
१९ पुष, काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक खेलतालिका सार्वजनिक गरेको छ।
क्यानले आज (बिहीवार) त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पत्रकार सम्मेलन गर्दै सन् २०२४ मा नेपालले खेल्ने राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिता समेटेर वार्षिक खेलतालिका सार्वजनिक गरेको हो। क्यालेन्डरमा जनवरी १ देखि डिसेम्बर ३० तारिखसम्मका गतिविधि समावेश गरिएको छ।
क्यानका सचिव पारस खड्काले वार्षिक क्यालेन्डरमा अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र एशियन क्रिकेट काउन्सिल (एसिसी) को क्यालेन्डरलाई पछ्याएर घरेलु क्रिकेटलाई समेत समावेश गरिएको बताए।
‘क्यालेन्डरमा अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना र सहभागिता तथा राष्ट्रिय प्रतियोगिता सञ्चालनबीच तालमेल हुने प्रयास गरिएको छ। कतिपय अवस्थामा अन्तरराष्ट्रिय प्रतियोगिता र देशभित्र आयोजना हुने क्षेत्रीय स्तरका प्रतियोगिता आयोजनालाई खुला गरिएको छ,’ उनले भने।
तालिकाअनुसार नेपालले सन् २०२४ मा आइसिसी विश्वकप लिग–२, अन्तरराष्ट्रिय टी–२० सिरिज र एकदिवसीय सिरिज खेल्नेछ। अन्तरराष्ट्रिय सिरिजमा नेपालको सिनियर पुरुष क्रिकेटसँगै महिला, उमेर समूहका यू–१९, यू–१६, पहिलो श्रेणी जस्ता प्रतियोगिता समावेश गरिएका छन्।
क्यानले विभिन्न अन्तरराष्ट्रिय ३३ कार्यक्रमसहित २८ वटा घरेलु प्रतियोगिता र कार्यक्रम क्यालेन्डरमा समावेश गरेको छ। क्यानको महत्त्वाकांक्षी घरेलु प्रतियोगितामा नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट मंसिरमा आयोजना गर्ने, क्षेत्रीय लिग र प्रतियोगिता, विभागीय सिरिज, प्रधानमन्त्री कप, इन्डो-नेपाल टी–२० क्रिकेट, मेयर कप जस्ता प्रतियोगिताहरू समावेश गरेको छ।
नेपालले आगामी फेब्रुअरी १० देखि १४ तारिखसम्म क्यानडासँग ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ। नेपालले २७ फेब्रुअरीदेखि ५ मार्चसम्म नामिबिया, नेदरल्याण्ड्स र नेपालबीच त्रिकोणात्मक टी–२० सिरिज खेल्ने खेलतालिकामा उल्लेख छ। उक्त खेल नेपालमै हुनेछ।
आगामी १९ मार्चदेखि ३० अप्रिलसम्म नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग ५ एकदिवसीय र ३ टी–२० खेल खेल्नेछ। क्यानले आफ्नो खेलतालिकामा आगामी मंसिरमा नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको आयोजना गर्ने समावेश गरेको छ।
सचिव खड्काले नेपालसँग कुनै देशले खेल्न चाहेमा त्यसलाई पनि खेलतालिकामा समावेश गरिने बताए। क्यानले क्यालेन्डरमा समावेश गरेको कार्यक्रमलाई आइसिसी, सरकार र प्रायोजकहरूको आर्थिक सहयोगले सम्पन्न गरिने जानकारी पनि उनले दिए।
सरकारले भौतिक संरचना निर्माणमा ध्यान दिए क्यानले विस्तारै टेस्ट टोलीहरु नेपालमै बोलाएर क्रिकेट खेल्ने वातावरण तयार गर्ने पनि उनले बताए।
व्यस्त तालिकालाई मध्यनजर गरेर क्यानले छिट्टै नेपालको ‘ए’, टी–२० र एकदिवसीय गरि छुट्टाछुट्टै टिम निर्माण गर्न लागेको म्यानेजर विनोद दासले जानकारी दिए।
क्यानले विशषगरी अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्व कपलाई लक्षित गरी कार्यक्रम तय गरेको पनि जनाएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया