काठमाडौं : उपभोक्ता अधिकारकर्मीहरुले दैनिक उपभोग्य वस्तुको बिक्री वितरणमा उपभोक्ताहरुमाथि ठगी भइरहेको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन्।
बिहीवार राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उपभोक्ता अधिकारकर्मीहरुले दैनिक उपभोग्य वस्तुको बिक्री वितरणमा उपभोक्ताहरु चरम ठगीमा पर्दै आएका बताएका हुन्।
उनीहरुले बजार अनुगमन प्रभावकारी रुपमा गर्न नसक्दा अखाद्य वस्तुहरु उपभोक्ताको चुल्होसम्म पुग्ने अवस्था रहेको भन्दै बजार अनुगमनलाई प्रभावकारी बनाउन माग गरेका छन्। बैठकमा बोल्दै उपभोक्ता जागरण अभियान नेपालका अध्यक्ष कृष्णप्रसाद भण्डारीले नेपालको बजारको अवस्था डरलाग्दो भएको बताए।
उनले बजारमा म्याद गुज्रिएका अखाद्य वस्तुहरुको बिक्री वितरण भइरहेको बताए। अखाद्य वस्तुका कारण उपभोक्ताको स्वास्थ्यमा समेत असर परिरहेको उनको भनाइ छ।
उनले सामग्रीहरु चर्को मूल्यमा बिक्री वितरण भइरहेको र मिसावट पनि व्यापक रुपमा हुने गरेको बताए। त्यस्तै बिजुली, पानी र टेलिफोन लगायतका सेवाहरु नियमित नहुँदा नहुँदै पनि चर्को महशुल असुल गरिरहेको भन्दै यसतर्फ पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराए।
बैठकमा बोल्दै सुशासन महासंघ नेपालका अध्यक्ष ओम लामिछानेले स्थानीय निकायहरुले अनुगमन गर्नुपर्ने बताए। उनले बजार अनुगमन गर्ने कर्मचारी बढाउनुपर्ने बताए। उनले उपभोक्ता अदालत गठन तुरुन्तै गर्नुपर्ने बताए।
उनले साना–ठूला सबै पसलहरुलाई प्यानमा लानुपर्ने बताए। उनले दाल, चामल लगायतका खाद्य सामग्रीहरु बाहिर निर्यात नगरी देशमै भण्डारण गर्नुपर्ने बताए।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भारतको भन्सार बिन्दुबाट नआउने खाद्य सामग्रीहरु गैरकानूनी बाटोबाट आउने गरेको बताए। उनले गैरभन्सारबाट आउने सामग्रीहरुको मूल्यमा एकरुपता नहुने र मिसावट हुने हुँदा उपभोक्ताहरु ठगिएका बताए। उनले आपूर्ति व्यवस्थालाई सुदृढ पार्नुपर्नेमा जोड दिए।
उपभोक्ता हित संरक्षण मञ्च नेपालकि सचिव कुमारी खरेलले राज्यको संयन्त्रहरु सही रुपमा नचलेका कारणले बजार व्यवस्थित हुन नसकेको धारणा राखे। उनले राज्यका निकायहरुका बीचमा समन्वय हुन नसक्दा पनि उपभोक्ता मारमा परेका बताए।
उनले शिक्षा, स्वास्थ्य सेवा धेरै महँगो भएको भन्दै नागरिकले सहज रुपमा उपभोग गर्न नसक्ने अवस्था रहेको बताए।
सचिव खरेलले सरकारले बजार अनुगमनमा ध्यान पुर्याउनुपर्नेमा जोड दिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया