६ असोज, संखुवासभा : संखुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युत गृहस्थल पुखुवाको काम २२ दिनदेखि ठप्प भएको छ।
अरुण तेस्रो प्रवेशमार्गको छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको मुआब्जा माग गरी पीडितले अनिश्चितकालीन रूपमा अरुण तेस्रोको विद्युत गृहस्थलको काम २२ दिनदेखि ठप्प पारेका हुन्।
जिल्ला प्रशासन कार्यालय संखुवासभामा गठित छुट मुआब्जा निर्धारण समितिले गत वैशाख २६ गते छयाङकुटी–दिदिङ सडक खण्डको प्रतिरोपनी ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो। हालसम्म पनि मुआब्जा नपाएपछि स्थानीयवासी आन्दोलित बनेका हुन्। अरुण तेस्रोको विद्युत् गृहस्थल पुखुवाको काम २२ दिनदेखि ठप्प रहेको अरुण प्रवेशमार्ग संघर्ष समितिका संयोजक जनीकुमार राईले बताए।
अरुण तेस्रो प्रवेशमार्ग मुआब्ज पीडित संघर्ष समितिले प्रवेश मार्गको छ्याङकुटी–दिदिङ पुखुवा सडक खण्डको २४ किलोमिटर क्षेत्रको मुआब्जा माग गर्दै आन्दोलनमा उत्रिएका हुन्। अरुण तेस्रो प्रवेश मार्गअन्तर्गत छ्याङकुटीदेखि पुखुवासम्म ४५४ रोपनी जग्गाको मुआब्जा प्राप्त गर्न बाँकी छ। प्रवेशमार्गको ४५४ रोपनीको जम्मा ५३ करोड ७४ लाख ५० हजार रुपैयाँ बजेट निकासीका लागि लगानी बोर्डलाई पत्राचार गरेको थियो।
मुआब्जा रकम जिल्ला प्रशासन कार्यालयको खातामा नआएसम्म आन्दोलन जारी रहने पीडितहरूको भनाइ छ। प्रवेशमार्गका पीडित परिवार मुआब्जा माग गर्दै विगत ७ वर्षदेखि स्थानीय आन्दोलित हुँदै आएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले असोज ५ गते विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षसँग आन्दोलन फिर्ता लिन अनुरोध गरेको छ।
पीडितहरूले कानुन बमोजिम प्राप्त गर्ने मुआब्जा सम्बन्धित निकाय र मन्त्रालयसँग छलफल भइरहेको समेत उल्लेख गरेको छ। असोज ४ गते नेपाल सरकारका मुख्य सचिवको अध्यक्षतामा अर्थ, गृह नापी लगायत विभिन्न मन्त्रालयका सचिवसँग मुआब्जा पीडितको माग सम्बोधन गर्ने छलफल भएको थियो।
आयोजना बन्द हुँदा करिब डेढ अर्ब रुपैयाँ नोक्सानी
अरुण तेस्रो निर्माण गरिरहेको भारतीय सतलज जलविद्युत् निगमसँगको आयोजना विकास सम्झौता (पिडिए) मा स्थानीयको अवरोधका कारण काम रोकिए दैनिक ८ करोड रुपैयाँ नेपाल सरकारले क्षतिपूर्ति ब्यहोर्नुपर्ने शर्त उल्लेख गरिएको छ। योपटक मात्र २२ दिन बन्द हुँदा डेढ अर्ब रुपैयाँभन्दा बढी राज्यलाई क्षति पुगिसकेको छ।
यसरी गरिएको बन्दको क्षतिपूर्ति आयोजनाबाट नेपाललाई प्राप्त हुने रोयल्टीबाट हिसाब मिलान गरेर मात्र नेपाललाई भुक्तानी दिनेछ। अरुण तेस्रो विद्युत् आयोजना निर्माण भारतीय कम्पनी सतलजले गरिरहेको छ।
अरुण तेस्रो विद्युत् आयोजनाको काम भारतीय कम्पनी सतलज एसजेभिएनले गरिरहेको छ। आयोजनाबाट नेपालले २१.९ प्रतिशत अर्थात् १९७ मेगावाट बिजुली निःशुल्क पाउनुका साथै रोयल्टी र अन्य कर गरी अर्बौं रुपैयाँ पाउनेछ।
आयोजना बनाउन १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। अरुण तेस्रो विद्युत् आयोजनामा नेपाली र भारतीय सहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया