
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो काम गरेकाले एमालेलाई सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेको टिप्पणी गरेका छन्।
‘देश समृद्ध होस्, जनता सुःखी रहून्’ भन्ने ध्येयका साथ काम गरिरहँदा पनि केही मानिसहरु एमालेलाई सरकारमा पुग्न नदिन अनेक उपायको खोजीमा लाग्ने गरेको ओलीको भनाई छ।
सोमबार भक्तपुरमा निर्माण गरिएको ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम’को उद्घाटन गर्दै उनले आफू भने कुनै प्रतिफलको आशा नगरी देश र जनताको समृद्धिको काममा लागिपर्ने बताए।
उनले आफू सरकारमा नभए पनि देश र जनताका लागि केही न केही काम गरिरहेको दावीसमेत गरे। उनले आफू सरकारमा सहभागी भएको बेला सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्याउनेलगायतका धेरै काम आफूले गरेको तर त्यसको जस आफूलाई नै दिनुपर्छ भन्ने मान्यता नलिएको पनि पटकपटक दोहोर्याए।
ओलीले देश र जनताको सेवा गरेवापत प्राप्त हुने सन्तुष्टि नै आफ्नो लागि सबैभन्दा ठूलो प्राप्ती भएको बताए। उनले आफूले नै सडक बालबालिकाको व्यवस्थापनको काम सुरु गरेको बताए।
ओलीले भने, ‘कमसेकम के चाहीँ भन्न सक्छु भने म सरकारमा हुँदा ज्येष्ठ नागरिक भत्ता सुरु गरिएको थियो। पछिल्लो पटक म सरकारमा हुँदा ज्येष्ठ नागरिकलगायत एकल महिला, अशक्तता भएका व्यक्तिहरु, अपांगता भएका व्यक्तिहरु समेतलाई प्रतिमहिना ४ हजार दिने गरी त्यो प्रबन्धमा मैले पुर्याएको छु आफैंले निर्णय गरेर। हाम्रा बालबालिकाहरु अनाथ भएर, सडकमा बस्न सक्दैनन् भनेर उनीहरु सडकमा अलपत्र पर्ने होइन, त्यसको व्यवस्था सरकारले गर्छ भनेर मैले तिनको खाने, बस्ने, पढने प्रबन्ध सुरु गराएँ। नेपाल भिखमंगाको देश होइन भनेर भिख माग्न कसैले नपरोस् भनेर, सोधेर, खोजेर भिख माग्नु नपर्ने स्थिति बनाइयो।’
दूर्गम ठाउँहरुको अन्त्य हुने गरी सडक सञ्जाल निर्माणको काम सुरु गरेको भए पनि त्यसको श्रेय लिनुपर्छ भन्ने नलागेको पनि उनले बताए।
‘नेपालका बाटाघाटाले नेपाल जोडियोस्‚ दूर्गम ठाउँ कहीँ पनि नरहोस् भनेर हुलाकी बाटोलाई राजमार्ग बनाइएको हो दुई लेनको। मदन भण्डारी राजमार्ग नयाँ बनाइएको हो। पुरानो राजमार्गलाई ४ लेन, ६ लेनको बनाइएको हो। जनकपुरमा रेल ल्याइएको हो। पूर्वपश्चिम रेलको लाईन बनाइएको हो। मध्य पहाडी राजमार्ग खनाइएको हो‚’ ओलीले भने‚ ‘अब मध्यपहाडी राजमार्गबाट यही मंसीरको अन्त्यतिर पश्चिमबाट सुरु गरेर पूर्व पहाडैपहाडतिरबाट जाने यो योजना बनाएको थिएँ र मैले दूर्गमभन्दा दूर्गम ठाउँहरु हिमाल पारीका गाउँहरु म घुम्न गएको छु। झापाको मात्रै कुरा होइन‚ देशभरिका जनतालाई माया गर्छु। झापाको बाटो बनाउने कुरा होइन म देशभरि बाटो बनाउँछु। देशभरिका जनतालाई खानेपानीको व्यवस्था गर्छु भन्ने मेरो उद्देश्य हो। यो वापत मैले श्रेय पाउँ भनेर होइन‚ मलाई श्रेय पाउनु/नपाउनुसँग खासै अर्थ राख्दैन। कसैले राम्रो भनोस्, नभनोस् तर राम्रो काम चाहिँ गर्नैपर्छ।’
ओलीले जनताको सेवा गरेर प्राप्त हुने सन्तुष्टिबाट नै आफूलाई सन्तुष्टि मिल्ने गरेको बताए। उनले ज्येष्ठ नागरिक आश्रमहरुलाई जातको आधारमा भेदभावपूर्ण व्यवहार नगर्न पनि सचेत गराए।
‘समृद्ध देश र जनतालाई सुखी बनाउनु पर्छ। देश समृद्ध होस्, जनता समृद्ध होस्। यस देशको आधुनिकीकरण गर्नु पर्छ, विकास गर्नुपर्छ। मेरो कुरा सुनेपछि यो मान्छेलाई सरकारमा पुग्न नदिन केही न केही उपाय गर्नैपर्छ भनेर सोच्न थाल्छन्। किनभने यी कामहरु गर्नुको अर्थ उनीहरुको कारोबार बन्द हुन्छ‚’ ओलीले भने‚ ‘त्यसकारण केही मान्छेहरु त्यसको विरुद्धमा लाग्छन फेरि तर यो चिन्ताको विषय होइन। हामी कर्मणेवाधिकारस्ते भनेजस्तो प्रतिफल के आउँछ भन्ने कुरा होइन। तपाईंले दान दिएपछि के प्रतिफल आउँछ? दान दिएपछि प्रतिफलभन्दा सन्तुष्टि मिल्छ‚ आनन्द मिल्छ तपाईंलाई। त्यसकारण सेवा गरेपछि के प्रतिफल आउँछ? आनन्द मिल्छ त्यसबाट। सन्तोष मिल्छ त्यसबाट। त्यही हो प्राप्ती।’
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया