घनश्याम भर
(विजयनगर) कपिलवस्तु, २६ जेठ ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा बाल बिबाह अन्त्य गर्नका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकारकाे महिला, बालबालिका तथा जेष्ठ मन्त्रालयकाे आयाेजना र विजयनगर गाउँपालिकाकाे समन्वयमा बाल बिबाह अन्त्यका लागि प्रदेश स्तरीय रणनीतिको कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको हाे ।
विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले बाल बिबाह अन्त्य गर्नका लागि शिक्षा र जनचेतनामूलक कार्यक्रममा जाेड दिएकाे बताएका छन् । उनले ‘छाेरी बचाउँ, छाेरी पढाउँ’ अभियान सञ्चालन गरेकाे बताउँदै पहिलो सन्तानकाे रुपमा छाेरीकाे जन्म भएमा १५ हजार रूपैयाँ गाउँपालिकाले छाेरीकाे नाममा बैंकमा साे रकम जम्मा गर्दै आएको बताए । यसले शिक्षालाई निरन्तरता र बाल बिबाह अन्त्य गर्न महत्त्वपूर्ण टेवा पुग्ने अध्यक्ष थापाकाे भनाई छ ।
कक्षा ९ र १० मा अध्ययन गर्ने बालबालिकालाई साइकल वितरण, दलित छाेरीलाई कक्षा १२ मा अध्ययन गर्न नि:शुल्क र कक्षा ६ मा अध्ययनरत विद्यार्थीका लागि प्राेत्साहन स्वरुप झाेलासहित शैक्षिक सामग्री समेत उपलब्ध गराउँदै आएकाे अध्यक्ष थापाले बताए । उनले धार्मिक र सामाजिक परम्परागत प्रथाले बाल बिबाह हुने गरेकाे बताउँदै यसकाे अन्त्यका लागि गाउँपालिकाले सम्बन्धित निकायसँग हातेमालो गर्दै अगाडी बढ्ने प्रतिबद्धतासमेेत जनाए ।
यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले बाल बिबाह अन्त्य गर्न याेजनाबद्ध रुपमा अगाडी बढ्न आवश्यक भएको बताएकी छन् । उनले बाल बिबाह न्यूनीकरणका लागि गाउँपालिकाले रणनीतिक ढंगले लाग्नुपर्नेमा जाेड दिइन् । गाउँपालिकाले कहाँ निर चुकेकाे छ ? प्रश्न गर्दै त्यसलाई राम्रोसँग बुझेर आवश्यक कदम चाल्दै बाल बिबाहलाई न्यूनीकरण सबैे सराेकारवाला लाग्नुपर्ने उपाध्यक्ष चाैधरीले जिकिर गरिन् ।
कार्यक्रममा किशोरकिशाेरी, महिला, प्रहरी, जनप्रतिनिधि लगायत सराेकारवालाहरुकाे सहभागिता थियोे । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकाे वरिष्ठ उप-सचिव शारदा बस्याल र पाेम नारायण पाैडेलले अभिमुखीकरणलाई सहजीकरण गरेका थिए । महिला निरीक्षक तथा कार्यक्रम संयाेजक कमला ज्ञवाली लगायतकाे उपस्थितिमा सामाजिक विकास मन्त्रालयकी कानून अधिकृत विजया सेडाईकाे सञ्चालनमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया