
संजय रेग्मी
पर्वत : लामखुट्टेको नियन्त्रण सहित टोकाइबाट बच्न नसक्दा पर्वतमा डेंगु सङ्क्रमितहरूको सङ्ख्या दैनिक रूपमा उकालो लाग्दै गएको छ।
डेंगु नियन्त्रणका लागि लामखुट्टेका फुल तथा लार्भा खोज्ने र नष्ट पार्ने तथा लामखुट्टेको उपयुक्त वातावरण विनाश गर्ने अभियान चलिरहे पनि सङ्क्रमण भने गत वर्षको तुलनामा झनै बढ्दै गइरहेको स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रवीण शर्माले बताए।
गत वर्ष जिल्लाभरमा कुल २२५ जनामा सङ्क्रमणको पुष्टि भएकोमा यो वर्ष भने भदौको सुरुवातमै यो सङ्ख्या पार भइसकेको छ। गर्मी याम र वर्षाका कारण लामखुट्टेको सङ्क्रमण बढिरहेको र भदौ महिना झनै जोखिममा हुने भएकाले गत वर्षको तुलनामा यो वर्ष सङ्क्रमितहरूको सङ्ख्या झनै बढ्ने उनको भनाइ छ।
बुधवार बिहानसम्मको तथ्याङ्कअनुसार जिल्लाका कुल २२६ जनामा सङ्क्रमण हुँदा यीमध्येका सबैभन्दा बढी कुश्मा नगरपालिकाका मात्रै १७२ जना रहेका छन्। सङ्क्रमित भएका अन्यमा मोदी गाउँपालिकाका १० जना, जलजला गाउँपालिकाका ४ जना, फलेवास नगरपालिकाका २२ जना, महाशिला, बिहादी र पैयूँ गाउँपालिकाका एक/एक जना तथा अन्य जिल्लाका १५ जना रहेका छन्।
सङ्क्रमितमध्ये ४९ प्रतिशत अर्थात् १११ जना पुरुष र ५१ प्रतिशत अर्थात् ११५ जना महिला रहेका छन्। गण्डकी प्रदेशको तथ्याङ्क हेर्दा पर्वत जिल्ला तेस्रो बढी प्रभावित जिल्ला हो। प्रदेशमा सबैभन्दा बढी तनहुँ र दोस्रोमा कास्की जिल्ला डेंगुबाट प्रभावित छन्।
घर आसपासमा रहेको फोहर, झाडी, नहल्लिने गरेर जमेको पानीलगायतका कारण लामखुट्टेले फुल पारेर बच्चा सङ्ख्या वृद्धि हुने लामखुट्टेको टोकाइ बढ्दा डेंगुको जोखिम पनि झन् झन् बढ्दै जाने भएकोले सचेत हुन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ।
लामखुट्टेको टोकाइबाट बच्न आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडा लामखुट्टे नछिर्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप बाल्ने र मलम लगाउने, झ्यालढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, झुल लगाएर मात्र सुत्ने, पूरै शरीर ढाक्ने गरी लुगा लगाउनुपर्ने चिकित्सहरूको सुझाव छ।
उच्च ज्वरो आउने, जोर्नी र मांसपेशीहरू बेस्सरी दुख्ने, आँखाको गेडी दुख्ने, बेस्सरी टाउको दुख्ने, शरीरमा राता बिमिरा आउने, वाकवाकी लाग्ने वा बान्ता हुनेलगायतका लक्षण देखिए डेंगु भएको हुन सक्ने भएकाले समयमै स्वास्थ्य परीक्षण गराउनुपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन्।
एडिज जातको लामखुट्टेले बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी हुने भएकाले दिउँसोभन्दा बिहान र साँझको समयमा झनै सचेत हुनुपर्ने उनीहरूको सुझाव छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया