
घनश्याम भर
(विजयनगर) कपिलवस्तु, १७ जेष्ठ ।
अवधी समुदायको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कृष्णनगरमा अवधी साँस्कृतिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । आफ्नो तराईमा आफ्नो छुट्टै पहिचान कायम गरेकाे अवधी संस्कृतिकाे संरक्षण तथा प्रवर्द्धनका लागि कृष्णनगर नगरपालिकाले विगतका वर्षदेखि बजेट विनियोजन गर्दै आएको छ ।
अवध जागरण मिडिया प्रा.लि.को आयोजना तथा कृष्णनगर नगरपालिकाको सहयोगमा उद्योग वाणिज्य संघ कृष्णनगरमा आइतबार उक्त कार्यक्रम गरिएको हाे ।
आयोजित कार्यक्रममा लोप हुने अवस्थामा रहेका अवधी साँस्कृतिक भेषभूषा, लोकगीत तथा परम्परागत बाजाको प्रदर्शन गरिएको आयाेजक अवध जागरण मिडिया प्रालिका व्यवस्थापक निरहु यादवले जानकारी दिए ।
उनका अनुसार उत्सवमा अवधी समुदायका परम्परागत कँहरवा, कजरी, बिबाह गीत, बिरहा, झर्रा, धाेबिहवा, अहिरउवा लगायतका गीत तथा साँस्कृतिक प्रस्तुति प्रस्तुत गरिएका थियाे । सहभागीहरूले अवधी संस्कृतिको मौलिक पहिचान झल्किने भेषभूषा र सांगीतिक प्रस्तुतिमार्फत दर्शकहरूको मन जितेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले अवधी समुदायको परम्परागत भेषभूषा तथा संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले चाडपर्व, विवाह तथा अन्य विशेष अवसरहरूमा आफ्नै मौलिक भेषभूषा प्रयोग गर्न आग्रह गर्दै आधुनिकताको प्रभावसँगै समाज आफ्ना रीतिरिवाज र संस्कृतिबाट टाढिँदै गएको बताए ।
नगर प्रमुख शाहले अवधी कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि कृष्णनगर नगरपालिका सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै यस अभियानमा सबै समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।
उत्सवले अवधी समुदायको साँस्कृतिक पहिचान जगेर्ना गर्न तथा नयाँ पुस्तालाई आफ्ना मौलिक परम्परासँग जोड्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया