सफाइ पाएपछि प्रमाण खोज्दै प्रहरी, आरोपी भारततिर

काठमाडौं । भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिले अदालतबाट सफाइ पाएपछि काठमाडौं प्रहरी परिसर, टेकुले बल्ल प्रमाण जुटाउन थालेको छ ।

अपहरण तथा शरीर बन्धक कसुरका आरोपी दुर्गाबहादुर बुढाथोकी उर्फ सोले कुमारलाई प्रहरीले भारतबाट पक्राउ गरेको थियो । तर अदालतबाट सफाइ पाए । काठमाडौंका न्यायाधीश अम्बिकाप्रसाद निरौलाले तीन विषयलाई टेकेर उनलाई सफाइ दिएका छन् ।

सफाइ दिनुको कारणमा न्यायाधीशको जिकिर छ – पक्राउ परेका व्यक्ति नेपाली नागरिक भएको प्रमाण नहुनु, उनी नेपालको कुन स्थानमा बस्छन् भन्ने नखुल्नु र अर्को एउटै मुद्दामा हिरासतमा रहेका भन्ने व्यक्तिले सनाखत नगर्नू ।

आफ्नो अनुसन्धानमा भएको कमजोरीका कारण पक्राउ परेका व्यक्ति छुटेपछि भने प्रहरीले प्रमाण जुटाउन थालेको छ । काठमाडौं प्रहरी परिसर, टेकुले शुक्रबार इलाका प्रशासन कार्यालय, हरिवनलाई पत्र लखेर बुढाथोकीको नागरिकता अभिलेख माग गरेको छ । कार्यालयले पनि बुढाथोकीको ५४९८०३०१ नम्बरको नागरिकता प्रमाण पत्रको प्रतिलिपि प्रहरीलाई पठाएको छ ।

घटनामा प्रहरीबाट भएको कमजोरीबारे छानविन गर्न महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी चक्रबहादुर सिंहको नेतृत्वमा छानविन समिति बनाएको छ ।

दुर्गाबहादुर भने श्रीमती सकिला राईको रोहबरमा नख्खु कारागारबाट छुटिसकेका छन् । अधिकृतहरुले बुढाथोकी अहिले श्रीमतीसहित भारततिर पुगिसकेको दाबी गरेका छन् ।

अदालतले सफाइ दिएकाले नागरिकता बरामद भए पनि तत्काल पक्राउ गर्न प्रहरीसँग कानूनी आधार छैन । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख सहन्यायाधीवक्ता गंगाप्रसाद पौडेलले फैसलाको पूर्णपाठ आएपछि पुनरावेदनमा जाने बताए ।

तर प्रहरी अधिकृतहरुका अनुसार बुढाथोकीलाई पक्राउ गर्न त्यति सहज भने छैन । भन्छन्, ‘पहिले पनि उनी भागेकै हुन् । अब फेरि समात्छ भन्ने थाहा हुँदाहुँदै एकैठाउँ बसिराख्दैनन् ।’

बुढाथोकीको नागरिकता र प्रहरीले प्रशासनलाई पठाएको पत्रको जवाफ ।
कामदारको सूचनाले समातिएका थिए बुढाथोकी

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा फरार प्रतिवादीहरुको खोजी गर्ने एउटा पिल्लर छ । पिल्लरले दुई वर्ष अघिदेखि रावल अपहरणको फाइलमाथि अनुसन्धान गरिरहेको थियो ।

अधिकृतहरुको नजर रावल प्रकरणको मिसिलमा उल्लेखित सोले भनिने कुमार बुढाथोकी भन्ने नाममा परेको थियो । जसको ठेगाना र विस्तृत विवरण मिसिलमा खुलेको थिएन । ‘त्यही आधारमा छानविन गरिरहँदा उनको घर सर्लाही भएको थाहा भयो र त्यहाँ गएर ब्यूरोको टोलीले उनीबारे सूचना संकलन गरेको थियो’ ब्यूरोका प्रमुख धिरजप्रताप सिंह भन्छन्, ‘गाउँमा उनी लामो समयदेखि आएका थिएनन्, शुरुमा प्राप्त सूचना खासै उपयोगी थिएनन् ।’

बुढाथोकी पछिल्लो समय दार्जिलिङतिर रहेको सोधपुछ गरिएका अधिकांशको भनाइ थियो । प्रहरीले एकातिर बुढाथोकीले सम्पर्क गर्नसक्ने व्यक्तिहरुको मोबाइल नम्बरको कल डिटेल रेकर्ड (सीडीआर) को विश्लेषण गरिरहेको थियो भने अर्कातिर दार्जिलिङमा उनलाई देख्ने छन् कि छैनन् भन्ने पनि खोजी गरिरहेको थियो ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार दार्जिलिङतिर समन्वय गर्नुअघि बुढाथोकी त्यहाँ भएको पुष्टि गर्नु अनिवार्य थियो । ‘हामी यस्तो व्यक्तिको खोजीमा थियौं, जसले बुढाथोकीलाई देखेको होस् र सनाखत गरोस्,’ उनले भने, ‘त्यही क्रममा उनको पसलमा काम गरेकै व्यक्ति हाम्रो हात लाग्यो ।’

यो पनि पढ्नुहोस
अपहरण र फिरौती : १० वर्षे द्वन्द्वले फैलाएको अपराध
प्रहरी स्रोतका अनुसार केही वर्ष बुढाथोकीसँगै काम गरेका उनले प्रहरीसँग भएको बुढाथोकीको फोटो हेरेर त्यही व्यक्ति दार्जिलिङ बजारमा रहेको, तर उनको नाम ‘प्रकाश क्षेत्री’ भएको बताए । ‘गाउँबाटै प्रकाशको एउटा फोटो फेला परेको थियो, त्यो देखाएका थियौं,’ स्रोत भन्छ, ‘त्यसबाट उनी नाम बदलेर दार्जिलिङमा बसिरहेको पुष्टि भयो ।’ बुढाथोकी दार्जिलिङमा रहेकोप्रति विश्वस्त भएपछि प्रहरी उनीसँगै काम गरेका ती व्यक्तिलाई लिएर भारततिर गयो ।

‘उसले पसल देखाइदिएपछि हामी गएर नाम सोध्यौं, उसले फ्याट्ट प्रकाश बुढाथोकी भनिदियो’ अनुसन्धानमा खटिएका एक अधिकृत भन्छन्, ‘सामान्य कुराकानी गर्दै नेपालबाट घुम्न आएको बताएपछि उनले थप कुरा खोल्दै गएका थिए ।’

कुरैकुरामा अधिकृतहरुले ‘नेपालमा केही लफडा गरेका थियौ ?’ भनेपछि चाहिँ उनी अक्मकिए । छद्म भेषमा दार्जिलिङ पुगेका अधिकृतहरुलाई शंका गर्न थाले, त्यतिवेलै उनीहरुले पनि आफूहरु सीआईबीको प्रहरी भएको बताइदिए । सुरुमा उनले आफू अर्कै व्यक्ति भएको दाबी गरे । तर सँगै लिएका गएका व्यक्तिलाई अगाडि उभ्याएपछि उनले आफू प्रहरीको खोजी गरिरहेको व्यक्ति नै भएको स्वीकारे ।

अनुसन्धानमा खटिएका एक अधिकृतका अनुसार उनले एकपटकलाई माफी गरिदिन पनि आग्रह गरेका थिए । ‘त्यसपछि उनले घटनामा आफ्नो संलग्नताबारे खुरुखुरु बताए,’ प्रहरी स्रोत भन्छ, ‘नेपाल ल्याउँदासम्ममा उनले आफू रावल अपहरणमा चौकीदारका रुपमा खटिएको मात्र बताएनन्, अपहरणकारी प्रह्लाद महतसँगको सम्बन्धले अफ्ठ्यारोमा परेको पनि खुलाए ।’

यो पनि पढ्नुहोस
अपहरणका आरोपीलाई सफाइ : प्रहरीको कमजोर अनुसन्धान
भारतमै घरजम, श्रीमतीलाई भने – सानो हुँदाको लफडा

प्रहरीका अनुसार २६ वर्षको हुँदा अपहरणको मतियार बनेपछि उनी फरार भएका थिए ।

मोटरसाइकल चोरीमा संलग्न उनी २५ भदौ २०६४ मा पक्राउ पनि परेका थिए । तर प्रहरी वृत्त, बानेश्वरको भ्याण्डिलेसन तोडेर भागेका थिए ।

प्रहरीका अनुसार त्यो घटनापछि सर्लाहीको एउटै गाउँका प्रह्लाद महतको नजरमा उनी परेका थिए । ‘प्रह्लाद अमर टण्डनको विश्वासपात्र बनेर श्रृंखलाबद्ध अपहरण गरिरहेका थिए,’ एक प्रहरी निरीक्षक भन्छन्, ‘अपहरणमा सहयोगी चाहिरहेकाले उनैले चोरीमा संलग्न बुढाथोकीलाई अपहरणमा पनि तानेका हुन् ।’

टण्डन समूहले गरेको थुप्रै अपहरणका घटनामा उनैले मोटरसाइकल र भ्यानको व्यवस्थापन गरिदिएको प्रहरी बताउँछ । ‘तर सुरुमा उनी सिनमा देखिन्थेनन्,’ उनी भन्छन्, ‘भ्याली कोल्ड स्टोरको केशमा चाहिँ उनी आफैं अपहरणको महत्वपूर्ण भूमिकामा रहे ।’ त्यही कारण १२ वर्षपछि उनी प्रहरी फन्दामा परेका थिए ।

प्रहरीका अनुसार प्रारम्भिक बयानमा बुढाथोकीले आफू पहिलो अपहरणको प्रयासमै समस्यामा परेको दाबी गरेका छन् । ‘सबैले आरोप जति मलाई थोपरेका छन् । तर म मुख्य मान्छे होइन,’ उनको बयान उदृत गर्दै प्रहरी स्रोत भन्छ, ‘उनीहरुले आफू बच्नलाई मलाई ठूलो अपहरणकारी जस्तो देखाए ।’

सीआईबीले बुढाथोकीलाई काठमाडौं ल्याएपछि लिएको बयानको भिडियोमा पनि उनले आफूले ११ लाख पाएको र त्यसमध्ये ५ लाख प्रह्लादले लगेको भनेका छन् । जबकि, सोही घटनामा पक्राउ परेका अरु आरोपीहरुले फिरौतीवापतको एक करोड ५० लाख रुपैयाँ बुढाथोकीले लगेको दाबी गरेका छन् ।

अपहरणकारी बसेको महाराजगञ्जस्थित घरमा प्रहरी पुग्नुअघि आफू त्यहीँ भात पकाइरहेको बुढाथोकीले बयान दिएका छन् ।

उनका अनुसार अपहरणका नाइके प्रह्लादले महाराजगञ्जको घरबाट निस्किँदा आफू एक घणटासम्म नआए भाग्न भनेका थिए । त्यही अनुसार प्रह्लाद आउन ढिला भएपछि भागेर वीरगञ्जतिर गएको उनले भनेका छन् । ‘टण्डन समूहका उदय सेठ्ठीले उनलाई बोलाएका थिए, तर त्यही वेला प्रहरीले समात्न सक्नेमा प्रह्लादलाई शंका रहेछ,’ एक प्रहरी अधिकृत भन्छन्, ‘त्यसैले उनले बुढाथोकीलाई सचेत गराएका रहेछन् ।’

त्यही कारण प्रह्लाद प्रहरीबाट बच्न सफल भएको अधिकृतहरु दाबी गर्छन् । प्रहरीलाई दिएको बयानअनुसार वीरगञ्जबाट उनी कोलकाता हुँदै दार्जिलिङ पुगेका थिए । बुढाथोकीले प्रहरीलाई बताएअनुसार उनले दार्जिलिङमा सुरुमा कपडा बोक्ने काम गरेका थिए, त्यहीँ काम सिकेर कपडा पसल खोले । र, स्थानीय सकिला राईसँग विवाह पनि गरे । हाल उनीहरुको एक छोरी पनि छिन् ।

अनुसन्धानमा खटिएका एक अधिकृतका अनुसार प्रहरीले उनलाई लैजान खोजेपछि श्रीमतीले खोधीखोजी गरेकी थिइन् । प्रहरीले श्रीमतीलाई सम्झाउन उनैलाई अह्राए, बुढाथोकीले ‘सानोमा भएको लफडाले जानुपर्ने भयो, चिन्ता नगर्नू, फर्किएर आउँछु’ भनेको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP