
मकवानुपर – वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले जनताको सुविधाका लागि मन्त्रालयको सङ्ख्या बढाएर १४ पुर्याएकाे बताउनुभएकाे छ । आज आइतवार प्रदेश सभा बैठकमा सांसदहरूको प्रश्नको उत्तर दिँदै मुख्यमन्त्री पाण्डेले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘तीन वटा दलकाे गठबन्धनकाे सरकार भएका कारण धेरै मन्त्रालय बनाएकाे भन्ने कुरा उठ्याे । कतिले धेरै साथीहरूलाई मन्त्री बनाउनपर्ने भएर मन्त्रालयकाे सङ्ख्या बढेकाे पनि भन्नुभयाे । तर हामी मन्त्रालयलाई व्यवस्थित गर्न सक्याैँ भने धेरै काम गर्न सक्छौँ भनेर त्यसाे गरिएकाे हाे । काम छिटो छरितो र जनतालाई चाँडै सेवा सुविधा दिनका लागि मन्त्रलय बढाएका हौँ ।
१५ लाख नागरिक सवारी साधन प्रमाणपत्र पाउन लाइनमा छन् । तर अबको तीन वर्ष लाग्दा पनि उनीहरूले त्यो प्रमाणपत्र लिन सक्दैनन् । त्यो खालको अफ्ठ्यारो स्थिति छ । त्यसैले छिटो भन्दा छिटो सवारी साधन चालक प्रमाणपत्र दिन ट्रायल सेन्टरहरु बढाउने, त्यसको लागि पनि हामीले कार्यविधि पास गरिसकेका छौँ । आज फेल भएको मान्छेले भोलि नै ट्रायल दिन सकोस् भन्ने हिसावले काम अघि बढाएका छौँ ।’
सांसदहरूकाे प्रश्नकाे जवाफ दिने क्रममा मुख्यमन्त्री पाण्डेले यसअघिको सरकारले चाहिने काममा बजेट नछुट्याएको आरोप लगाउनुभयाे । उहाँले सुरुङ जस्तो राष्ट्रिय गौरवको योजनामा जम्मा ७५ करोड रुपैयाँ बजेट राखेको तर निर्माण सुरु गरेदेखि सम्पन्न गर्ने बेलासम्म झन्डै २४ अर्ब रुपैयाँ लाग्ने स्थिति रहेको बताउनुभयो । उहाँले सुरुङ र सडक निर्माणका लागि विदेशी बैंकहरूले ऋण दिन इच्छुक रहेको बताउँदै तत्काल नबन्ने काममा सानो बजेट छुट्याएर बजेट फ्रिज गर्न नमिल्ने भनाइ राख्नुभयाे ।
मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘सुरुङ बनाउन भनेर ७५ करोड राखेको रहेछ । यही रोस्टमबाट तत्कालीन मुख्यमन्त्रीले बजेटको सुनिश्चितता भएन भने सुरुङमा पैसा राख्दिनँ भन्नुभएको थियो । जुन पैसाबाट सुरुङ तत्काल बन्दैन, हामी जत्तिको राजनीतिक मान्छेले जनताको आँखामा सरासर धुलो हाल्नु हुन्छ र ? सुरुङ नबन्ने त्यो पैसा फ्रिज बनाउने कुरा मात्रै हुन्छ । त्यसबाट जनताको सेवा हुँदैन । त्यस्तै विद्युतीय बसको कुरा विद्युतीय बस अहिले चल्ने बाटो नै छैन । केही मानिसहरू कति ल्याइदिऔँ भनेर आएका थिए । चल्ने बाटो नै छैन यो कुरा छलफल नगर्नुस् भनेर पठाइदिएँ । चार्जिङ स्टेशन तयार छैन । कहाँ चलाउने हो विद्युतीय बस ? सुरुङलाई, विद्युतीय बसलाई भनेर छुट्याएको पैसा आजका दिनसम्म खर्च भएको छैन । तर म घोषणा गर्दछु, अब चलाउँछौँ । अब त्यो पैसा थन्क्याएर राख्दैनौँ । फ्रिज गर्दैनौँ । कलेज, विद्यालय, पानी, जनताका लागि रोकिएका सेवा र सुविधाका लागि पठाउँछौँ ।’
मुख्यमन्त्री पाण्डेले यस आर्थिक वर्षमा अहिलेसम्म २० प्रतिशत बजेट मात्रै खर्च हुन सकेको भन्दै अब विकासका कार्यक्रम धमाधम सुरु हुने प्रतिबद्धता जनाउनुभयो ।
मुख्यमन्त्री पाण्डेले अहिले विज्ञान र प्रविधिको समय भएको उल्लेख गर्दै सवारी साधनहरूमा क्यासलेस सिस्टमको विकास गर्न आवश्यक रहेको र त्यसमै प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले चालक, सहचालकहरूको जागिर असुरक्षित भएको भन्दै प्रदेश सरकारले अब उनीहरूलाई पनि सम्मानित कर्मचारीको हैसियतमा रहेर काम गर्ने स्थिति बनाउन लागेको दाबी गर्नुभयाे ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया