
यतिबेला कम्युनिष्ट पार्टीका नेताहरू एकता र विछोडमा छन् । कोही नेपाली कम्युनिष्ट पार्टीमा आबद्ध भएका छन् त कोही नेकपा एमालेमा समाहित भएका छन् । कोही भने नेकपा(माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादी) ले गरेको निर्णय लतारेर आफ्नै अभियान सञ्चालनमा लागेका छन् ।
माओवादीबाट जनार्दन शर्मा, समाजवादीबाट घनश्याम भुसाल लगायतका नेताहरू आफ्नै अभियानमा लागेका छन् । पुराना राजनीतिक दल र नेतृत्वसँग एकता गर्ने पक्षमा उनीहरू देखिँदैनन् । यसै मध्येका एक नेता हुन् भुसाल ।
भुसाल पार्टीले गरेको निर्णय बहिष्कार गर्दै आफ्नै अभियान चलाउन थालेका छन्। उनका अनुसार जेनजी पुस्ताको आन्दोलनका मागहरू पूरा गर्नुको विकल्प छैन । तर पुरानो राजनीतिक दलको नेतृत्व अझै आलटाल र धोका दिने पक्षमा छ । यसै सन्दर्भमा भुसालसँग गरिएकाे कुराकानीको सम्पादित अंश:–
टुटफुट र विभाजनको राजनीति जेनजी आन्दोलनपछि देखिएको छ, तपाईँंले निर्माण गरेको नयाँ शक्तिबाट आम जनताले के आशा गर्ने ?
पहिलो कुरा, यो शक्ति बन्ने, बनाउने भन्ने कुरा बनाउनुपर्ने, बन्नुपर्नेछ कि छैन ? बन्ने हो भने त्यो नयाँ शक्ति कस्तो हो ? भन्ने कुरा हो । खासगरी राष्ट्रिय राजनीतिमा हेर्नुहुन्छ भने अहिले काँग्रेस, एमाले, माओवादी, हाम्रो पार्टी, अरु पार्टीहरू सबै भुइँमा आएको बेला हो । कुनै न सानो छ, न ठूलो छ । न कोही शक्तिशाली छ । न हामी कहाँ कोही शक्तिशाली नेता छ ।
हामी सबै भुइँमा छौँ अहिले । त्यसको अर्थ के हो भने अहिले सबैले प्रारम्भबाटै शुरु गर्ने हो । काँग्रेस पनि अब हिजोकै जस्तो अगाडि जान सक्दैन । कम्युनिष्टहरू पनि हिजोकै जस्तो अगाडि जान सक्दैनन् । किन यो अवस्था आयो ? भन्दा हिजो इतिहासमा हामीले गर्यौं राज्यसत्ता चलाउने मामिलामा हामीले जे गर्यौं, यो कुराले यो मुलुकलाई धेरै ठूलो संकटतर्फ धकेल्दै थियो । अस्ति त यो अभिव्यक्त मात्रै भयो । अस्तिको जेनजी मुभमेण्टपछि २४ गते भएको विध्वंश पछाडि यो त अभिव्यक्ति मात्रै हो ।
यो कुरा धेरै वर्षदेखि झुन्डिँदै थियो । यो कुरा हामीले धेरै अगाडिदेखि भन्दै आएका थियौं । मैले भन्दै आएको थिए । कम्तिमा गएको १/२ वर्षदेखि म के भन्दै छु भने अब सत्ता जसरी भ्रष्टाचारमा लिप्त हुँदैछ । यसले जनतामा असन्तुष्टि पैदा गर्छ । र त्यो असन्तुष्टिलाई दबाउनका लागि सत्ताले दमनमा उत्रिन्छ । यो जति दमनकारी हुँदै जान्छ, सडक त्यति अराजक हुँदै जान्छ र कुनै ठाउँमा गएर हामी क्र्यास हुन सक्छौँ । हामी बर्बाद हुन सक्छौं भन्ने कुरा मैले धेरै अगाडिदेखि भन्दै आएको थिएँ ।
कति वटा घर जल्छन्, कसका घर जल्छन् ? मलाई थाहा नभएको त्यति मात्रै हो । तर एउटा विध्वंश नजिकै आउँदैछ भन्ने कुरा मैले पटक पटक भन्दै आएको हुँ–एक । यसले गर्दा हामीले अहिलको राजनीतिले, अहिलेको राजनीतिक पार्टीहरूले यो समस्यालाई समाधान गर्न सकेनन् । यो कुरा पुष्टि भयो । अस्ति जेनजी मुभमेण्ट पछाडि यो कुरा पुष्टि भएको छ ।
यसले गर्दा सबैको राजनीति अब नयाँ हिसाबले शुरु हुने हो । नयाँ रुपमा नै शुरु हुने हो । त्यस भित्र हाम्रो ठाउँ भनेको वाम आन्दोलनलाई पुनर्गठन गर्ने हो । वृहत्तर हिसाबले भन्नुहुन्छ भने हामीले वाम आन्दोलनलाई पुनर्गठन गर्न चाहेका हौ । किन पुनर्गठन गर्न चाहेका हौ ? भन्दा हिजोदेखि लामो समयसम्म जुन नेताहरूले नेतृत्व गरे । तिनका प्रयोगहरू असफल भए, तिनका विचारहरू, तिनका नीतिहरू, उनीहरूले दुनियाँलाई दिएका वाचाहरू, तिनले खाएका कसमहरू हरेक असफल भए ।
यसले गर्दा अब नयाँ एजेन्डाका साथ जानुपर्छ । नयाँ एजेन्डा भनेको यो समाजभन्दा बाहिरको एजेन्डा होइन । अहिले किन यस्तो भयो भन्नुहुन्छ भने हाम्रोमा समाजमा एजेन्डा स्थापित भएन । किनभने सत्ताका लागि भ्रष्टाचार एजेन्डा हो । बदमासी एजेन्डा हो । आफ्ना कर्तुतहरू एजेन्डा हो । अरु पार्टीहरू जो बाहिर बसिराखेका थिए, तिनीहरूको पनि सत्तामा जानुमात्रै एजेन्डा भइदियो । जसले गर्दा जनताको एजेन्डा उठाउने शक्ति भइदिएन । र त्यो जेनजीहरूले, उनीहरूको मुखबाट, नयाँ किशोरकिशोरीहरूको मुखबाट, नयाँ युवाहरूको मुखबाट बोल्नुपर्ने अवस्था आयो । ती एजेन्डाहरू, बहुत थोरै एजेन्डा उठाए उनीहरूले ।
खासगरी सुशासनको एजेन्डा उठाए । मुलभूत रुपमा सुशासनको एजेन्डा उठाए । के हो एजेन्डा भन्दा सुशासनको एजेन्डा हो उनीहरूको । अर्को एजेन्डा के हो भन्दा देशलाई यो ठाउँमा पुर्याउनका लागि जसले जिम्मेवारी लिनुपर्ने हो । उनले इमिडेट्ली आजै त्यो ठाउँ छोडुन् ।
त्यो भनेको राजनीतिक पार्टीका नेताहरूले यो ठाउँ छोडुन् भन्ने उनीहरूको माग थियो । यसमध्ये हामी यी दुई वटै कि यो पुरानो नेतृत्व जसका एजेन्डाहरू असफल भए, जसका विचारहरू असफल भए । जसका प्रयोगहरू असफल भए । तिनीहरूले तत्काल राजीनामा गरुन् । हामीले कुरा प्रयत्न गर¥यौँ । अहिले एकता प्रक्रिया जो हाम्रो शुरु भएको छ । यो प्रक्रियामा हामीले धेरै प्रयत्न गर्याैँ । तर लिडरहरू छोड्न तयार भएनन् । उनीहरूले आलटाल गरे, ६ महिनामा छोड्छौँ भने । पहिला त महाधिवेशनमा छोड्छौँ भने । त्यसपछि ६ महिना भन्दैछन् । यो सबै आलटाल गर्नेकुरा हो ।
किनभने यस्तो कुरा उनीहरूले हिजोदेखि पटक पटक भनेर दुनियाँलाई ठगेका छन्, ढाँटेका छन् । र आफ्नै पार्टीभित्र पनि ढाँटेका छन् । झुट बोलेका छन् । भोलि एउटा परिस्थिति देखाउँछन् उनीहरूले । त्यहाँ अलरेडी गुटहरू छँदैछन् । गुटहरू कस्ता छन् भने जस्तासुकै अपराध गरे पनि तिनीहरूको बहुमत जुटाउने गरी उनीहरूको गुट बनेका छन् । र भाेलि के भन्छन् भने अहिले हाम्रो बेला भएको छैन । बहुमतले हामी फेरि निर्वाचित भएर आयौं भनेपछि लोकतन्त्रमा निर्वाचित भएपछि त सबैले मान्नुपर्यो भनेर तर्क गरेर आउँछन् ।
यसो भएको हुनाले हामीले यो पुनर्गठन शुरु गराैँ भनेर प्रयत्न गर्यौं । इमिडेट तपाईँँहरूले राजीनामा गुर्नस् तपाईँँहरूले तपाईँहरूको आफ्नो जिम्मेवारी लिनुपर्छ । त्यसपछाडि हामीले हाम्रा राजनीतिक अभ्यासमा तपाईँहरूसँग हामीसँगै बस्दाखेरी के कमीहरू भए । यो पार्टीहरूको तर्फबाट के के कमी भन्ने कुरा हामीले स्वेतपत्र जारी गर्छौं । दुनियाँलाई बताउँछौ । त्यस पछाडि अब हामी कसरी जानुपर्छ ? भन्ने कुरामा हामीले ध्यान दिन्छाैँ ।
त्यस पछाडि हामीले भ्रष्टाचार कसरी निर्मुल गर्न सकिन्छ ? हामीले त २०४६/०४७ साल पछिका सबै भ्रष्टहरूलाई कारबाही गर्ने र तिनको भ्रष्टाचार गरेर थुपारेको सम्पत्ति राष्ट्रियकरण समेत गर्ने काम गर्दै हामीले हाम्रो आन्दोलनलाई पुनर्गठन गरेर जान्छाैँ भनेर हामीले भनेका छौँ । यस अर्थमा आजको पनि हाम्रो एजेन्डा भनेको कम्युनिष्ट आन्दोलनको पुनर्गठन हो । त्यो पुनर्गठन भनेको नाराहरूको पुनर्गठन हो । जनता र पार्टीको सम्बन्धको पुनर्गठन हो ।
जनताका लागि उठाइने विचारहरूको हिसाबले जुन कुराहरू गरेका छौँ । त्यसमा पुनर्गठन हो । जस्तो कार्यशैलीहरू हामीले अपनाएका छौं राजनीति गर्ने । राजनीति गरेका मान्छेहरू धनी हुँदै जाने । राजनीति भनेको धन्दा बन्दै गयो । यो धन्दा बनेको राजनीतिको पुनर्गठन गर्न चाहन्छौँ । हामी यसमार्फत हामीले अगाडि बढ्न खोजेका छौँ ।
जेनजी आन्दोलनको जे जिष्ट थियो, त्यसलाई तपाईँहरूले सम्बोधन गर्नुहुन्छ, नयाँ पार्टी त्यसैको अभियानका लागि हो भनेर विश्वास गर्ने आधार के ?
अभियानमा हामीले हिजो के गरेका थियौँ भनेर हेर्ने हो । हामीले अहिले पुनर्गठन भनेर जुन प्रयत्न गरेका छौं । हामीले दुनियाँ समक्ष भनेका छौ–आजका विचारहरू जुन हामीले एकीकृत ढंगले संघर्ष गरेर, बहस गरेर, तमाम बहस गरेर यस्ता सयौं छलफल, गोष्ठी, लेख, प्रवचन ।
यी विषयहरूमा भाग लिएर हामीले आज कम्युनिष्ट आन्दोलनको जुन भाष्य बनेको छ नि नेपाल कस्तो मुलुक हो ? वर्गहरू कस्ता छन् ? अब जाने हामी समाजवादतिर हो । हामीले दलाल पूँजीवादलाई अन्त्य गर्दै राष्ट्रिय पूँजीको विकास गर्दै समाजवादतिर जान्छौँ भनेर हामीले स्थापित गर्यौँ । यो वैचारिक संघर्षद्वारा नै हामीले यो स्थापित गर्यौं ।
अहिले भन्नुहुन्छ भने नेकपा एमाले पनि यही कुरा भनेर हिँड्दैछ, अहिले बनेको नेपाली कम्युनिष्ट पार्टीले पनि त्यही लेख्नुभएको छ । विप्लवजी, अरु सबै कम्युनिष्टहरूले यही विचारहरू लिएर गएका छन् । यस अर्थमा हामीले नयाँ युगको नयाँ विचार हामीले शुरु गरेका हाैँ ।
यस अर्थमा यसको कार्यान्वयन, यसको कार्यान्वयनका लागि संगठन, यसका नीतिहरू, सिद्धान्तहरू पनि हामीले नै बनाउँछौं । किनभने हामीले यो नयाँ कार्यदिशाको समाजवाद के हो, कसरी समाजवादी कार्यदिशाको अब समय आयो, युग आयो ? भन्ने कुरा हामीले नै भनेको हुनाले यसको कार्यान्वयनको दिशा, त्यो भनेको फेरि मुलुकलाई समृद्ध बनाउँदै, समृद्ध बनाउँदै भनेको आज हेर्नुहुन्छ भने युवा पलायन । यो युवा पलायन किन भयो ? भन्दा हाम्रो उत्पादन भएन । उत्पादन किन भएन ? हामीले कृषिमा ध्यान दिएनौं । कृषिको संरक्षण गरेनौं । राज्यले गर्नुपर्ने उद्योगको संरक्षण गरेन । उसले शिक्षा, स्वास्थ्यमा उपयुक्त नीतिहरू लिएन । र लगानी गरेन । उसले भ्रष्टाचार रोकेन । यी कारणहरूले गर्दा आज मुलुक संकटमा छ ।
यिनीहरूको कार्यान्वयन गर्दै हामी अगाडि जान्छौँ भनेर हामीले हिजो पनि भनिराखेको, हिजो पनि पार्टीमा लडिराखेको र आज पनि यही कुरा भनिराखेको हुनाले यसका हामी अधिकारी हौँ ।
अब वैकल्पिक वाम आन्दोलन भनेर तपाईँले जे घोषणा गर्नुभएको छ, यो चाहिँ कस्तो खालको आन्दोलन हुन्छ त, धुविकृत हुनुपर्ने तपाईँहरू विभाजित हुनुभयो, फुट्नुभयो, फुटेर कहाँ जाने भन्ने प्रश्न त छ, तपाईँलाई माया र विश्वास गर्ने तत्कालीन नेकपा (एकीकृत समाजवादी)का अरु नेताहरू, कार्यकर्ताहरू हुनुहुन्छ होला, उहाँहरूलाई तपाईँले कसरी विश्वास दिलाउन सक्नुहुन्छ कि अब यो पुनर्गठित हुन्छ, यसले देशमा विद्यमान संकटको समाधान दिन्छ, जेनजीहरूको माग पूरा हुन्छ ?
पहिलो कुरा त आज देशले जुन समस्या भोगिराखेको छ । त्यो भनेको जनताले भोगेको समस्या हो । जाेसुकै पनि मान्छे, यदि देश बिग्रियाे भने, देशको अर्थतन्त्र बिग्रियो भने, देशको राजनीति बिग्रियो भने, देशको सामाजिक सम्बन्धहरू बिग्रियो भने कुनै पनि मुलुक, त्यसको नागरिक, हरेक व्यक्ति असुरक्षित रहन्छ ।
यो वाम आन्दोलनमा लागेका जाेसुकै पनि, तिनको आँखा अगाडि जे बिग्रँदैछ । उनीहरू आफैले जो कुरासँग ठक्कर खाँदैछन्, दिनदिनै उनीहरूले ठक्कर खाँदैछन् । त्यसबाट उनीहरूले यो कुरा बुझ्नेछन् । हामीले जे भन्दैछौ कि यो बाटो होइन । जस्तो अहिलेको बाटो के हो ? अहिले जुन नेपाली कम्युनिष्ट पार्टी बन्यो । यो एकता प्रक्रियामा हामी किन गएनौँ ? भन्ने पनि मानिसहरूले हामीलाई प्रश्न गरिरहेका छन् ।
तपाईँजस्तो बुद्धिजीवि नेताले त्यहीँभित्र संघर्ष गर्न सक्नुहुन्थ्यो, किन फुट्नुभयो भन्ने प्रश्न छ नि ?
हामीले पहिलो कुरा त के भनेका थियौँ भने अहिले पहिला माओवादीले आफ्नो पुनरावलोकन गरोस् । माओवादी किन हिजोदेखि, झन अस्तिदेखि ओरालो लाग्दै गयो ? यसको मूल्यांकन गरोस् ।
हामी नेकपा एकीकृत समाजवादीका साथीहरू, हामी किन यो कसमबाट, यो वाचाबाट, यो कबुलबाट हामी पछि हट्यौँ ? किन हामीले रुपान्तरण र पुनर्गठन गरेनाैँ । नेकपा एमालेभन्दा राम्रो पार्टी बनाउँछौ भनेर किन कसम खाएका थियौं ? र त्यो कसम किन पूरा गर्न सकेनौं ? भन्ने कुरा हामीले मूल्यांकन नगरीकन हामीले टेक्नीकल्ली एकता गर्याैँ भने त्यो एकताले हामीलाई ठाउँमा लैजाँदैन ।
जस्तो कि अहिलेको एकता हेर्नुहुन्छ भने त्यो राजनीतिक एकता होइन । त्यसको डकुमेण्टले हेर्नुहुन्छ भने त्यसले आजको जुन चुनाैतीहरू छन । ती चुनाैतीहरूको बारेमा पनि कुरा गर्दैन । के गर्ने हो अबको कार्यभार भन्ने कुरा पनि गर्दैन । यस अर्थमा त्यो एक हिसाबले भन्नुहुन्छ भने अराजनीतिक एकता हो । त्यसका कारणले अराजनीतिक रुपले ठूलो पार्टी देखाउनका लागि एकता गरेको हुनाले सांगठनिक रुपले पनि त्यसको जति माथि गयो । त्यति भारी भड्कम बन्दै छ कि त्यो आफ्नै भारीले थिचिएर बर्बाद हुनेछ ।
मैले त बेलाबेलामा भनेको छु–त्यो यस्तो कुम्भ मेला २ हजार, २५ सय मानिसहरूको यस्तो सेन्ट्रल कमिटी बनाइँदैछ, जो कुम्भ मेला हो । सेन्ट्रल कमिटी होइन । त्यहाँ एउटाले चिच्याउँछ–ल फलानो शंकर महाराज आएर त्यका बाउन्सरहरू १० जना अगाडि पछाडि गर्दछन् । मान्छे भागाभाग गर्दछन् । किचिएर मर्दछन् । यस्तो संगठनको जुन तरिकाबाट उहाँहरू जानुभएको छ । न यहाँ विचार कुरा हुन्छ, न सिद्धान्तको कुरा हुन्छ ।
यो आफै संकटग्रस्तहरूको एकता भएको हुनाले यसले संकटमात्रै थुपार्दछ । जति थुप्रिनेछन्, तिनीहरूले आ आफ्ना गुनासाहरू, आ आफ्ना अलगअलग उद्देश्य लिएर आउनेछन् । कसको कमन एजेन्डा छ ? प्रचण्ड जीले जसरी सोच्नुहुन्छ राजनीति रुपमा । कुन एजेन्डा हो ? माधव नेपाल जीले त्यसरी नै सोच्नुहुन्छ ।
माधवजीले जुन राजनीतिक एजेन्डा सोच्नुभएको छ । सोचेर आउनुभएको छ । कुन राजनीतिक एजेन्डा झलनाथ खनालले सोच्नुहुन्छ ? झलनाथ खनाल वा माधव नेपालले जसरी सोच्नुभएको छ । हाम्रा वामदेवजीलाई उभ्याइदिने भयो भने उहाँले अस्ति नै त्यहाँ फाडिसक्नुभयो ।
यसरी यो समस्याहरूका मान्छेहरू, समस्याग्रस्त मान्छेहरूको भीड लगाएर अनि त्यहाँ के हो बौद्धिक बहस हुन्छ ? के को विचारको बहस हुन्छ ? त्यहाँ कुनै विचारको बहस हुनेवाला छैन ।
अहिले जेनजी संकटपछि जति दबाउन खोजिएको थियो नि । त्यहाँ पार्टी पार्टीभित्र जसरी कार्यकर्ताको मत दबाउन खोजिएको थियो । त्यो सडकबाट विष्फोट भएपछि अहिले फेरि तानाबाना बुनेर उहाँहरू सत्तामै रहिरहन चाहनुहुन्छ । पुनर्जीवित हुन चाहनुहुन्छ । र गुमेको हिजोको जसरी सत्ता चलाउनुभएको थियो, सत्ता दोहनमा पार्टीहरू जसरी लिप्त बनाउनुभएको थियो । त्यसैगरी उहाँहरूले सत्ता चलाउन चाहनुहुन्छ । यस अर्थमा यो कुरा गलत छ । यसले समाधान दिँदैन ।
त्यसोभए तपाईँले पुनर्गठित वाम आन्दोलनलाई निष्कर्षमा पुर्याउनुहुन्छ भन्ने आधार के के हुन् त ?
पहिलो कुरा त हामीले सही एजेन्डा उठाएका छौँ । यो मुलुक, हाम्रो विकासको अवस्था, जनताको अवस्था । यत्रा युवाहरू बेरोजगार भएर बाहिर हिँडिरहनुपरेको अवस्था । यहीँभित्र पनि सीमान्त श्रमजीविहरू, जसले श्रम गरेर बाँच्नुपर्दछ । तिनीहरूको जीवनको अवस्था । कहीँ श्रमजीवीहरूले महिनावारी तलब नपाउने ठूलो समस्या, कृषि गरेर पनि कहिल्यै खाना नपाउनेहरूको जनसंख्या, उद्योगीहरू विचारा उद्योग खोलेर लगानी गरेर जो साँच्चिकै उद्योगी छ । त्यसको टन्टा, त्यसमा कर प्रणालीले थोपरेको समस्या, भन्सारले थोपरेका समस्या, सरकार, घुस राजनीतिक पार्टीका युवाहरू, युवा बाउन्सरहरू, तिनले दिने धम्की, यो सारा गरेर पनि उद्योगबाट राम्ररी नाफा गर्न नसक्ने उद्योगीहरू, मुलुकका बुद्धिजीविहरू, जसले मुलुक राम्रो देख्न चाहन्छन्, सप्रेको देख्न चाहन्छन् ।
विभिन्न हिसाबले उनीहरूले पढेका छन् । पढेजस्तो भइराखेको छैन । कसरी समाज बन्छ भन्ने कुरा उनीहरूले पढेका छन, जानेका छन् । त्यो लागू भएको छैन । त्यो लागू हुन नदिका लागि नेताहरूले यो सबै बद्मासी गरिरहेका छन् । यसले गर्दाखेरी आज नैतिक धरातलमा उभिएको राजनीति मुलुकको धेरै ठूलो खाँचो हो । आम रुपमा अझ यो कम्युनिष्ट आन्दोलनभित्र त अझ यो ठूलो खाँचो हो । जुन कुरा हामीले निरन्तर उठाउँदै आएका छाैँ । यो एउटा आधार हो ।
दोस्रो कुरा अब हामीले आगामी दिनमा राजनीतिमा यसलाई खास गरेर धन्दा बनाएर राज्य दोहनको संयन्त्र बनाएर भनेका छौँ हामीले पटक पटक । राजनीति भनेको राज्य दोहन गर्ने हो । कमाउने पनि राज्य दोहन गरेर हो भनेर जसरी बनेका छन् पार्टीहरू । यी पार्टीहरूमा हामीले व्यापक लोकतन्त्रको अहिले जस्तो अभ्यास भएको छ नि नेताको वीरता भएर जुन पार्टीहरू बनेका छन् नि । यसलाई हामी भत्काउन चाहन्छौँ ।
र अब कार्यकर्ता पंक्तिभित्र सदस्यहरूका बीच प्रत्यक्ष लोकतन्त्रको अभ्यास हुने, हिजोको जस्तो अभ्यास होइन । अब नेताले भन्यो, त्यो लागू भयो । माथिल्ला कमिटीले भन्यो, त्यो लागू भयो भन्ने होइन । यदि माथिल्लो कमिटीले गरेको निर्णय माथिल्लो कमिटीका नेताहरूले भनेको कुरासँग कार्यकर्ताहरूको, सदस्यहरूको विचारहरू टकराउँछन् भने बहुमत तलका सदस्यले समेत त्यसमा भोट हाल्ने, निर्णयमा सहभागी हुने खालको प्रणालीको जस्तो कि उदाहरणको लागि पालिका कमिटीले आफ्ना सबै निर्णयहरू आफैँले गर्नेछ । माथिबाट त्यहाँको उम्मेदवारीदेखि लिएर त्यहाँको कमिटीमा को राख्ने, को नराख्ने, कमिटीहरू विघटन गर्ने, यस्ता कुनै पनि अधिकारहरू माथिल्ला कमिटीलाई हुने छैन ।
उनीहरू आफ्नो कमिटी चलाउनका लागि स्वतन्त्र हुनेछन्, स्वायत्त हुनेछन् । स्वायत्त रुपले स्वतन्त्र हुनेछन् । र त्यही कमिटीले पनि पालिका स्तरको कुनै नीतिगत निर्णय गर्नुप¥यो भने त्यो पालिका कमिटीमा मानौँ १५ जना छन् भने ती १५ जनाले निर्णय गर्न पाउँदैनन् । त्यो विषयमा सबैलाई यो विषयमा के गर्ने भनेर त्यो पालिका भित्रका सबै सदस्यहरूसँग सोध्ने छन् । भोटिङ हुनेछ । त्यसरी मात्रै निर्णय हुनेछ ।
त्यसले गर्दा पालिका स्तरको निर्णय गरेर फुली लगाएर हिँडेको ठूलो मान्छे, अझ जिल्ला कमिटीमा पुग्यो, प्रदेश कमिटीमा पुग्यो । केन्द्रीय कमिटीमा पुगेपछि त त्यो भयंकर ठूलो जर्नेल नै भयो । अब अध्यक्ष, पदाधिकारी भयो भने तिनीहरू त कमाण्डर नै भए । अब यो खालको अधिनायकवादी शैलीबाट अवको हाम्रो संगठन चल्नेछैन । हामी हाम्रो संगठनलाई लोकतान्त्रिक बनाउँछौँ ।
कुरा जुन डेलिभरी भन्ने कुरा छ नि । हो यस्तो पार्टीले मात्रै डेलिभरी दिन सक्छ । त्यो कुनै पनि कमिटीले त्यो गाउँका, त्यो पालिका भित्रको शिक्षा, स्वास्थ्य, रोजगारी, त्यहाँको प्रदुषणदेखि लिएर यी तमाम समस्याहरू त्यहाँको महिला, दलित माथिको विभेद, पीछडिएका परिवारहरू यिनीहरूका प्रति जिम्मेवार हुने । मानाैँ हाम्रो पार्टीको त्यहाँ कमिटी छ भने त्यहाँको पालिकामा जितेका छौ भने यी समस्याको उत्तर दिने जिम्मा त्यहाँको पार्टीको हुन्छ । कमिटीको हुन्छ ।
यसरी डेलिभरीको कुरा तल जनताको सुखदुख, समस्याको कामहरू हेर्ने, त्यस्तो कामहरू पनि गर्नसक्ने नेतृत्व गर्नसक्ने कमिटी, त्यस्तो लोकतान्त्रिक कमिटी हुनेछ । त्यस्तो डेलिभरी दिने, परिणाम दिने कमिटी बनाउनेछौँ । अहिलेसम्म त्यसरी पार्टी कमिटीहरू बनेका छैनन् । हामी त्यतातर्फ जाँदैछौँ । यो कुरा हामीले अहिले मात्रै उठाएका होइनौँ । धेरै अगाडिदेखि हामीले उठाउँदै आएका कुरा हुन् । त्यसलाई हामी अब लागू गर्न जान्छौँ ।
तपाईँंले संगठन निर्माण गर्नै सक्नुहुन्न भन्ने आरोप पनि छ नि ?
हो अहिलको एक जना शक्तिशाली, अहिले यो नेपाली कम्युनिष्ट पार्टीको शक्तिशाली कमरेडले हिजो एउटा इन्टरभ्यूमा भनेको मैले पनि सुनेँ । अरुले पनि फाटट्फुट्ट भनेका छन् । मलाई त्यस्तो प्रश्न गर्ने गरेका छन् । अहिले मुलुकमा मुलभूत रुपमा भन्ने हो भने २ खालका संगठन छन् । एउटा राजनीतिक संगठन छन् । यी बहुत कम छन् । ती साना छन्, ती शक्तिहिन छन् ।
अरु सबै पार्टीका सबै कमिटीजसो यी कारोबारी कमिटीहरू हुन् । कारोबारी संगठनहरू हुन् । २ खालको संगठन छन् । म सधैँभरी राजनीतिक संगठनमा लागेँ । आजसम्म म राजनीतिक संगठनमा । राजनीतिक संगठन भनेको के हो ? मुद्दाका वरिपरी मानिसहरूलाई गोलबन्द गर्नु, विचारका वरिपरी मान्छेहरूलाई गोलबन्ध गर्नु, जनताका समस्या वरिपरी जनतालाई गोलबन्द गर्नु । यो राजनीतिक संगठन हो ।
अर्को पदका लागि मान्छेहरूलाई जम्मा गर्नु, हरेकलाई पद बाँड्नु, हरेकलाई टिकट बाँड्नु, कसैलाई उपभोक्ता समिति दिनु, कसैलाई खानी खोलातिर २०, ४० जना युवाहरूलाई लगाई दिनु । अरु अलि राजनीतिक भनिएको पढेलेखेको मान्छे छ भने त्यसलाई राजनीतिक नियुक्ति दिनु । कसैलाई मन्त्री बनाइदिन्छु भनेर भन्नु, कसैलाई राजदूत बनाइदिन्छु भनेर भन्नु । यहाँको कर्मचारीतन्त्रसँग मिल्नु, अरु मन्त्रीसँग मिल्नु, न्यायपालिकालाई घुस खुवाउनु, पुलिस प्रशासनसँग घुस खुवाउनु । यो पनि एउटा संगठन हो । त्यो कारोबारी संगठन हुन् ।
यो कुरा स्वीकार गर्छु कि म घनश्याम भुसाल आजसम्म कारोबारी संगठनमा छैन । म त्यो जान्दिन, म त्यो गर्दिन । किन जान्दिन भने म त्यो गर्दिन । जहाँसम्म राजनीतिक संगठन हो । आजसम्म घनश्याम भुसाल राजनीतिक संगठन गरेर आएको छ ।
अब त्यो आगामी दिनमा तपाईँले गर्ने संगठन निर्माण र त्यसको परिणामले पनि जवाफ दिनेछ, अब नेत्रविक्रम चन्द, जनार्दन शर्मा, सुदन किरातीहरूसँग तपाईँहरू मिल्न सक्नुभएन, मिल्न सक्दैनन् उनीहरू भन्छन् नि ?
एउटा कुरा कसैले यिनीहरू मिलुन्, हामी मिलोस् भनेर चाहन्छन् अथवा नमिलेर राम्रो भयो भन्ने चाहन्छन् । त्यसको दुई वटा एंगल हुन्छ । जहाँसम्म हामी मिल्छौँ कि मिल्दैनौँ भन्नेछ । हामी सामान्यतया अस्ति एउटा स्टेटमेन्ट, एउटा संयुक्त वक्तव्य हामीले जारी गरेका छौँ । र कम्युनिष्टहरू, समाजवादीहरू, प्रगतिशील, देशभक्तहरूसँग समेत मिलेर सँगै काम गर्ने र त्यो मोर्चाबन्दीमा साथ निरन्तर हामी एकतातर्फ जानेगरी काम गर्छौं ।
एउटा कुरा के क्लियर छ भने हामी जुन अस्ति छलफल गरेर संयुक्त वक्तव्य जारी गरेका छौँ । त्यो वक्तव्यको भावनाअनुसार हामी अगाडि बढ्नका लागि संकल्पवद्ध छौँ । त्यसको परिणाम केही दिन भित्र देखिनेछौँ । आगामी दिनमा हामी कार्यक्रमका आधारमा हामी एकता गर्नेछौँ । एकता भनेको त्यो सहकार्य हुन्छ, त्यो मोर्चा हुन्छ । र एकीकरण हुन्छ । यो प्रक्रियाबाट हामी अगाडि बढ्नका लागि हामी तयार भईसकेका छौँ । र यसका परिणामहरू आगामी दिनमा तपाईँंहरूले देख्नुहुनेछ ।
एमालेले घर फर्क अभियान चलाएको छ, तपाईँंहरू पनि घर फर्कने आशंका अझै गरिन्छ, एमाले अध्यक्ष केपी ओलीले त वृद्धहरू नेपाली कम्युनिष्ट पार्टीमा गए, युवाहरू एमालेमा आउँछन् भनिरहनु भएको छ, यसलाई तपाईँ कसरी विश्लेषण गर्नुहुन्छ ?
यो नेकपा एमालेका फर्कने वा घर फर्किने भन्ने जुन कुरा छ । अब के का लागि फर्किने भन्नुहुन्छ । कमरेड ओलीले नेकपा एमालेलाई कब्जा गरेर हिजोको त्यत्रो जीवन्त पार्टीलाई आज व्यक्तिगत आफ्नो नियन्त्रण भित्रको एउटा कम्पनी जुन बनाउनुभएको छ । यसले गर्दा यो एउटा कम्पनी मात्रै बनेको छैन । त्यसले कमरेड ओलीको लिडरसिपको कारणले यत्रो विध्वंश आयो । त्यसको जिम्मा उहाँले लिनुपर्छ ।
यस भन्दा अगाडिदेखि नै उहाँले संसद विघटन, फेरि अर्को संसद विघटन, पार्टी विभाजनदेखि लिएर जे गर्दै हुनुहुन्छ । र निरन्तर दक्षिणपन्थी एजेन्डा उठाइराख्नुभएको छ । घोर दक्षिणपन्थी, यो कम्युनिष्ट आन्दोलनको सबै भन्दा दक्षिणपन्थी, व्यक्तिवादी, अहंकारवादी यो खालको उहाँको दिशा छ । नेकपा एमालेको दिशा भनेको त्यो दिशा हो ।
आज कमरेड ओलीको नेतृत्वमा यस्तो बेलामा पनि र आज पनि फेरि ओली जीको त्यहाँ रहिकन ओलीको कब्जाको एमाले भित्र कोही पनि मान्छे राजनीतिक रुपले जान्छ भन्ने कुरा आफैँले भन्ने कुरा त भयो । तर सोसाइटीले मान्दैन । यो इन्कार गरी नै सकेको छ । त्यहाँ कुनै विचारले जान्छ भन्ने कुरा सोसाइटीले इन्कार गरिसकेको छ ।
म फेरि पनि क्याटोगरीकल्ली भन्दैछु–ओलीजी रहुञ्जेल त्यो पार्टीमा जो जान्छ, त्यो विचारको कारणले जान्छु, विचार मिलेर जान्छु । राजनीति मिलेर जान्छु, सिद्धान्त मिलेर जान्छु भनेर भन्छ भने उसले यात बुझेकै छैन, या दुनियाँलाई ढाँटदैछ भन्ने लाग्छ मलाई ।
एमालेमा अवसर छ रामकुमारी झाँक्री जानुभयो, अरु पनि जाने हुन् कि ?
मैले कुनै व्यक्तिको बारेमा केही भन्नु छैन । महिला, पुरुष, जान्ने, नजान्ने । त्यो सबै कुरा गौण हो । अहिले नेकपा एमाले भित्र ओली हो, ओली मात्रै हो । त्यसो गर्दा त्यहाँ अर्को स्वतन्त्र व्यक्तित्वको रुपमा कसैले विकास गर्छ भन्ने कुरा त्यो सम्भव नै छैन ।
कसैले विकास गरेको छ त्यहाँ स्वतन्त्र रुपमा ? ओली जीकै पछाडि लागेका मान्छेहरू, ओलीजीकै पछाडि लागेका मान्छेहरू ओलीजीकै टिमका मान्छेहरू कसैले म स्वतन्त्र रुपले स्वच्छु भन्छ भनेर प्रस्तुत गर्नसक्छ ? भन्न सक्छ ? वा उसैले दावी गर्न सक्छ कि म ओली जीभन्दा भिन्न रुपले सोच्छु भनेर कसैले भन्न पनि सक्दैन भने त्यहाँ भित्र कसैले स्वतन्त्र रुपमा नेता, नेतृत्व गर्छु भन्ने कुरा बेकारको कुरा हो ।
एमाले भित्रको असन्तुष्ट पक्षहरूसँग तपाईँको छलफल हुन्छ ?
आम रुपमा मैले भन्छु–नेकपा एमाले त्यो मेरो पनि पार्टी हो । त्यसको लिडरसिपलाई छोड्ने हो भने मैले माओवादीलाई पनि मेरै पार्टी भन्ने गरेको छु । अरु पार्टीहरू पनि मेरै पार्टी हो । वैचारिक रुपले, सैद्धान्तिक रुपले भन्ने हो भने के भन्न सकिन्छ भने ती मेरै पार्टी हुन् ।
तर त्यहाँभित्रको साथीहरूको कुरा गर्दाखेरी ती तमाम हामी आफैँले बनाएको पार्टी भएको हुनाले त्यहाँभित्र उनीहरूसँग कुरा नहुने भन्ने प्रश्नै भएन । सबैसँग कुरा हुन्छ । सबै मुर्छाएकाहरूसँग कुरा हुन्छ । सबै उकुसमुकुस भएकाहरूसँग कुरा हुन्छ ।
एमाले विभाजित हुन्छ भनेर पनि कतिपयले चर्चा गर्दछन्, तपाईँले याे सम्भवाना कतिकाे देख्नुहुन्छ ?
विभाजित हुनुहुँदैन भन्छु मैले चाहिँ । सामान्यतया आज त्यहाँको साथीहरू त्यसरी विभाजित हुने कुरा गलत हुनेछ । त्यहाँको गलत कुरालाई उहाँहरूले हटाउनु पर्छ । तर अब के देखिँदैछ भन्दा आउने महाधिवेशनमा या त कमरेड ओलीले सबैलाई लखेटी दिनुहुन्छ ।
अहिले पनि बाँकी बचेर यो पार्टी बचाउनु पर्यो भन्दै छन् । उनीहरूलाई उहाँले निकालि दिनुहुन्छ । या त नेकपा एमालेको इतिहासको सम्पूर्ण यसले इतिहासमा बनाएको मूल्य, यसले सृजना गरेका केही सिद्धान्त, विचार, नैतिकता केही छन् भने तिनीहरू संगठित हुनेछन् । र कमरेड ओलीलाई निदाई गर्नेछन् । यसले गर्दा नेकपा एमाले फुट्ने, नफुट्ने कुराको प्रसंग नै होइन । अहिले त त्यो पार्टीमा शुद्धिकरणको, पुनर्गठनको, सुधारको आवश्यक्ता छ भन्ने लाग्छ मलाई ।
तपाईँको पार्टीले निर्वाचनमा भाग लिन्छ कि लिँदैन ?
हामीसँग अलरेडी पार्टी छँदैछ । आउने चुनावमा हामीले राम्ररी एजेन्डासहित फेस गर्छौँ । हामीले चुनावमा भाग लिने कुरामा हामी प्रष्ट छौँ । हामी विप्लवजीहरूसहित चुनावमा जान्छाैँ ।
आगामी फागुन २१ गते निर्वाचन हुने सम्भावना देख्नुहुन्छ ?
चुनावका लागि ओलीजी मात्रै बाधक हो । अरु कुनै कुराले चुनाव रोकिँदैन । अहिले देखिएको ओलीजी मात्रै हो । तर मलाई के लाग्छ भने सबैले चुनाव प्रचारप्रसार गरिसकेपछि ओलीजी पनि लतारिनुबाहेक अर्को कुनै विकल्प हुँदैन ।
भवितव्य तात्कालीक प्राविधिक कारणले सर्यो भने त्यो अर्को कुरा हो । नत्र भने सरकारको तयारीको हिसाबले भन्नुहुन्छ, अरु राजनीतिक वातवरणको हिसाबले भन्नु हुन्छ भने चुनाव सार्नुपर्ने, नहुनुपर्ने कुनै कारण देख्दिन । ओली जीले अहिले जुन ट्याउट्याउ गर्नुभएको छ । उहाँ सम्भवतः चुनावमा त्यत्तिकै आउनुहुन्न । उहाँलाई मुलुकको राजनीतिले, समाजले, नागरिकहरूले लतार्नेछन् । थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया