पर्वत : जिल्लाको जलजला गाउँपालिकाले विभिन्न चार प्रकारका नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवासहितका कामहरू सुरु गरेको छ।
गाउँपालिकामा रहेका दुई वटा एम्बुलेन्सलाई व्यवस्थित रूपमा सञ्चालन गर्न तथा तिनीहरूलाई गाउँपालिकामार्फत सञ्चालनमा ल्याउन लागिएको गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले बताए। गर्भवती तथा सुत्केरी, ज्येष्ठ नागरिक, विपन्न र अपाङ्गता भएकाहरूको लागि एम्बुलेन्स सेवा दिन सुरु गरिएको हो।
सबै वडाका गर्भवती र सुत्केरीलाई घरदेखि अस्पतालसम्म आउजाउ गर्नुपर्ने, स्थानीय स्वास्थ्य संस्थाको सिफारिसमा बाहिरी जिल्लाका अस्पतालमा आउजाउ गर्नुपर्ने, ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई आकस्मिक उपचारका लागि लैजानुपर्ने, घरमा आम्दानी गर्ने व्यक्ति नभएका विपन्न र गरिब तथा ‘क’ र ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र भएका गाउँपालिकावासीहरूले निःशुल्क एम्बुलेन्स सेवा पाउने छन्।
उनीहरूले सम्बन्धित वडाध्यक्षको सिफारिसमा यो सेवा प्राप्त गर्नेछन्। ‘उहाँहरू चार प्रकारका बाहेक आकस्मिक समस्यामा परेका अरू नागरिकलाई पनि समस्या परेको बेलामा हाम्रा एम्बुलेन्सहरूले सेवा प्रदान गर्नेछन्। कम्तीमा पनि नागरिक स्वस्थ हुनुपर्छ मान्यताका साथ यो काम थालेका हौँ’, गाउँपालिकाका अध्यक्ष आचार्य भन्छन्, ‘जसका लागि निःशुल्क एम्बुलेन्स भनेका छौँ उहाँँहरूले एक रुपैयाँ पनि तिर्नुपर्दैन। जनप्रतिनिधिको काम नागरिकको समस्यामा सँगै हुनु नै हो। हामी नागरिकमैत्री काममा प्रतिबद्ध छौँ।’
एम्बुलेन्स सेवालाई व्यवस्थित रूपमा सञ्चालन गर्नको लागि ‘एम्बुलेन्स सञ्चालन समिति’ निर्माण गरेर आर्थिक खाता सहितको अधिकार दिन लागिएको छ। जलजला गाउँपालिकाको भूगोल, नागरिकको आर्थिक अवस्था लगायतका कारण निःशुल्क सेवा दिनुपर्नेहरू धेरै रहेको र त्यसले एम्बुलेन्स सञ्चालनमा बाधा पुग्ने भएकोले आर्थिक सहयोगको आह्वान सहित निःशुल्क सेवा सञ्चालन गरिने गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्य बताउँछन्।
गाउँपालिकाले प्रदान गरेको सेवामा सघाउने वा सहकार्य गर्न मन लागेमा त्यस्ता व्यक्ति वा संस्थाले ‘एम्बुलेन्स सञ्चालन समिति’ को खातामा आर्थिक सहयोग गर्न सक्ने उनको भनाइ छ। नागरिकको आर्थिक अवस्था कमजोर रहँदा धेरैलाई निःशुल्क बोक्नुपर्ने, गाउँका बाटा कठिन हुनु, भूगोलको जोखिम लगायतका कारण पनि सक्नेहरूले नसक्नेहरूका लागि आर्थिक सहयोग गर्न अपिल गरिएको उपाध्यक्ष आचार्यले बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया