
कृष्णनगर, ३१ जेष्ठ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाको समन्वय तथा सेभ द हार्ट, शिक्षण अस्पताल काठमाडौं महाराजगञ्जस्थित मिर्गौला रोग विभाग, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल), मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा प्रत्यारोपण केन्द्र र देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटको सहकार्यमा शिवराज अस्पताल, बहादुरगञ्जमा सञ्चालित निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना बिरामी लाभान्वित भएका छन् ।
दुई दिनसम्म सञ्चालन भएको शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक परीक्षण सेवा प्रदान गरेका थिए । शिविरप्रति स्थानीय नागरिकको उल्लेखनीय आकर्षण देखिएको थियो भने टाढाटाढाबाट समेत सेवाग्राहीहरू स्वास्थ्य परीक्षणका लागि पुगेका थिए । कृष्णनगर नगरपालिकासहित विजयनगर गाउँपालिका र शिवराज नगरपालिका र महाराजगन्ज नगरपालिकाका नागरिक समेत शिविर मार्फत सेवा लिएका छन् ।
शिविरमा मुटुरोग सम्बन्धी १ हजार ६ सय ५ जना, मिर्गौला रोग सम्बन्धी ४ सय ८ जना, स्त्री तथा प्रसूति रोग सम्बन्धी ४ सय ६ जना, मानसिक स्वास्थ्य सम्बन्धी २ सय १६ जना, हाडजोर्नी तथा नसा रोग सम्बन्धी ८ सय ३० जना र नाक, कान तथा घाँटी (ईएनटी) सम्बन्धी ३ सय २० जनाले सेवा प्राप्त गरेका छन् ।
त्यसैगरी शिविर अवधिमा ५ सय ९१ जनाको ईसीजी परीक्षण, ३ सय ८१ जनाको इको परीक्षण, ३ सय ६६ जनाको एक्स-रे, ७ सय ६३ जनाको प्रयोगशाला (ल्याब) परीक्षण तथा ४ सय २३ जनाको अल्ट्रासाउण्ड (यूएसजी) सेवा प्रदान गरिएकाे जनाइएको छ ।
कार्यक्रमलाई सम्बाेधन गर्दै कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले नगरपालिकाले विशेषज्ञ स्वास्थ्य सेवालाई नागरिकको घरदैलोमा पुर्याउने उद्देश्यले शिविर सञ्चालन गरेको बताए । उनले यस्ता कार्यक्रमले आर्थिक रूपमा कमजोर तथा उपचारको पहुँचभन्दा बाहिर रहेका नागरिकलाई ठूलो राहत मिल्ने भन्दै आगामी दिनमा पनि यस्ता स्वास्थ्य सेवा अभियानलाई निरन्तरता दिइने बताए ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकाेटाले शिविरबाट हजारौं नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएको उल्लेख गर्दै स्थानीय सरकार, स्वास्थ्य संस्थाहरू र नागरिकको सक्रिय सहभागिताले कार्यक्रम सफल भएको बताए । आगामी दिनमा पनि यस्ता जनहितमुखी स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइने उनकाे भनाई छ ।
कार्यक्रमका सम्पर्क व्यक्ति डा. दुर्गेश चौधरीले शिविरमा अपेक्षा भन्दा बढी नागरिकको सहभागिता रहेको बताउँदै विशेषज्ञ चिकित्सकमार्फत गुणस्तरीय सेवा प्रदान गर्न सफल भएको बताए । उनले शिविरमा पहिचान भएका जटिल प्रकृतिका बिरामीहरूको थप उपचार तथा रेफरल व्यवस्थासमेत गरिएको जानकारी दिँदै स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गरे ।
आयोजकका अनुसार आर्थिक अभाव तथा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको शिविरले हजारौं नागरिकलाई प्रत्यक्ष लाभ पुर्याएको छ । शिविरमा विशेषज्ञ चिकित्सकहरूको सहभागिताले स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुगेको बताइएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया