
सुशिला मिश्र
विजयनगर, २८ जेष्ठ ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा महिलाको नेतृत्व विकास, आत्मनिर्भरता तथा सामाजिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको ४ दिने महिला सशक्तीकरण तथा क्षमता विकास तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा “अबको पाइला, नेतृत्वमा महिला” भन्ने मूल नारासहित जेठ २५ गतेदेखि २८ गतेसम्म सञ्चालन भएको उक्त तालिम बिहीबार सम्पन्न भएको हो ।
गाउँपालिकाभित्रका विभिन्न वडाका १ सय ७० जना महिलाको सहभागिता रहेको तालिममा महिलाको नेतृत्व क्षमता विकास, निर्णय प्रक्रियामा सहभागिता, आत्मविश्वास अभिवृद्धि, लैङ्गिक समानता, सामाजिक तथा आर्थिक सशक्तीकरण, कानुनी अधिकार र समुदायमा महिलाको भूमिका लगायतका विविध विषयमा प्रशिक्षण प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
तालिमका क्रममा सहभागी महिलाहरूलाई स्थानीय तहमा महिलाको नेतृत्व विस्तार, सार्वजनिक जीवनमा सक्रिय सहभागिता, आत्मनिर्भर बन्ने उपाय तथा अधिकारसम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी गराइएको थियो । प्रशिक्षकहरूले महिलालाई घरपरिवारको सीमित घेराभन्दा बाहिर निस्केर सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गरेका थिए ।
कार्यक्रममा सहभागी महिलाहरूले तालिमले आफूहरूमा नयाँ सोच, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् । उनीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई आफ्नो समुदायमा प्रयोग गर्दै अन्य महिलालाई समेत जागरूक बनाउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
तालिमको सहजीकरण पिपुल्स केयर कन्सल्टेन्सीले गरेको थियो । तालिममा प्रशिक्षकका रूपमा ऋषि न्यौपाने, माधव सापकोटा, सरस्वती आचार्य, लता खड्का, अधिवक्ता हेमा न्यौपाने तथा अधिवक्ता राधा अधिकारीले विभिन्न विषयमा सहजीकरण गरेका थिए ।
विजयनगर गाउँपालिकाले महिलाको नेतृत्व विकास र सशक्तीकरणलाई आफ्नो प्राथमिकतामा राखेको उल्लेख गर्दै आगामी दिनमा पनि महिलाको क्षमता अभिवृद्धि, आत्मनिर्भरता र नेतृत्व विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ ।
गाउँपालिकाका अनुसार महिलाको सक्रिय सहभागिताबिना समावेशी र दिगो विकास सम्भव नहुने भएकाले महिलालाई सक्षम, आत्मविश्वासी र नेतृत्वदायी भूमिकामा स्थापित गर्ने लक्ष्यका साथ यस्ता कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।
तालिम समापनसँगै सहभागी महिलाहरूले सिकाई र अनुभव आदानप्रदान गर्दै आगामी दिनमा समुदायस्तरमा महिलाको हक, अधिकार र नेतृत्व प्रवर्द्धनमा सक्रिय रहने प्रतिबद्धता जनाएका छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया