कपिलवस्तुको प्रमुख नाका कृष्णनगर भन्सार कार्यालयमा भारतबाट आयात भइरहेका सामग्रीको कम तौल देखाई राजस्व चोरी गरिरहेको तथ्य खुलेको छ। भन्सार कार्यालयमा विगत केही समययता यस्ता अनियमितताहरू नियमितजस्तै हुन थालेका छन्।
कम तौल र ओभरलोडको खेल
नयाँ भन्सार प्रमुख फणीन्द्र खतिवडाको कार्यकाल सुरु भएयता भारतबाट आयात हुने सामग्रीको तौल कृत्रिम रूपमा कम देखाई अत्यधिक सामग्री ओसारपसार गरिएको आरोप लागेको छ। भन्सार यार्डमा रहेको तौल मेशिन बिग्रेको बहानामा मर्मत नगरी नियतवश ओभरलोड गाडी पास गर्न दिइएको खुलासा भएको छ।
पुस २० गते कृष्णनगर भन्सारबाट भारतीय नम्बर प्लेटको गाडी एनएल ०१ एएच ५१८९ ले ओभरलोड मेसिनरी सामग्री लिएर जाँदा चितवनको दुम्कीबासस्थित पुल भासिएको थियो। यस घटनापछि कृष्णनगर भन्सार कार्यालयको लापरवाहीलाई लिएर सर्वत्र आलोचना भएको छ। जीर्ण अवस्थामा रहेको पुलबाट अत्यधिक तौल बोकेको गाडी पास गर्दा पुल नै भाँचिएपछि यो विषय थप चर्चामा आएको हो।
माघ ४ गतेको अर्को घटना
माघ ४ गते कृष्णनगर प्रहरी चेकपोस्टमा गरिएको चेकजाँचका क्रममा युपी ५३ एफटी ६८६९ नम्बरको मिनिट्रकमा बिलमा उल्लेखित २६२५ केजी सिद्रा माछाभन्दा २०५ केजी बढी अर्थात् २८३० केजी तौल भेटिएको थियो। प्रति केजी रु ५०० का दरले सिद्रा माछाको मूल्य १४ लाख १५ हजार रुपैयाँ रहेको र गाडीको मूल्य ३५ लाख रहेको छ।
चालक शिवशंकर राय र गाडी मालिक दुर्गा प्रसाद यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि आन्तरिक राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिएका छन्।
भन्सार प्रमुखमाथि शंका
भन्सार प्रमुख फणीन्द्र खतिवडाले यस्ता अनियमिततामा संलग्न भएको आशंका गरिएको छ। सूचना लिन खोज्दा फोन नउठाउने र कार्यालयमा पुगेपछि तथ्य लुकाउन प्रयास गर्ने प्रवृत्तिले उनको भूमिकामाथि प्रश्न उठेको छ। कम तौल देखाई बचत भएको राजस्व भ्रष्टाचारका रूपमा बाँडफाँड हुने गरेको विशेष स्रोतले जनाएको छ।
राजस्व लक्ष्यमा समस्या
यस्ता घटनाले भन्सार कार्यालयको राजस्व लक्ष्य प्रभावित हुने मात्र होइन, देशकै अर्थतन्त्रमा नकारात्मक प्रभाव पारिरहेको छ। नियमित अनुगमन र कडा कारबाहीका अभावमा यस्ता क्रियाकलाप थप मौलाउने देखिन्छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया