
कृष्णनगर, ३० जेष्ठ ।
कपिलवस्तुकाे कृष्णनगर नगरपालिकाको समन्वय तथा सेभ द हार्ट, शिक्षण अस्पताल काठमाडौं महाराजगञ्जस्थित मिर्गौला रोग विभाग, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल), मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा प्रत्यारोपण केन्द्र र देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटको सहकार्यमा शिवराज अस्पताल, बहादुरगञ्जमा सञ्चालित निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविरको पहिलो दिन १ हजार ५ सय ९५ जना बिरामीले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।
शिविरमा मुटुरोग, मिर्गौला रोग, हाडजोर्नी तथा नसा रोग, नाक-कान-घाँटी, स्त्री तथा प्रसूति रोग तथा मानसिक स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको थियो । विशेषज्ञ सेवाअन्तर्गत मुटु तथा सामान्य चिकित्सा सेवातर्फ ७ सय १९ जना, हाडजोर्नी तथा नसा रोगतर्फ ३ सय २० जना, नाक-कान-घाँटीतर्फ १ सय ८५ जना, मिर्गौला रोगतर्फ १ सय ८० जना, स्त्री तथा प्रसूति रोगतर्फ १ सय ५० जना तथा मानसिक स्वास्थ्य सेवातर्फ ४१ जना बिरामीले परामर्श प्राप्त गरेका छन् ।
त्यसैगरी शिविरमा ३ सय २६ जनाको हृदय विद्युतीय परीक्षण (ईसीजी), २ सय २६ जनाको मुटुको भिडियो परीक्षण (इको), ३ सय १८ जनाको प्रयोगशाला परीक्षण, २ सय १० जनाको एक्स-रे तथा २ सय ८ जनाको अल्ट्रासाउण्ड सेवा निःशुल्क रूपमा प्रदान गरिएको थियो ।
ग्रामीण तथा विपन्न समुदायका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त शिविरमा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो । आयोजक संस्थाहरूले शिविरको दोस्रो दिन पनि विशेषज्ञ स्वास्थ्य सेवा निरन्तर सञ्चालन हुने जानकारी दिएका छन् ।
शिविरको दोस्रो दिन पनि निःशुल्क सेवा उपलब्ध रहने भएकाले स्वास्थ्य समस्या भएका सम्पूर्ण नागरिकलाई शिवराज अस्पताल, बहादुरगञ्जमा उपस्थित भई सेवा लिन अनुरोध गरिएको छ ।
कृष्णनगर नगरपालिकाले नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया