
काठमाडौँ : बंगलादेशमा आयोजित यु-२० महिला साफ च्याम्पियनसिपमा उपविजेता बनेको महिला टोली शुक्रवार स्वदेश फर्किएको छ।
बंगलादेशको मुस्ताफा कमल स्टेडियममा बिहीवार भएको फाइनल खेलमा आयोजक बंगलादेशसँग ३-० ले पराजित भएसँगै नेपाल उपविजेता भएको थियो। सोही टोली शुक्रवार नेपाल फर्किएको हो।
नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले स्वागत गरे। विमानस्थलमा ओर्लिएपछि नेपाली टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले समग्रमा खेलाडीको प्रदर्शनमा सन्तुष्ट रहेको बताए।
खेलाडीले अनुभव लिने मौका पाएको भन्दै प्रशिक्षक गुरुङले कुनै पनि उमेर समूहको प्रतियोगिता नखेलेको टोली बनाएर खेलाउँदा आफू सफल भएको बताए। उनले फाइनलमा नेपाली समर्थकलाई खुशी दिलाउन नसकेकोमा दुःख व्यक्त गरे।
प्रशिक्षक यामप्रसाद गुरुङले फ्लड लाइट, मैदान र म्याच बलका कारण नेपाली खेलाडीले स्वाभाविक खेल खेल्न नसकेको स्विकारे।
नेपाली यु-२० महिला टोली माघ २० गतेदेखि शुरु भएको प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भारत र भुटान सहभागी थिए। बंगलादेश शीर्ष तथा नेपाल दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेका थिए। पहिलो खेलमा पनि पराजित नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको हो।
फाइनलमा बदला लिने लक्ष्यसहित मैदानमा उत्रिए पनि अनुभवको कमीका कारण सफल हुन नसकेको कप्तान प्रीति राईले बताइन्। उनले भारतलाई हराउँदै फाइनल पुगे पनि लक्ष्य उपाधि रहेको अवस्थामा घरेलु टोलीले फाइदा उठाएको बताइन्।
एक महिने तयारी राम्रो भए पनि नेपाली टोलीको तुलनामा बंगलादेश धेरै राम्रो भएकाले अपेक्षाअनुसारको खेल खेल्न नसकेको बताइन्। प्रशिक्षक गुरुङले भनेजस्तै प्रीतिले पनि मैदान, बल र फ्लड लाइटका कारण शुरुवाती खेलमा स्वभाविक खेल देखाउन नसकेको बताइन्।
यस्तै सम्पन्न प्रतियोगितामा चार गोल गरेकी फरवार्ड अमीषा कार्कीले राष्ट्रिय टोलीमा समावेश हुँदै खेलेको अनुभवले उमेर समूहको खेल खेल्न धेरै सहज भएको प्रतिक्रिया दिए। उनले पहिलेको तुलनामा यसपालि उमेर समूहबाट नतिजा निकाल्दा खुशी लागेको भन्दै अनुभव भए खेल राम्रो खेल्न सकिने बताइन्।
उनले पनि मैदानको अवस्था बुझ्दैमा शुरुवाती खेल सकिएको र फाइनलमा प्रतिस्पर्धात्मक खेल खेले पनि आयोजकले घरेलु मैदानको फाइदा उठाउँदा लक्ष्य पूरा हुन नसकेको बताइन्। फाइनलमा बदला लिने लक्ष्यलाई भाग्यले साथ नदिएको बताइन्।
यसअघि यु-१८, यु-१९ को नामले आयोजना भएको प्रतियोगिता यो संस्करण यु-२० को नाममा साफले आयोजना गरेको हो। योसँगै बंगलादेशले उमेर समूहको प्रतियोगितामा तेस्रोपटक सफलता हात पारेको छ।
यसअघि बंगलादेशले २०१८ र २०२१ मा उपाधि जितेको थियो। नेपाल भने दोस्रोपटक उपविजेता भएको छ। सन् २०१८ मा भएको पहिलो संस्करणमा पनि नेपाल फाइनलमा बंगलादेशसँग पराजित हुँदै उपविजेता बनेको थियो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया