Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

फुटबल मैदान स्याहार्दै इलामेली

नमीन ढकाल

इलाम : क्लब ओएसिसको आयोजनामा गत फागनुमा इलाममा भएको महिला गोल्डकप खेल्न पहिलो पटक आउँदा नेपाली महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक अञ्जना राना मगर उत्साहित थिइन्।

२०७५ सालमा पहिलो पटक इलाम आउँदा सूर्योदय नगरपालिका कटेर नगएकी उनी इलाम सदरमुकाम पुग्दा रोमाञ्चित थिइन्। डाँडामा मिलेर बसेको बजारले उनको मन लोभ्याएको थियो। फुटबल खेलसँगै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आफ्ना ससुरा र सासुसँगै इलाम आएकी थिइन्। राष्ट्रिय अनुसन्धानका डिआइजी इन्द्रसिंह लामा र उनी श्रीमतीले बुहारीको खेल मैदानमा बसेर नै हेरे। त्यसपछि इलामेहरुको फुटबल क्रेजबाट मख्ख पर्दै काठमाडौँ फर्किए ।

इलाममा फ्यान्सहरुबाट पाएको सम्मानबाट अन्जना पनि उत्साहित देखिइन्। तर डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङ विरुद्ध त्रिभुवन आर्मीबाट गोलपोष्ट सम्हालेपछि अञ्जनाले पोष्ट म्याच कन्फ्रेन्समा मैदान बारेमा खिन्नता व्यक्त गरिन्। थाहाकर्मीसँग कुरा गर्दै भनिन्, ‘यत्रो फुटबल खेल्न थालेको ९-१० वर्षपछि इलाम आउन पाउँदा खुशी थियौँ। तर ग्राउण्डको अवस्था हेर्दा दु:ख लाग्यो। राम्रो रैनछ।’ त्यसअघि मंसिरमा इलाममा इलाम गोल्डकप आयोजना भएको थियो। त्यहाँ पनि राष्ट्रिय स्तरका खेलाडी र प्रशिक्षक सहभागी थिए। उपाधि विजेता न्युरोड टिम एनआरटीका प्रशिक्षक जीवन सिन्केमानले इलामको मैदानबारे मिश्रित प्रतिक्रिया दिएका थिए।

‘मैदान त्यति राम्रो त छैन् तर हामीसँग यतिको मैदान पनि छैन। कम्तीमा इलाममा ११ जना खेल्ने मैदान त छ।यतिमा सन्तुष्ट हुनुपर्छ’, महिला गोल्डकप खेल्न उपाधि विजेता एपीएफ क्लब प्रिति राईविना नै इलाम आएको थियो। तर इलामे दर्शकले मैदानमा प्रिति राई खोजेपछि आयोजक क्लब ओएसिस दबाबमा पर्‍यो। अन्तत: प्रिति मैदान उत्रिइन्।

इलाम आउनुअघि उनको शर्त थियो, फिजियो विवेक विक्रान्त अधिकारी पनि उनी संगै आउनुपर्छ। साफ च्याम्पियनसिप दौरानको ‘इन्जुरी रिकभरी’ का लागि रिह्याव गरिरहेकी प्रिति डिफेन्डर गीता राना सहित सेमिफाइनलमा इलामको मैदान उत्रिइन्। ‘इलामका दर्शकको अपार मायाको सम्मानको लागि इन्जुरीका वावजुद पनि मैदानमा उत्रिए। तर दर्शक जस्तै मात्र भए’, उनले भनिन् ‘ तपाईँहरू मैदान बाहिरको दर्शक र म मैदान भित्रको दर्शक।’ मैदानको अवस्था बारेमा खुलेर नबोलेपनि इन्जुरी बल्झिने समस्याका कारण प्रितिले खुलेर आफ्नो खेल देखाउन नसकेको इंगित गरिन् र फाइनलको पहिलो हाफ खेलेर काठमाडौँ उडिन्। इलाम सदरमुकाममा कुनै पनि प्रतियोगिता आयोजना गर्नुपर्दा नेपाली सेनाको टुँडिखेलको विकल्प छैन।

सेनाले कवाज खेल्न होस या रमाइलो मिनी मेला टुँडिखेल नै एक मात्र विकल्प। इलामको फुटबल आयोजनाको निर्विकल्प मैदान पनि हो। कडा मैदानलाई घाँसे मैदान बनाउने इलामका प्रयास नभएको हैन। माईभ्याली गोल्डकप हुँदा धेरै जसो खेलमा खेलाडी चोट लागेर मैदानबाट बाहिरिँदै गरेको दृश्य देखिन्थ्यो। त्यही दृश्यलाई मल्हम लगाउन माईभ्याली फुटबल क्लबले चौथो संस्करण अघि २५ लाख रुपैया खर्च गरेर मैदानमा दुबो रोप्ने कार्य गरेको थियो। तर केही समय लगतै ‘रमाइलो मेला’ का नाममा महिनौसम्म कार्यक्रम गरेपछि माईभ्यालीको लगानी बालुवामा पानी झै देखियो। मैदान पुनः पुरानै अवस्थामा फर्कियो ।

कोभिड संक्रमण शुरु भएपछि माईभ्याली गोल्डकपको अस्तित्व नै संकटमा पर्‍यो। ४ वर्षसम्म गोल्डकप प्रतियोगिता विहिन इलामको ठुलो टुँडिखेलमा रेडहर्स फुटबल क्ल्बले इलाम गोल्डकपको आयोजना गरेर फुटबलको माहोल फर्कायो। लगत्तै क्लब ओएसिसले महिला गोल्डकप र माईभ्यालीले अन्तर पालिका महिला फुटबल गरे।

जिल्ला फुटबल संघले २०८१ मा जिल्ला लिग आयोजना गर्‍यो। तर चार वटै प्रतियोगितामा सहभागी खेलाडीका लागि कडा मैदानमा खेल्न चुनौती थियो। खेलाडीको त्यही पीडा बुझेर अहिले क्लब ओएसिस र रेडहर्स फुटबल क्लबको अग्रसरता फेरि चौर बनाउने काम शुरु भएको छ। प्रतियोगिता आयोजनाबाट कमाएको नाफा र अन्य सहयोगी दातासँग मिलेर मैदान व्यवस्थापनको कार्य हुँदैछ। इलाम नगरपालिका र मैदानको स्वामित्व रहेको नेपाली सेनाको रणशार्दुल गणले प्राविधिक सहयोग गरिरहेको छ। श्रमदान अभियान चलाएर टुँडिखेलमा हरियाली बनाउने काम नै शुरु भएको छ।

विभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधि, सामाजिक अभियन्ता लगायतले साथ दिएका छन्। हरियाली फिरेपछि रमझम मेला आयोजना गरेर मैदान पुरानो अवस्थामा फर्किने त हैन भन्ने चिन्ता पनि सँगसँगै छ। तर मैदानलाई स्तरोन्नतिमा लागि रहेको क्लब ओएसिसका अध्यक्ष ध्रुव राई विगतका कमजोरीबाट सिकेर मैदान हरियो बनाउने कार्य सम्पन्न हुनेमा विश्वस्त छन्।

‘आर्मीसँग खेलकुद बाहक धार्मिक, राजनीतिक, मेला महोत्सव लगायतका कार्यमा मैदान प्रयोग गर्न नदिने भन्ने बारेमा सहमति भएको छ। अहिले पनि आर्मीसँगकै समन्वयमा स्तरोन्नति भइरहेको छ’, उनले भने ‘ मैदान तयार नभएसम्मका लागि वैकल्पिक मैदानको खोजी गरिहेका छौँ। अहिले माइखोलाबाट घोडे जातको दुबो प्रति ट्रयाक्टर १० हजारको दरले ल्याएर रोप्ने कार्य भइरहेको छ। २ महिनापछि गोल्डमेल गरेर मल हालेर उमारेपछि थप कार्य अघि बढ्छ ।’ राईले इलामेहरुको प्रतिष्ठाको विषय भएकाले सबै मिलेर मैदानको संरक्षणमा लाग्न आग्रह समेत गरे। उनले मैदान स्तरोन्नतिका लागि क्लबको ६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको बताए।दुवै क्लबले विगत १ महिनाबाट मैदानलाई स्तरीय बनाउन प्रयास गरिरहेका छन्।

इलामलाई खेलकुद पर्यटनको गन्तव्य बनाउन लाग्नेछु : सांसद नेम्वाङ

इलामको टुडिखेलको स्तरोन्नतिका लागि खेलकुदकर्मीहरुले कार्य सराहनीय रहेको भन्दै इलाम क्षेत्र नं २ का सांसद सुहाङ नेम्वाङ खुशी व्यक्त गर्छन्। ‘इलाम खेलकुदको अर्को पर्याय पनि हो।कला, साहित्य, पर्यटनसFगै इलाम खेलकुद पर्यटनमा जोडिएर आउँछ। निर्वाचित भएको १ वर्ष २ महिना बित्यो। त्यसअघिदेखि नै बुबा (स्व.सुवासचन्द्र नेम्वाङ) लाई इलामलाई खेलकुद पर्यटनको गन्तव्य बनाउनका लागि सल्लाह दिने गरेको थिए। ६ुँडिखेलमा नै रंगशाला बनाउने विचार पनि हो। नेपाली सेनाको स्वामित्व भएकोले केही प्राविधिक समस्या छ’, उनले भने, ‘अहिले खेलकुदकर्मी जुन हिसाबले लाग्नुभएको छ त्यसमा मेरो नैतिक समर्थन छ। फुटबल मैदान बनाउन २५ रोपनी भन्दा बढी जग्गा आवश्यक पर्छ त्यसका लागि इलाम नगरपालिकाको अतिरिक्त देउमाई र चुलाचुलीमा पनि जग्गा खोजिरहेका छौँ।’

उनले इलामलाई खेलकुदको ‘हब’ बनाउन बुबाले देखेको सपना साकार गर्न लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरे। ‘खेलकुद मन्त्रालय, अखिल नेपाल फुटबल संघ (एन्फा), प्रदेश सरकार र स्थानीय सरकारसँग पटक पटक छलफल भएको छ। खेलकुद मन्त्रालयबाट इलामलाई चासोमा साथ हेरिएको छ। इलामको खेलकुद विकासमा लगानी गर्न एन्फा र खेलकुद मन्त्रालयबाट सकारात्मक नै प्रतिक्रिया आएको छ।’

इलामको फुटबल इतिहास

इलाममा वि.सं. १९९० ताका नै फुटबल खेल भित्रिएको थियो। राणा र रैतीबीच भएको फुटबल खेलको किस्सा अहिले पनि इलामका अग्रजहरु सुनाउँछन्। इलाम सदरमुकामको मुख्य बजारको पुछारमा रहेको मैदानमा राणाकालमा खेल हुँदाहुँदै सम्पन्न भएन भने ‘पेट्रोमेक्स’ बालेर खेल जारी राखिन्थ्यो। राणा टिमभन्दा स्थानीय टिमले बढी गोल गरेको अवस्थामा रात परे पनि बत्ती बालेर खेल जारी राखिन्थ्यो। राणा टोली प्रतिस्पर्धी टिमभन्दा बढी गोल गर्न सफल हुन्थ्यो, अनि खेल सकिएको घोषणा गरिन्थ्यो।

१९३९ ताका श्रीनाथ पल्टन इलाम आएपछि हलगोरु नारेर बनाइएको मैदान नै अहिलेको ठूलो टुँडिखेल हो। त्यो वेला मैदान बनाउन पुरुषहरू गोरु नारेर काम गर्थे। महिलाहरूले भुटेको मकै र अरु खाजा खुवाउने गरेको अग्रजबाट सुनेको इलामका अगुवामध्येका धर्म गौतम बताउँछन्। २०१० सालतिर इलाममा तत्कालीन बडाहाकिम महावीर शमशेरका नाममा स्थापित ‘महावीर शिल्ड’, गजराज बुढाथोकी स्मृतिको ‘गजराज कप’, ज्ञानी भक्तराजका नामको ‘ज्ञानी मेमोरियल शिल्ड’ र कमल गजमेरका नाममा राखिएको ‘कमल शिल्ड’ प्रतियोगिता यही मैदानमा आयोजना भएका थिए।२०५० ताका भूकम्प पीडित कप आयोजना भएको इलाममा ७० को दशकमा भएको माईभ्याली गोल्डकप देशकै बढी दर्शक पाउने दोस्रो ठूलो प्रतियोगिता बन्यो।

२०४०-४५ सालताका इलामको फुटबलले निकै चर्चा कमाएको थियो। पुरुषतर्फ गणेश पाण्डे, धीरेन्द्र प्रधान, मंगेश बस्नेत, ध्रुव भक्तराज, धीरेन चेम्जोङ, दर्शन भक्तराज, हिमाल दाहाल, विनोद श्रेष्ठ लगायत रहेको इलामको बलियो फुटबल टोली थियो। यसैगरी, रमा सिंहको नेतृत्वमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीमा इलामका जुनु खड्का, संगीता राउत, शोभा राई र जमुना पाण्डे समावेश थिए।

ठूलो टुँडिखेलमा २०४३ मा राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना भएको थियो। त्यो वेला गण्डकीलाई २-० ले हराउँदै पहिलो बनेको मेचीको फुटबल टोलीमा १२ जना इलामेली खेलाडी थिए। इलाममा आयोजना भएको त्यो प्रतियोगिता नै पहिलो नेपाली महिला राष्ट्रिय टिम छनोटको मानक हो। पछिल्लो समय नेपाली राष्ट्रिय टोलीमा इलामकै लोकबन्धु गुरुङ, सुवास राई चर्चित बनेका थिए भने इलामकै नवयुग श्रेष्ठले पनि लोकप्रियता हासिल गरे।

यसैगरी, पछिल्लो पुस्ताका विवेक बस्नेत, छिरिङ गुरुङ, दर्शन गुरुङ, आयुष तिम्सिना लगायतले नेपाली जुनियर र सिनियर राष्ट्रिय टिमबाट खेले।यस्तै, इलामको सूर्योदय नगरपालिका–११ की एन्जिला तुम्वापो सुब्बाले नेपाली महिला राष्ट्रिय टिमको कप्तान आर्मब्याण्ड नै लगाइन्। सोही ठाउँकी संरचना प्रधानले नेपाल पुलिसबाट खेलिन्। सूर्योदय नगरपालिका-५ की रञ्जना दर्जीले २ वर्ष नेपाली राष्ट्रिय टिमबाट खेल्दै एपीएफ क्लबको कप्तानको भूमिका समेत निर्वाह गरिन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP