काठमाण्डाै – नेपालमा देखिएको ‘कोरोना भाइरस’ विश्वका अन्य देशमा देखिएकोजस्तो खतरनाक नभएको चिकित्सकहरुले बताएका छन् ।
शुक्रराज ट्रपिकल एण्ड सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले प्रारम्भिक अध्ययनबाट विश्वका अन्य देशमा देखिएजस्तो नेपालमा धेरे खतरा नभएको बताउनुभएको हो । अमेरिका लगायतका देशमा देखिएको समस्या जस्तो नेपालमा धेरै कम खतरा रहेको उहाँले बताउनुभयो ।
‘प्रारम्भिक नतिजामा चिन्ता गर्नुपर्ने विषय देखिएन् । हाम्रोमा यो रोगका विषयमा धेरैलाई जानकारी नभएकोले पनि चिन्ता बढेको हो कि’, उहाँले भन्नुभयो, ‘चीनमा अहिलेसम्म १७ जनाको मृत्यु भएको पुष्टि भएको छ । तर मृत्यु हुनेमा सबै ७० वर्षभन्दा माथिका र दीर्घरोगी छन् । बालबालिका र युवाहरुमा ज्यानै जानेगरी संक्रमण देखिएको छैन ।’
अस्पतालका अर्का चिकित्सक डा. वासुदेव पाण्डेले सुरुमा स्वाइनफ्लुको जस्तै रुघाखोकी लाग्ने, ज्वराे आउने र श्वासप्रश्वासमा समस्या देखिनेजस्ता लक्षण देखिनसक्ने बताउनुभयो । यी लक्षणहरु देखिएपनि चिन्ता लिनुपर्ने अवस्था नरहे पनि चेकअपका लागि अस्पताल जान उहाँले आग्रह गर्नुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चीनको वुहान प्रान्तबाट सुरुमा यो भाइरसको विस्तृत प्रकोप दर, यसका लक्षण र कति समयपछि असर गर्छ भन्ने कुराहरु अझै अध्ययनकै क्रममा रहेको बताउनुभयो । विश्वभर फैलिएको यो रोगका विषयमा धेरे प्रश्नहरु अनुत्तरित रहेको बताउनुहुँदै उहाँले नेपालमा फैलन सक्ने संक्रमणतर्फ मन्त्रालय सतर्क रहेको बताउनुभयो ।
नेपालमा एक जनामा संक्रमण भेटिएको र उनको सम्पर्कका अन्य व्यक्तिहरुको सूची तयार गरी सबैको अवस्थाका विषयमा जानकारी लिने काम भइरहेको उहाँले बताउनुभयो ।
चीनसँग जोडिएका नाकाहरु र त्रिभुवन विमानस्थलमा चीनबाट आउने सबैको स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको उहाँले जनाकारी दिनुभयो । कुनै व्यक्तिमा लक्षण देखिएमा शुक्रराज ट्रपिकल सेन्टर, पाटन अस्पताल लगायत अन्य नीजि तथा सरकारी अस्पतालमा उपचारको व्यवस्था गर्नेगरी मन्त्रालय अगाडि बढेको उहाँले बताउनुभयो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया