सुजता लिम्बू
विराटनगर : पछिल्लो समय कोशी प्रदेशमा फुटबल, भलिबल, क्रिकेट लगायतका खेलकुद प्रतियोगिताहरू नियमित आयोजना हुन थालेका छन्।
नियमित रुपमा प्रतियोगिता आयोजना हुँदा खेलकुद क्षेत्रका प्रतिभाहरूले नियमित रुपमा प्रतिभा तिखार्ने मौका त पाएका छन् नै, प्रदेशको खेल क्षेत्र पनि व्यस्त बन्दै गएको छ।
समय–समयमा यसरी जिल्लाहरूमा खेलकुद प्रतियोगिता हुन थालेसँगै युवामा खेलप्रति आकर्षण बढ्दै गएको छ। तर, अवसर सँगै चुनौती पनि व्यहोर्नुपर्ने हुँदा यो क्षेत्रबाट पलायन हुनेको संख्या पनि उत्तिकै छ।
आफ्नै देशमा केही गरौँ भन्ने सोच राख्ने युवा पुस्ताहरू आर्थिक पाटो सबल बनाउने उद्देश्यसहित विदेश पलायन हुन बाध्य छन्।
एक वर्ष अगाडि प्रदेश सरकारले आयोजना गरेको हाफ म्याराथन दौडमा भाग लिन भोजपुरबाट आएकी विनिता राई र जुही राईमा छुट्टै ऊर्जा र हौसला थियो।
उनीहरूको एउटै सपना थियो, म्याराथन खेलाडी ‘मिरा राई’ जस्तै बन्ने। त्यही सपना पूरा गर्ने हुटहुटीले उनीहरू भोजपुरको कुना कन्दरा, उकालो अनि ओरालोहरू छिचोल्दै दौडिरहनेसमेत बताएका थिए।
कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित हाफ म्याराथनमा हारेर पनि उनीहरूले सबैको मन जित्न सफल भएका थिए। भोजपुर रामप्रसाद राई गाउँपालिकाकी ११ वर्षीया विनिता राई र १० वर्षीया जुही राई दिदीभाइका छोरी हुन्।
त्यो समय कक्षा ६ मा अध्ययनरत उनीहरू यसअघि पनि जिल्लामा हुने म्याराथन प्रतियोगितामा सहभागी भइसकेको उनको दाइ प्रशान्त राईले बताए। ठूलो भएपछि धाविका बन्ने सपना देखेका दुई दिदीबहिनी दुर्गम भूगोलमा सुगम सपना प्राप्त गर्ने अठोटसहित मेहनत गरिरहेकै हुन्छन्।
प्रदेश सरकारले आयोजना गरेको कार्यक्रमले पहाडको अप्ठयारो भूगोलमा सपना पछ्याइरहेका उनीहरूले विराटनगरको समतल शहरको रोडमा कुद्ने अवसर मिलेको खुशी व्यक्त गरेका थिए।
तर, सरकारले पहाडी भेगका खेलाडीहरूको सम्भावनालाई कमै प्राथमिकतामा राख्ने गरेको समेत उनले दुखेसो पोखे। अक्सर आफ्नै व्यक्तिगत खर्चले प्रतियोगितामा सहभागी हुन जिल्लाका विभिन्न ठाउँमा पुगेको बताउने प्रशान्त यस क्षेत्रलाई स्थानीय र प्रदेश सरकारले चासो दिन जरुरी रहेको बताउँछन्। उनी पनि म्याराथन खेलाडी नै हुन्।
सरकारले यो खेलमा चासो राखे भोजपुरबाट थुप्रै सम्भावना बोकेको म्याराथन खेलाडी उत्पादन गर्न सकिने उनको भनाइ थियो।
उनी भन्छन्,‘कतिपय आर्थिक अभावका कारण पनि सम्भावना भएकाहरू यो क्षेत्रबाट पलायन भएर गाउँ छोडेर परदेशिएका पनि छन्।’
यता, मोरङ कटहरीका २७ वर्षीय रक्की राजवंशी उसु खेलाडी हुन्। उनी ०७० मा भएको लुम्बिनी च्याम्पियनसिपका गोल्ड मेडलिस्ट हुन्। विसं २०६८ सालमा १६ वर्षकै उमेरमा १९ औँ राष्ट्रिय खेलकुदमा तेस्रो स्थान ओगट्न सफल उनी सन् २०१४ मा दक्षिण कोरियामा हुने एसियाली खेलकुदको १७ औँ संस्करणमा पदकका दाबेदार मानिएका थिए।
आफ्नो देशलाई खेलको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर पाउँदा त्यो समय रक्कीको जीवनमा खुसीको कुनै सीमा थिएन तर त्यो खुशी धेरै दिन रहन पाएन।
अन्तर्राष्ट्रिय स्तरको खेलमा छानिएर पनि प्रशिक्षकको लापरबाहीका कारण सिंगो देशसँगै मोरङले पाएको एउटा स्वर्णिम अवसर गुमाउनुपर्दाको त्यो क्षण अझै उनको सम्झनामा ताजै छ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सफल हुनसक्ने र पदक ल्याउने सम्भावना भएका खेलाडी मोफसलबाट उत्पादन हुनसक्ने भए पनि अझै सबै कुरा काठमाडौं केन्द्रित भएकाले पनि खेल क्षेत्रमा जिल्लाको स्तर माथि उठ्न नसकेको उनी सुनाउँछन्।
भनेजस्तो प्रशिक्षक नहुनु, प्राविधिक कठिनाइ, खेलाडीलाई आवश्यक खेल सामग्री पर्याप्त नहुनु जिल्लामा रहेर खेल क्षेत्रमा भविष्य खोज्ने खेलाडीका लागि चुनौती रहेको उनी बताउँछन्।
राष्ट्रियस्तरमा खेल खेल्ने खेलाडीहरू खेल सकिएपछि के गर्ने? कहाँ जाने? भन्ने प्रश्नले नै सताउने गरेको बताउँदै उनले प्रशिक्षकहरू पनि काठमाण्डौ केन्द्रिकृत भएकाले जिल्लामा राम्रो सम्भावना भएका खेलाडीहरू खेल क्षेत्रबाट बाहिरिने गरेको समेत बताउँछन्।
जिल्लामा हुने खेल प्रतियोगितामा कम्तीमा जिल्लास्तरकै खेलाडीहरू उत्पादन गर्न प्रदेश सरकारले प्राथमिकतामा राख्नुपर्नेमा उनी जोड दिन्छन्।
‘जिल्लामा हुने राष्ट्रिय स्तरको खेलमा घरेलु टिम हुँदैन सबै बाहिरबाट मगाउनुपर्ने बाध्यताहरू छन्, यहीँ राम्रो प्रशिक्षक ल्याएर राम्रो खेलाडीहरू उत्पादन गर्न सकिन्छ,’ उनी भन्छन्,‘यो विषयमा प्रदेश सरकारले ध्यान दिनु जरुरी छ।’
भने जस्तो खेल मैदान नहुनु पनि एउटा चुनौती रहेको उनको भनाइ छ। खेलकुद क्षेत्रमा विकास गर्नु र खेलाडी विस्तार गर्नका निम्ति प्रदेश सरकारले विद्यालय स्तरमा एक-एकजना प्रशिक्षक नियुक्त गर्नुपर्नेमा समेत उनले जोड दिए।
खेलकुद क्षेत्रको विकासका लागि पहाडी क्षेत्र प्रदेश सरकारको नजरमा कम पर्ने गरेको खाँदबारी युथ क्लबका महासचिव सुरेन शाक्य बताउँछन्। तीन दशकदेखि खेलकुद क्षेत्रमा योगदान पुर्याउँदै आएको यो क्लबले जिल्लामा फुटबल, भलिबल विविध विधाका खेलकुदहरू खेलाउँदै आइरहेको छ।
गाउँमा व्यक्तिगत सहयोगमा फ्लड लाइट
कोशी प्रदेशको हिमाली जिल्ला संखुवासभा जिल्लाको धर्मदेवि नगरपालिकामा वैदेशिक रोजगारीमा गएको युवाहरूको आर्थिक सहयोगबाट फ्लड लाइट जडान गरेका छन्। रात्रिकालीन खेलका लागि सहज बनाउने उद्देश्यले स्थानीय युवाहरूको पहलमा जिल्लामा पहिलोपल्ट खेल मैदानमा फ्लड लाइट जडान गरिएको हो।
सदरमुकाम खाँदबारीभन्दा ५७ किलोमिटर दूरीमा रहेको सो स्थानमा खेलाडीहरूलाई हौसला बढाउनका लागि पनि परदेशमा रहेको स्थानीय युवाहरू साथै युवा स्वरोजगार कार्यक्रममार्फत करिब पाँच लाखको लागतमा लाइट जाडान गरिएको न्यू युवा क्लबका अध्यक्ष फडिन्द्र देवानले जानकारी दिए।
खेलकुद क्षेत्रलाई विकासको मार्गतर्फ लग्न सो क्षेत्रका युवाहरूलाई खेल क्षेत्रमा स्थापित गराउने उद्देश्यले स्थानीय सरकारले पनि सहयोग गर्दै आएको धर्मदेवी नगरपालिका ७ का वडाध्यक्ष नवीन जिमी बताउँछन्। युवाहरूको सहयकार्य र सहयोगमा सधैँ सहयात्री रहने उनले बताए।
यता, युवाहरूको खेलप्रतिको लगावमा तीनै तहको सरकारले चासो र प्राथमिकतामा राख्नुपर्ने त्यस क्षेत्रका खेलाडी बताउँछन्।
व्यक्तिगत खर्चले ग्रामीण क्षेत्रमा खलक्षेत्रको विकासको यात्रामा अगाडी बढ्न सकस हुने भएकाले पनि बजेट विनियोजन गर्दा तीनै तहको सरकारले खेलको विकास र खेलाडीहरूको वृद्धिमा सहयोग पुग्ने खालको योजना ल्याउनुपर्नेमा उनीहरूले जोड दिए।
खेलाडी र प्रशिक्षक उत्पादनमा लागिपरेको छौँ : बोर्ड
प्रदेश खेलकुद विकास बोर्डले भने दक्ष खेलाडी र प्रशिक्षक उत्पादन गर्नेतर्फ काम गरिरहेको दाबी गरेका छन्। बोर्डको अनुसार एथलेटिक्स खेललाई स्कुल तथा क्लब स्तरमा अनिवार्य गराउन पनि बोर्डले तयारी थालेको छ।
खेलकुद क्षेत्रमा निरन्तरता दिन नसकेका खेलाडी तथा प्रशिक्षकहरूलाई पुनः उक्त क्षेत्रमा संलग्न गराई स्वरोजगारका अवसरहरू सिर्जना गर्ने काममा बोर्डले अग्रसरता देखाएको समेत बोर्डको दाबी छ।
यस्तै, विराटनगर, इटहरी, धरान, भद्रपुर लगायत रङ्गशालाहरू बोर्डको स्थापना भएपछि स्तरोन्नति र चलायमान भएको बोर्डको दाबी छ।
खेलाडीलाई सम्मान
खेलकुद विकास बोर्डले २०७९ सालसम्म यस प्रदेशबाट अन्तर्राष्ट्रिय स्तरमा खेल्ने खेलाडीलाई सम्मान गरिएको छ। राष्ट्रिय खेलकुद परिषद्मार्फत विदेशमा खेल्न गएका साफ गेम, एसियन तथा ओलम्पिक गेममा सहभागी भएका ३१२ जना खेलाडीलाई सम्मान गरिएको प्रदेश खेलकुद विकास बोर्डले जनाएको छ।
तत्कालीन खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेको कार्यकालमा हरि खड्का, राजु शाक्य, सीता राई, दीपक सापकोटा लगायतका खेलाडीलाई सम्मान गरेका थिए।
त्यसो त प्रदेशमा खेलकुदको कुनै कार्यविधिसमेत बनेको छैन। जसले गर्दा बार्डको आफ्नौ नियममा खेलकुद चलायमान भइरहेको तत्कालीन सदस्य सचिव वाग्लेले बताएका थिए। प्रदेशका १४ वटै जिल्लालाई समेटेर असारको पहिलो साताबाट खेलकुद प्रतियोगिताहरू आयोजना गरिने प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले जानकारी दिए ।
केही प्रतियोगिता सञ्चालनका लागि सम्झौता भइसकेको र केही सम्झौताको चरणमा रहेको उनको भनाइ छ।
चालु आर्थिक वर्ष २०८०/०८१ मा प्रदेश खेलकुद विकास बोर्डमार्फत कार्यान्वयन हुने खेलकुदसम्बन्धी कार्यक्रममध्ये अधिकांशको कार्यतालिका र सञ्चालन मिति निर्धारण भइसकेको बस्नेतले बताए
उनका अनुसार प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता असार ३ देखि ७ गतेसम्म तेह्रथुममा सञ्चालन गरिने छ । कबड्डी प्रतियोगिता असार ७ देखि १० गतेसम्म मोरङमा, महिला फुटबल असार ८ देखि १३ गतेसम्म खोटाङमा, शरीरिक सुगठन असार १० देखि १२ गतेसम्म झापामा र भारोत्तोलन असार १३ देखि १५ गतेसम्म विराटनगरमा गर्ने तय भएको जानकारी सदस्यसचिव बस्नेतले दिए।
मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता मोरङमा, प्रदेशस्तरीय पौडी प्रतियोगिता सुनसरी र मोरङमा, महिला ‘सेल्फ डिफेन्स’ (आत्मरक्षा) तथा योगा प्रशिक्षण झापा, मोरङ र सुनसरीका तीनवटा विद्यालयमा तथा प्रदेशस्तरीय कुरास प्रतियोगिता आयोजना गर्ने तय भएको छ।
फरक क्षमता भएकाहरूका लागि पनि खेलकुद
फरक क्षमता (अपांगता) भएकाहरूले खेल्ने पारा खेलकुदमध्ये क्रिकेट र पौडी प्रतियोगिता विराटनगरमा तथा बास्केटबल धरानमा गरिने उनले जानकारी दिए।
पारा खेलकुद प्रतियोगिता सञ्चालनका लागि सम्झौता भइसकेको र मिति तय हुन बाँकी रहेको उनको भनाइ थियो। विभिन्न प्रतियोगिता आयोजनाका लागि १ करोड ६ लाख रुपैयाँ बजेट छुट्याइएको जानकारी उनले दिए।
त्यस्तै, प्रशिक्षक प्रशिक्षण तालिम मोरङ र तेह्रथुममा आयोजना गरिनेछ। तालिमका लागि २० लाख रूपैयाँ बजेट छुट्याइएको उनको भनाइ थियो। ‘कोशी प्रदेशमा खेलकुदका प्रतियोगितहरू केही समयदेखि रोकिएका थिए। ती सबै प्रतियोगिता असार दोस्रो साताभित्रमा सक्नेगरी तयारी थालिएको छ,’ उनले भने, ‘समयमै सम्पन्न गर्न नसकेका कारण अब ‘फास्ट ट्रयाक’बाट आयोजना गर्नुपर्ने अवस्था आएको छ । हतारहतार नगरे खेलकुदका लागि छुट्याइएको बजेट ‘फ्रिज’ भएर जान्छ ।’
कोशीको खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउँदै लैजाने योजना अनुरूप आगामी नीति तथा कार्यक्रममा महत्वकांक्षी योजनाहरू समेटिएको उनको भनाइ छ।
खेल क्षेत्रका लागि छुट्याइने आगामी बजेटलाई सही हिसाबले परिचालन गरिने उनको प्रतिबद्धता छ । संस्कृति, प्रकृति र भूगोलका आधारमा हुँदै आएका र लोप हुन लागेका खेलको संरक्षण गर्ने योजना रहेको उनले बताए। आगामी दिनमा राष्ट्रिय विभूतिका नामबाट समेत खेलकुदको आयोजना गरिने योजना रहेको उनको भनाइ थियो।
बजेटमा खेलकुद क्षेत्रलाई सम्बोधन गर्ने किसिमको बजेट निकासा गर्न पहल गर्ने कोशी प्रदेश सरकारका समाजक विकास मन्त्री पाँचकर्ण राईले बताए
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया