
सुशीला मिश्र
विजयनगर, १४ जेष्ठ ।
कपिलवस्तुको शिवराज नगरपालिका-९ मा महिला नेतृत्व विकास तालिम कार्यक्रम सम्पन्न भएको छ । ९ नम्बर वडा कार्यालयको आयोजना तथा एसपीएसए कम्प्युटर इन्स्टिच्युटको प्राविधिक सहयोगमा सञ्चालन गरिएको ७ दिने महिला नेतृत्व विकास तालिम बिहिबार सकिएको वडा सचिव बिष्णु अधिकारीले जानकारी दिए ।
महिलाको क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा सामाजिक सहभागिता बढाउने उद्देश्यले सञ्चालन गरिएको तालिममा ३० जना महिलाको सहभागिता रहेको थियो । तालिमका क्रममा नेतृत्व विकास, निर्णय क्षमता, आत्मविश्वास अभिवृद्धि तथा समुदायमा महिलाको भूमिकाका विषयमा सहजीकरण गरिएकाे एसपीएसए कम्प्युटर इन्स्टिच्युटका सञ्चालक सुबास यादवले बताए ।
समापन कार्यक्रमलाई सम्बाेधन गर्दै नगर उप-प्रमुख शिव कुमारी थारुले महिलाहरु समाज रूपान्तरणका प्रमुख आधार भएको बताउँदै नेतृत्वमा महिलाको सहभागिता बढ्न आवश्यक रहेको उल्लेख गरिन् । उनलेे महिलाहरुकाे सशक्त आन्दोलन र बलिदान पश्चात् मात्रै संविधानमा महिला अधिकार सुनिश्चित भएको जिकिर गरिन् ।
उनले महिलाहरुकाे संख्या देशमै बढी भएकाे बताउँदै महिलाले चाहेमा उच्च पदमा महिला नेतृत्व ल्याउन सक्ने बताइन् । उनले तालिमबाट प्राप्त ज्ञान र अनुभवलाई व्यवहारमा लागू गर्न सहभागीहरुलाई आग्रह गर्दै नगरपालिकाबाट सक्दाे सहयोग गर्ने प्रतिबद्धता समेत जनाइन् ।
त्यसैगरी वडा अध्यक्ष राम गोपाल चौधरीले महिलालाई सक्षम र आत्मनिर्भर बनाउन यस्ता तालिम प्रभावकारी हुने बताए । उनले स्थानीय तहले महिलाको क्षमता विकासका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
यसैगरी वडा सदस्य सरिता बिकले महिलाको सशक्तिकरण बिना समृद्ध समाज निर्माण सम्भव नभएको धारणा राख्दै तालिमले महिलामा आत्मविश्वास वृद्धि भएको र समुदायमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा सहभागी महिलाहरुले तालिमबाट नेतृत्व क्षमता विकास, बोल्ने शैली, समूहमा काम गर्ने सीप तथा निर्णय लिन सक्ने आत्मविश्वास बढेको प्रतिक्रिया दिएका थिए ।
यसै अवसरमा इलाका प्रहरी कार्यालय सुन्दरी डाँडाले समुदाय-प्रहरी-साझेदारी कार्यक्रम अन्तर्गत बाल बिबाह विरुद्ध अन्तरक्रियासमेेत गरेकाे छ । प्रहरी निरीक्षक आदर्श गिरीले बाल बिबाह विद्यामान समस्या भएको बताउँदै त्यसका असर, चुनाैती र कानुनी प्रावधानकाे बारेमा जानकारी गराएका थिए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया