
घनश्याम भर
(विजयनगर) कपिलवस्तु, ८ जेष्ठ ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिकाले एसईई परीक्षा २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, विषय शिक्षक तथा विद्यालयलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । गाउँपालिकाभित्रका माध्यमिक तहका विद्यालयहरूको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन योगदान पुर्याउने विषय शिक्षकहरूलाई प्रोत्साहन स्वरूप जनही ७ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको प्राविधिक सहायक शिव कुमार चाैधरीले जानकारी दिए ।
उनका अनुसार सम्मानित हुने शिक्षकहरूमा हरिबोध माध्यमिक विद्यालय प्रेमनगरका अर्जुन पल्ली, दूधाधारी नमुना माध्यमिक विद्यालय गुगौलीका शशीला थापा मगर, अनिल यादव, सुग्रीव प्रसाद कोरी, कञ्चन थारु तथा त्रिनेत्र माध्यमिक विद्यालय मधुनगरका रामेश्वर चौधरी रहेका छन् ।
विद्यार्थीतर्फ हरिबोध माध्यमिक विद्यालय प्रेमनगरका शिव प्रसाद लोनियाले ३.६२ जीपीए प्राप्त गर्दै प्रथम स्थान हासिल गरेका छन् । सोही विद्यालयका सुवास पौडेलले ३.५७ जीपीए ल्याई द्वितीय तथा विष्णु न्यौपानेले ३.५४ जीपीएसहित तृतीय स्थान प्राप्त गरेका छन् ।
छात्रातर्फ दूधाधारी नमुना माध्यमिक विद्यालय गुगौलीकी केशमाया खङ्गाहाले ३.३२ जीपीएसहित प्रथम, खुशी रानाले ३.२० जीपीए सहित द्वितीय तथा भूमिका सारुले ३.१५ जीपीए प्राप्त गरी तृतीय स्थान हासिल गरेकी छन् । उनीहरूलाई क्रमशः १० हजार १ सय २५ रुपैयाँ, ७ हजार ५०० रुपैयाँ र ५ हजार २ सय ५० रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । पालिकाभित्र उत्तीर्ण भएका १ सय ५९ जना विद्यार्थीलाई नै सम्मान गरिएको हाे ।
यसैगरी उत्कृष्ट विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई समेत सम्मान गरिएको छ । शिक्षा, युवा तथा खेलकुद शाखाका अनुसार पालिकाभित्र दूधाधारी नमुना माध्यमिक विद्यालय गुगौली ६९.९ प्रतिशत नतिजासहित प्रथम, त्रिनेत्र माध्यमिक विद्यालय ६२.५ प्रतिशतसहित द्वितीय तथा हरिबोध माध्यमिक विद्यालय प्रेमनगर ६०.७१ प्रतिशतसहित तृतीय भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले पुरस्कार तथा सम्मानले विद्यार्थी, शिक्षक र विद्यालयलाई थप प्रेरणा र हौसला प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले विद्यार्थीहरूलाई निरन्तर अध्ययन र थप मिहिनेतमा केन्द्रित हुन आग्रह गर्दै प्रथम भएको दूधाधारी नमुना माध्यमिक विद्यालयलाई व्यवस्थापनका लागि १ लाख रुपैयाँ प्रदान गरिएको जानकारी दिए ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले उत्कृष्टता हासिल गर्ने वातावरण निर्माण गर्न सम्मान तथा पुरस्कार कार्यक्रम आयोजना गरिएको बताए । “जीवनका हरेक सफलता आइरन गेटजस्तै हुन्छन्, त्यसलाई पार गर्न निरन्तर मिहिनेत आवश्यक छ,” उनले भने । समग्र पालिकाको एसईई नतिजा ४०.३५ प्रतिशत रहेको उल्लेख गर्दै उनले आगामी दिनमा अझ सुधार हुने अपेक्षा व्यक्त गरे ।
गत वर्ष घाेषणा गरे अनुसार ७ का वडा अध्यक्ष दिनेश कुमार चाैधरीले पालिकाभित्र अध्ययनरत एसईई परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरेका विद्यार्थीलाई साइकल उपहार प्रदान गरेका छन् । उनले याे कार्यक्रम निरन्तरता दिइने प्रतिबद्धता जनाए ।
कार्यक्रममा गाउँपालिकाबाट अवकाश प्राप्त प्रशासन अधिकृत बासुदेव जमरकट्टेल, सरुवा भई गएका शिक्षा अधिकृत हरिहर बेल्बासे तथा सामाजिक परिचालक ज्योति सिंह ठकुरीलाई सम्मान तथा बिदाई समेत गरिएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया