर्जस्ती ओडाइदिएको नक्कली पहिचान मात्र हो, असली पहिचान त मानिस होइन र? एक्काइसौ शतब्दीमा आएर हामिले यही हो उपलब्धि प्राप्त गरेको ? मलाई लाग्छ कि नवराज को रगत निलो अनि सुस्मा मल्ल ठकुरीको रातो थियो ! होइन त? मानिसको मूल्य पशु बराबर पनि भएन। मानिसको निर्मम हत्या विरुद्ध लाग्नुपर्ने बुद्धिजीवी हरुले बाकसमा आफ्नो डिग्रीको प्रमाण-पत्र बन्द गरेका छन् । होइन भने किन भए त्यस्तो ज्यानमारा भेदभाव प्रति मौन ? खोइ त न्याय, खै त सजाय ? यस्तो तरिकाबाट हामीले खुसी समाजको कल्पना कसरीगर्न सक्छौं ?
आज मैले लिएको यो ज्ञान मेरो समाजले खराब भएको प्रमाणित गराइदिएको छ। किनकि आजभोलि अपराध गर्ने पाठशाला , अन्याय गर्ने अदालत बनिरहेका छन् हाम्रो समाजमा । कसरी मुस्कुराउन सकिन्छ होला यस्तो समाजमा जहाँ बाच्न दिइदैन,सम्बन्ध गास्न दिइदैन? आज अभिभावक नै अपराधी भएपछि कसले संरक्षण गर्छ र को सुरक्षा महसुस गर्नसक्छ र ? यस्तो मानवताहिन् , निच् क्रियाकलाप गर्दापनि हामी कहाँ हरायौ , एक जनालाइ बचाउन हजारौंले ज्यान गुमाउनुपर्ने ?
के मानिसमा मानवता हराएको हो ? के हामी बुद्धिजीवी, बिबेकशील प्राणीले भएको प्रवृत्ति पनि गुमाएका हौ? होइन भने सबैलाई बाँच्न देऊ, सबैलाई हाँस्न देऊ ।
सायद आज नयन भएर पनि दृष्टिविहीन जस्तै छु, ओठ भएर शब्द बिहिन छु र जाँगर भएर पनि पौरख विहिन भएको छु। म स्तव्ध छु, म विवेकशील प्राणी हो बन्न पनि लाज लागेको छ।म मुस्कुराउन सकिरहेको छैन। म मुस्कुराउन चाहन्छु। जबसम्म छुवाछुतको अन्त्य हुदैन तबसम्म कसैको मानब जगतको हित हुदैन .

    Tags: