
कृष्णनगर, ३० जेष्ठ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाको आयोजना तथा देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविरमा पहिलो दिनमै सेवाग्राहीहरूको उल्लेखनीय सहभागिता देखिएको छ । शनिबार बिहानदेखि नै स्वास्थ्य परीक्षण गराउन आउने नागरिकहरूको भीड लागेपछि शिविरप्रति नगरवासीको आकर्षण स्पष्ट देखिएको हो ।
शिविरमा मुटु, मिर्गौला लगायत विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवा प्रदान गरिरहेका छन् । सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर मिलेपछि नगरका विभिन्न वडाबाट नागरिकहरू ठूलो संख्यामा शिविरमा सहभागी भएका छन् ।
नगरपालिकाका अनुसार आर्थिक अभाव, दूरी तथा अन्य कारणले नियमित स्वास्थ्य परीक्षण गराउन नसकेका नागरिकलाई लक्षित गर्दै शिविर सञ्चालन गरिएको हो । शिविरबाट विशेषगरी ज्येष्ठ नागरिक, दीर्घरोगी तथा विपन्न वर्गका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद अभिषेक प्रताप शाहले स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्न आवश्यक रहेको बताए । उनले आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न राज्य तथा जनप्रतिनिधिहरू गम्भीर रहेको उल्लेख गरे। यस्ता स्वास्थ्य शिविरले समयमै रोग पहिचान गर्न र नागरिकमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
नगर प्रमुख रजत प्रताप शाहले नगरवासीलाई निःशुल्क तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ शिविर सञ्चालन गरिएको जानकारी दिए। उनले स्वास्थ्यप्रति सचेत रहँदै शिविरबाट अधिकतम लाभ लिन सम्पूर्ण नगरवासीलाई आग्रह गरे ।
दुई दिने शिविर अन्तर्गत आइतबार पनि विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवा उपलब्ध गराइने नगरपालिकाले जनाएको छ। नगरपालिकाले सबै नगरवासीलाई शिविरमा सहभागी भई सेवा लिन अनुरोध गरेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया