
काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदमा आफ्नो पार्टीलाई बोल्न नदिएको भन्दै आपत्ति जनाउनुभएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले जे बोल्यो त्यही नै आफ्नो पार्टीको भाष्य हो भन्ने ढङ्गले आफ्नो पार्टीलाई संसदमा बोल्न नदिएको दाबी गर्दै उहाँले त्यसप्रति आफ्नो पार्टीको घोर आपत्ति रहेको बताउनुभयो ।
सोमवार प्रतिनिधिसभा बैठकमा सभापति लामिछानेले संसदमा आफ्नो पार्टी स्वतन्त्र अस्तित्वमा रहेकाले त्यहीअनुसारको व्यवहारको अपेक्षा गरिएको पनि बताउनुभयाे । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देशको राष्ट्रियताको सवालमा बोल्दा ख्याल राख्न पनि सचेत गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘दुई दिन अगाडि संसदमा रास्वपालाई बाइपास गरेर बोल्न दिइएन । हामी त्यसमा घोर आपत्ति जनाउन चाहन्छौँ । आफ्नै स्वतन्त्र अस्तित्वका साथ रास्वपा उभिएको छ । हाम्रो कुरा राख्न नपाउँदै प्रमुख प्रतिपक्षले जे बोल्यो त्यसैलाई नै हाम्रै भाष्य हो भन्ने कुरा प्रमाणित गर्ने किसिमको जालसाजीपूर्ण क्रियाकलाप भयो । प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति घोर आपत्तिजनक छ । राष्ट्रिय स्वाधीनताको मुद्दा, राष्ट्रियताको सवालको मुद्दा र यो देशका सार्वभौमिकताको मुद्दामा यसरी फिर्ता लिनुपर्ने वा अप्ठ्यारो हुनुपर्ने अभिव्यक्तिका लागि भविष्यमा पनि सचेत हुन म पधानमन्त्रीजीलाई विनम्रतापूर्वक यहीँबाट अनुरोध गर्न चाहन्छु ।’
सभापति लामिछानेले संसद्/देशलाई कांग्रेस, एमाले र माओवादी केन्द्र तीन ठूला दलले बन्धक बनाउन नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयाे, ‘यो संसद् तीन दलले बन्धक बनाउन मिल्छ ? तीन दलले जे निर्णय गर्याे त्यही हो । अरू बाँकी रहेका माननीयहरू को ? हामी प्रतिपक्षमा छौँ । प्रतिपक्षले उठाएका विषयमा हामी एकढिक्का छौँ । सरकारले गरेको राम्रो काममा स्याबासी भन्न पनि हामी हिचकिचाउँदैनौँ । यो संसद्ले गर्नुपर्ने थुप्रै काम छन् अनि शीर्ष नेताहरूलाई मूड चलेन भनेर यो सदन रोकिन्छ सभामुख महोदय ? यो कदापि स्वीकार्य छैन ।’
सभापति लामिछानेले मिटरब्याज पीडितहरूलाई थप पीडा दिने काम नगर्न पनि सरकारलाई सचेत गराउनुभयो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया