Trending
अन्तर्राष्ट्रिय पुटिन र राष्ट्रसंघका महासचिवबीच पर्सि भेट हुने राजनीति कर्णालीमा किसानका दु:ख उस्तै, एकीकृत कृषि प्रयोगशाला आफैँ बिरामी अन्तर्राष्ट्रिय रुसी ड्रोन खसालिरहेका ‘निडर’ युक्रेनी महिला अन्तर्राष्ट्रिय लेबनानी बैंक तथा वित्तीय संस्थामा इजरायलको आक्रमण आर्थिक चाडबाडको मौका छोपेर व्पापारीले बढाए खाने तेलमा अत्यधिक मूल्य आर्थिक सुन तोलाको १ लाख ६५ हजार ६ सय राजनीति जुम्ला पुगे प्रचण्ड खेल पाल्पाको पूर्वखोलामा डेढ लाख राशीको भलिबल प्रतियोगिता हुने समाज कावासोतीमा अनकण्टार भिरबाट जिप खस्‍यो अन्तर्राष्ट्रिय सुडानमा ३० लाखभन्दा बढी मानिस हैजाको जोखिममा

मनहरीका किसानको दूध बेच्ने जिम्मा गाउँपालिकाले लियो, १५–१५ दिनमा भुक्तानी

मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकाका दूग्ध उत्पादक किसानले अब गाउँपालिका कार्यालय मार्फत दूध बिक्री गर्ने भएका छन् ।

गाउँपालिकाको पशुपन्छी विकास शाखाका अनुसार अब किसानहरुले १ कात्तिक ०८१ बाट गाउँपालिकामार्फत दूध बिक्री गर्ने छन् ।

मनहरीका किसानहरुले यसअघि जिल्ला दुग्ध उत्पादक सहकारी संघ, मकवानपुरलाई दूध बिक्री गर्दै आएका थिए । जिल्ला संघले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान र निजी दुग्ध उद्योगहरुलाई बिक्री गर्दै आएको थियो ।

जिल्ला संघबाट दूध बिक्री गर्दा भुक्तानी लामो समयसम्म रोकिएको गुनासोपछि गाउँपालिकाले आफैं किसानबाट उत्पादित दूधको जिम्मा लिएको हो ।

मनहरीका ६ वटा दुग्ध सहकारीमा एक हजार ४०० जना दुग्ध उत्पादक किसान आवद्ध रहेको शाखाले जनाएको छ ।

१ नम्बर वडामा क्षितिज दुग्ध उत्पादक सहकारी संस्था, ३ नम्बर वडामा चुरियामाई महिला जीवन वातावरण स्वाबलम्बन बहुद्देश्यीय सहकारी संस्था, नमूना कृषक बहुउद्देश्यीय सहकारी संस्था र साना किसान सहकारी संस्था, ७ र ८ नम्बर वडा कार्य क्षेत्र भएको साना किसान सहकारी तथा ६ नम्बर वडामा संयुक्त जनजागृति दुग्ध उत्पादक सहकारी संस्था छन् ।

कृषकहरुले दुःख गरेर उत्पादन गरेको दूधको मूल्य समयमै नपाएको कारण गाउँपालिकाले नै यसको जिम्मा लिएको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती बताउँछन् ।
गत आार्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार यी ६ वटा सहकारीबाट वार्षिक २१ लाख ६५ हजार ६ सय ७ लिटर दूध उत्पादन भएको छ । दैनिक सरदर ६ हजारभन्दा बढी दूध उत्पादन हुने गरेको जनाइएको छ ।

गाउँपालिकाका पशुपन्छी शाखा प्रमुख डा. प्रदीप बर्तौलाले सहकारीमा आबद्ध किसानको मात्रै दूध खरिद गर्ने बताए । गाउँपालिकामा सहकारी बाहिरबाट आफ्नै तरिकाले दूध बिक्री गरिरहेका किसान पनि छन् ।

गाउँपालिकाले हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा अवस्थित हेटौंडा डेरी इण्डष्ट्रिज प्रालीसँग मंगलबार दूध खरिदबिक्रीका लागि सम्झौता गरेको छ । सम्झौतामा गाउँपालिका अध्यक्ष कालाखेती र उद्योगका महाप्रबन्धक उदयराज पण्डितले हस्ताक्षर गरेका छन् । गाउँपालिका केन्द्र रजैयाबाट हेटौंडा डेरी उद्योग करिब एक किलोमिटरको दुरीमा छ ।

सम्झौतामा दूधको गुणस्तरअनुसार मूल्य निर्धारण गरेर भुक्तानीको व्यवस्था गर्ने, भुक्तानीमा ढिलाइ भएमा उद्योग पक्षले तिर्नुपर्ने जरिवानालगायतको विषय समेटिएको छ ।

गाउँपालिकाले कृषकहरुलाई दूध बिक्री वापतको भुक्तानी १५–१५ दिनमा गर्ने सुनिश्चितता पनि गरेको गाउँपालिका अध्यक्ष तथा कृषि उपज संकलन तथा बिक्री सेवा केन्द्र संयोजक रञ्जन कालाखेतीले जानकारी दिए । ‘हामी अब कृषकसँग दूध खरिद गर्छौ, हामी नै डेरीलाई दूध बिक्री गरेर कृषकलाई आधा–आधा महिनामा भुक्तानी दिन्छौं,’ उनले भने ।

कृषकहरुले दुःख गरेर उत्पादन गरेको दूधको मूल्य समयमै नपाएको कारण गाउँपालिकाले नै यसको जिम्मा लिएको अध्यक्ष कालाखेती बताउँछन् । ‘दिनरात घाँसदाउरा गरेर कृषकले यति दुःखका साथ दूध उत्पादन गरेको हुन्छ । त्यसको पैसा उनीहरुले लामो समयसम्म पनि नपाउँदा स्थानीय सरकारले कृषकको दूधको जिम्मा लिनुपरेको हो,’ उनले सुनाए ।

कालाखेतीले कृषकहरुले अब दूधको भुक्तानीको विषयमा कुनै चिन्ता लिनु नपर्ने बताए । गाउँपालिका र कृषकबीच सम्झौता भएपछि ‘मिल्क होलिडे’को समस्या पनि नहुने अध्यक्ष कालाखेतीको दाबी छ । प्राकृतिक प्रकोप, महामारी, बन्द हड्तालबाहेक दशैंको तीन दिन र दीपावलीको दुई दिन दूध खरिदबिक्री बन्द हुने जनाइएको छ ।

मनहरी–३ हाँडिखोलास्थित चुरियामाई महिला जीवन वातावरण स्वाबलम्बन बहुद्देश्यीय सहकारीका अध्यक्ष अनिल पुडासैनीले गाउँपालिकासँगको सम्झौतापछि किसानहरु खुशी भएको प्रतिक्रिया दिए । दूधको भुक्तानी रोकिँदा तनावमा रहेका किसानलाई गाउँपालिकाको प्रतिबद्धताले आशा जगाएको उनले सुनाए ।

‘हामीले विश्वास गरेर गाउँपालिकासँग सम्झौता गरेका छौं । गाउँपालिकाले यसलाई निरन्तर अगाडि बढाउनुपर्छ,’ उनले भने । पुडासैनीले भुक्तानी नियमित भए मात्रै पनि किसानहरुको पलायन रोकिनेमा विश्वस्त भए । दूध बिक्री वापत्को रकम नपाउँदा मनहरीका धेरै किसान कृषि पेशाबाट पलायनको तरखरमा रहेको उनले बताए ।

पशुपन्छी शाखा प्रमुख डा. बर्तौलाले मनहरीका धेरै किसानको ३ देखि चार महिनासम्मको दूधको भुक्तानी अझै आउन बाँकी रहेको बताए । उनले हेटौंडा डेरी उद्योगले भुक्तानीमा ढिलाइ गरे पनि गाउँपालिकाले किसानलाई अग्रिम भुक्तानी दिने उल्लेख गरे । कृषि उपज संकलन तथा बिक्री सेवा केन्द्रबाट १५ दिनमा भुक्तानीको व्यवस्था हुने र उद्योगबाट महिना बितेपछि प्राप्त हुने रकम केन्द्रमा जम्मा हुने उनको भनाई छ ।

कसरी हुन्छ भुक्तानी ? समयमै नभए ०.५ प्रतिशत हर्जना

गाउँपालिका र हेटौंडा डेरीबीचको सम्झौतामा गुणस्तर कायम रहेको दूध मात्रै खरिद बिक्री हुने उल्लेख छ । तोकिएको न्युनतम गुणस्तर कायम नभए दूध खरिद नगरेमा वा फिर्ता गरेमा कुनै दाबी गर्न नपाइने जनाइएको छ ।

गाउँपालिका कार्यालय र दूध उद्योगबीच खरिदबिक्री सम्झौता भएको छ ।
सरकारी दररेटअनुसार नै खरिदबिक्री गरिने र सरकारले कच्चा दूधको मूल्य वृद्धि गरेमा गाउँपालिका र उद्योगबीच समझदारीमा मूल्य हेरफेर हुने उल्लेख छ । कच्चा दूधको ढुवानी सहकारीको दूध चिस्यान केन्द्रबाट चिसो भएको दूध उद्योगले नै गर्नेछ ।

दूधको ढुवानी गर्दा लाग्ने खर्च उद्योगले नै व्यहोर्नेछ । तातो दूधको हकमा भने गाउँपालिकाले उद्योगसम्म दूध ढुवानी गर्नेछ । तातो दूधको ढुवानी वापत उद्योगले १ रुपैयाँ तिर्नुपर्ने उल्लेख छ ।

गाउँपालिकाले बिक्री गरेको दूधको चलानी उद्योगलाई नियमित रुपमा उपलब्ध गराउने, गाउँपालिकाले हरेक महिनाको १५–१५ दिनको अवधिभरमा प्राप्त दूधको रसिदको विस्तृत विवरण उद्योगलाई पठाउनु पर्नेछ । उक्त विवरण उद्योग र गाउँपालिकाले पुनः रुजु गरिसकेपछि उद्योगले एक महिनाको एकमृष्ठ रकम भुक्तानी अर्को महिनाको ७ दिनभित्र गरिसक्नुपर्ने सम्झौता छ ।

भुक्तानीको अन्तिम समय अर्थात महिनाको पहिलो ७ दिन कटेमा उद्योगले गाउँपालिकालाई हर्जना स्वरुप कुल रकमको ०.५ प्रतिशतका दरले थप भुक्तानी गर्नुपर्ने पशुपन्छी विकास शाखा प्रमुख डा. बर्तौलाले जानकारी दिए ।

गाउँपालिका र उद्योगबीच २०८२ असार मसान्तसम्म सम्झौता लागु हुने जनाइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP