
जन आस्था
कपिलवस्तुको कृष्णनगर भन्सार यार्डभित्रै एक किशोरी बलात्कृत भएकी छन् । चौबिसै घण्टा सशस्त्र प्रहरी बल र भन्सार कार्यालयको समेत कडा सुरक्षा घेरा रहेको स्थानमा किशोरी बलात्कृतको समाचार बाहिरिएको छ ।
दार्चुला घर भएकी १६ वर्षीया किशोरी कृष्णनगर भन्सार यार्डभित्र अस्ति राति भारतीय ट्रक चालक कमलेश सिंहद्वारा बलात्कृत भएको भारतीय सुरक्षाकर्मीहरुले बताएका छन् । भारतीय सीमा सुरक्षा बलको बिओपी बढनी प्रमुख उमेश जाधवले पीडित किशोरीको अनुरोधमा चालकलाई पक्राउ गरेर भारतीय प्रहरीको जिम्मा लगाइएको बताए ।
भारतीय सुरक्षा स्रोतका अनुसार गैडाकोटस्थित गोर्खा बु्रअरीमा बियरको बोतल छोडेर फर्कंदै गरेको युपी ८३ टीटी ४०५९ नम्बरको ट्रकका चालकले किशोरीलाई चोरमाराबाट लगेको बताइन्छ । चन्द्रौटामा छाडिदिने भन्दै भारत कानपुर मेनपुरीका चालक कमलेश सिंहले अस्ति राति ११ बजे कृष्णनगर भन्सार यार्डमा पुर्याएको तथ्य खुलेको छ ।
उनले यार्डभित्रै रोकिएको ट्रकमा चालक सिंहले किशोरीलाई बलात्कार गरेका थिए । राति ३ बजेको समयमा किशोरी सीमानाबाट भारततर्फ आउँदै गरेको देखेपछि त्यहाँको एसएसबीले नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा उक्त घटनाबारे जानकारी भएको बताइन्छ । विओपी प्रमुख जाधवका अनुसार लगत्तै हिजो बिहान भारत प्रवेश गरेपछि उक्त गाडीसहित चालकलाई एसएसबीले लिएको हो । त्यसपछि उनलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ भने किशोरीलाई भारतीय एएचटीयु नामक सामाजिक संस्थाको जिम्मा लगाइएको छ ।
सशस्त्र प्रहरी पोष्ट कृष्णनगरको प्रमुख सुरक्षा घेरा तथा नेपाल प्रहरीको निगरानीसमेत रहेको संवेदनशील क्षेत्रमा किशोरी बलात्कृत हुनु, पीडित र पीडकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिनु नेपाली सुरक्षाकर्मीका लागि लज्जास्पद भएको कृष्णनगरबासी बताउँछन् । ‘यार्डमा २४ घण्टा सशस्त्र प्रहरीको सुरक्षा छ, दशगजामै नेपाल प्रहरीको लिंकगेट छ भने भन्सारले छुट्टै सेक्यूरीटी कम्पनीबाट सुरक्षा दिँदै आएको छ । यस्तोमा पनि कसरी बलात्कार भयो आफैंमा लज्जास्पद विषय हो,’ स्थानीय मुकेश शर्माले बताए ।
सशस्त्र प्रहरी कृष्णनगर प्रमुख डिएसपी अरुण कुमार सिंहले भन्सार यार्डमा २४ घण्टा नै फौज तैनाथ रहेको दाबी गरेका छन् । तर उनले घटनाबारे अनभिज्ञता प्रकट गरेका छन् । नेपाल प्रहरी लिंकगेट प्रमुख सई पोमबहादुर भुसालले समेत गेटमा तैनाथ प्रहरीले किशोरीलाई नदेखेको जिकिर गरे ।
कृष्णनगर भन्सार कार्यालयका प्रवक्ता अधिकृत लेखनाथ भट्टराईले घटनाबारे आश्चर्य व्यक्त गर्दै जानकारी नै नभएको बताए । ‘भन्सार क्षेत्रको सुरक्षा यहाँ तैनाथ सुरक्षाकर्मीको हो, हाम्रो आफ्नै सेक्यूरिटी गु्रप छ । कसरी यस्तो हुन गयो म बुझ्छु,’ भट्टराइले भने । सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई छलेर पीडित भारतीय एसएसबीको सम्पर्कमा पुग्नु र नेपालमा भएको उक्त घटना नेपाली सुरक्षा निकायलाई थाहा नहुनुमा गम्भीर लापरबाही देखिन्छ ।
पीडित युवती नेपाली नागरिक भएको र घटनास्थलसमेत नेपालभित्रै पर्ने भएकाले कूटनीतिक पहलबाट दुबै पक्षलाई नेपाल झिकाएर कानुनी कारबाही अगाडि बढाउनुपर्ने स्थानीयको माग छ । निकै ठूलो सुरक्षा घेराभित्रै भएको गम्भीर प्रकारको घटनाको छानबिन गर्दै लापरबाही गर्नेहरुमाथि कारबाही गर्न उनीहरुले आग्रह गरेका छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया