शिवराज अनलाइन
कृष्णनगर, ११साउन ।
कपिलवस्तुकाे कृष्णनगर नगरपालिका-९ बहादुरगञ्ज स्थित शिवराज अस्पतालले स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धितर्फ ऐतिहासिक फड्को मारेको छ । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र Nick Simons Institute (NSI) बीच सम्पन्न समझदारीपछि अस्पताल ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना (RHSSP) मा समावेश भएको हो ।
यस परियोजनासँगै शिवराज अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, आवश्यक स्वास्थ्य जनशक्ति व्यवस्थापन, नियमित शल्यक्रिया (अपरेसन) सेवा सञ्चालन तथा अस्पतालको समग्र व्यवस्थापन सुधारका लागि नयाँ चरण सुरु भएको छ । परियोजनाअन्तर्गत NSI ले विशेषज्ञ चिकित्सक, स्टाफ नर्स, परामेडिक्स तथा अन्य आवश्यक स्वास्थ्य जनशक्ति उपलब्ध गराउनुका साथै अस्पतालको सेवा व्यवस्थापन, उपचार प्रणाली, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि प्राविधिक सहयोग प्रदान गर्नेछ ।
यस उपलब्धिपछि शिवराज अस्पतालमा नियमित रूपमा शल्यक्रिया सेवा सञ्चालन हुनेछ । यसअघि सामान्यदेखि जटिल शल्यक्रियाका लागि बुटवल, भैरहवा, काठमाडौं लगायतका शहर धाउनुपर्ने बाध्यता अब क्रमशः हट्ने विश्वास छ । स्थानीय स्तरमै विशेषज्ञ चिकित्सकबाट परीक्षण, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध हुँदा बिरामी र उनका परिवारको आर्थिक, मानसिक तथा समयको भारसमेत कम हुने अपेक्षा गरिएको छ ।
कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहको निरन्तर पहल, समन्वय र नेतृत्वका कारण शिवराज अस्पताल यस महत्त्वपूर्ण परियोजनामा समावेश हुन सफल भएको बताइएको छ । स्थानीय नागरिकले आफ्नै क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले गरिएको प्रयासको सकारात्मक परिणामस्वरूप अस्पतालले नयाँ अवसर प्राप्त गरेको नगरपालिकाको भनाई छ ।
अस्पताल प्रशासनका अनुसार परियोजनाले अपरेसन सेवा मात्र होइन, अस्पतालको समग्र सेवा प्रणाली, व्यवस्थापन, पूर्वाधार, जनशक्ति र उपचार पद्धतिमा समेत व्यापक सुधार ल्याउनेछ । आधुनिक व्यवस्थापन, दक्ष जनशक्ति र नागरिकमैत्री सेवामार्फत शिवराज अस्पताललाई यस क्षेत्रकै नमुना सरकारी अस्पतालका रूपमा विकास गर्ने लक्ष्य लिइएको डा. दुर्गेश चाेधरीले जानकारी दिए ।
यस सहकार्यले कृष्णनगर नगरपालिका मात्र नभई आसपासका ग्रामीण तथा सीमावर्ती क्षेत्रका हजारौं नागरिकलाई आफ्नै क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । अस्पताल अब रेफर गर्ने केन्द्रमा मात्र सीमित नरही विशेषज्ञ उपचार उपलब्ध गराउने पहिलो रोजाइको सरकारी अस्पतालका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया