
कृष्णनगर, १३ माघ ।
कपिलवस्तु क्षेत्र नं. ३ मा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर राजनीतिक सरगर्मी उच्च बिन्दुमा पुगेको छ। चुनावी प्रचार–प्रसार तीव्र बनेसँगै मतदाताबीच कुन दल र उम्मेदवार रोज्ने भन्ने विषयमा चर्को बहस सुरु भएको छ। यस निर्वाचनमा मुख्य गरी ६ वटा दलबीच प्रतिस्पर्धा देखिएको छ, जसले चुनावलाई थप रोचक बनाएको छ।
यसपटक मैदानमा रहेका दलहरूमा नेकपा (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी, रहेका छन्। अघिल्ला निर्वाचनको तुलनामा यसपटकको चुनाव कपिलवस्तु–३ मा अत्यन्तै प्रतिस्पर्धात्मक र अनिश्चित बनेको स्थानीयहरूको भनाइ छ।
नेकपा (एमाले) बाट उम्मेदवार विरेन्द्र कुमार कनोडिया पार्टी संगठनमा निर्भर देखिन्छन्। पूर्व कांग्रेसी नेता रहेका कनोडियाको मुख्य आधार एमालेको सांगठनिक संरचना नै बनेको छ।
नेपाली कांग्रेसका उम्मेदवार अभिशेष प्रताप शाह २०७९ को निर्वाचनमा पराजित भएपछि निरन्तर जनता माझ सक्रिय देखिँदै आएका छन्। पछिल्लो समय युवाहरूको उल्लेख्य समर्थन प्राप्त गर्दै उनले आफ्नो चुनावी अभियानलाई बलियो बनाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश रजौरिया भने २०७९ को निर्वाचनपछि क्षेत्रमै खासै नदेखिएको आरोप खेपिरहेका छन्। अघिल्लो निर्वाचनमा राप्रपाबाट उम्मेदवार बनेका उनी अहिले ‘बालेन क्रेज’ को भरमा चुनावी मैदानमा उत्रिएको स्थानीयहरूको विश्लेषण छ।
बलियो दाबेदारका रूपमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार तथा पूर्व राज्यमन्त्री इश्वर दयाल मिश्र देखिएका छन्। अघिल्लो निर्वाचनमा जनता प्रगतिशील पार्टीबाट उम्मेदवार बनेका मिश्रलाई यसपटक २०७९ को प्रदेशसभा निर्वाचनमा ५ मतले पराजित भएका रविदत्त मिश्र र शिवराज नगरपालिकाका पूर्व मेयर प्रत्यक्षी कृष्ण कुमार चौधरीको खुला समर्थन प्राप्त छ, जसले उनको उम्मेदवारीलाई थप मजबुत बनाएको छ।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार एहसान अहमद खाँ संगठनात्मक पकड र मुस्लिम मतदातामा निर्भर देखिएका छन्। क्षेत्रको जनसांख्यिक संरचनालाई हेर्दा उनको उम्मेदवारीलाई हल्का रुपमा लिन नसकिने अवस्था छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार प्रेम शंकर शुक्ल पहिलोपटक चुनावी मैदानमा उत्रिएका छन्। राजा सहितको हिन्दु राष्ट्रको एजेन्डा बोकेर उनी मतदाता समक्ष पुगेका छन्, तर यो एजेन्डाले कति प्रभाव पार्छ भन्ने खुल्न बाँकी छ।
कसले चुनाव जित्छ भन्ने अहिले नै ठोकुवा गर्न सकिने अवस्था छैन। तर जनताको बोलाइ, उम्मेदवारहरूको सक्रियता र स्थानीय राजनीतिक समीकरणलाई हेर्दा कपिलवस्तु क्षेत्र नं. ३ को यो निर्वाचन अन्तिम समयसम्म पनि अत्यन्तै चासोपूर्ण र अनिश्चित रहने स्पष्ट देखिन्छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया