विश्वकप लिग-२ : पपुवा न्यूगिनीलाई ४ विकेटले हराउँदै नेपाल विजयी

एजेन्सी-युएईमा आइसिसी विश्वकप लिग-२ क्रिकेटको सोमबार भएको खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी) लाई ४ विकेटले पराजित गर्दै शृंखलामा विजयी शुरुवात गरेको छ।

नेपालले जितका लागि पिएनजीले दिएको २०४ रनको लक्ष्य ४५ ओभर २ बलमा विकेट गुमाएर भेट्टायो। ४६ औं ओभरको दोस्रो बलमा कुशल मल्लले चौका प्रहार गर्दै नेपाललाई ४ विकेटले विजयी बनाए।

आशिफ शेखले नेपालका लागि ओपनिङ गर्दै ३९ बलमा ५ चौकाको सहायताले रनआउट हुनुअघि ४४ रन बनाए।

आशिफको विकेट खसेपछि क्रिजमा आएका ज्ञानेन्द्र मल्ल जम्मा १० बलको सामना गरी ४ रनमा आउट भए। नेपालको स्कोर १७ ओभरमा ८८ रन हुँदा मल्ल आउट भए।

आशिफसँगै ओपनिङमा आएका कुशल भूर्तेलले अर्धशतक प्रहार गर्दै ५६ रन बनाए। पिएनजीका कप्तान असद भालाको बलमा आउट हुनुअघि उनले ६९ बलको पालीमा ५ चौका प्रहार गरे। त्यतिवेला भूर्तेलका रुपमा नेपालको तेस्रो विकेट कुल स्कोर २१ ओभर ३ बलमा ११४ रन थियो।

मल्ल आउट भएपछि ब्याटिङमा उत्रिएका कप्तान रोहित पौडेलले २१ बल खेलेर २ चौकाको हान्दै २० रन बनाए। नेपालको चौथो विकेटका रुपमा पौडेललाई पिएनजीका कप्तान भालाले आउट पार्दा कुल स्कोर २५ ओभर ३ बलमा १३५ रन थियो।

यसपछि ३९ बलमा १७ रन बनाएर दीपेन्द्रसिंह ऐरी सेसे बौको बलमा क्लिन बोल्ड भए। उनी आउट हुँदा नेपालको स्कोर ४० ओभरमा ५ विकेट गुमाएर १८९ रन थियो।

लगत्तै ४१ औं ओभरको अन्तिम बलमा छैटौं विकेटका रुपमा आरिफ शेख पनि ६२ बलमा ३३ रन बनाएर पिएनजीका कप्तान भालाकै बलमा आउट भए। यसबेला नेपालको स्कोर ४१ ओभरमा ६ विकेटको क्षतिमा १९१ रन थियो।

कुशल मल्लले अविजित रहँदै १४ बलको सामना गरी १२ रन बनाए भने सोमपाल कामीले पनि अविजित रहँदै १४ बलमा ५ रन बनाए।

पिएनजीका लागि कप्तान असद भालाले ३ विकेट‚ नोर्म्यान भानु र सेसे बौले १/१ विकेट लिए।

यसअघि युएईको दुबई रंगशालामा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि पिएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०३ रन बनाएको थियो।

पिएनजीका लागि कप्तान असद भालाले ३६‚ सेसे बौले ३१‚ किप्लिन डोरिगाले २९‚ नोर्म्यान भानुआले २५ र हिरी हिरीले १० रन बनाए। उसका लागि चाड सोपरले अविजित ३६ रन र सेमो केमियाले अविजित ७ रन बनाए।

नेपालका लागि गुल्सन झाले ३, कुशल मल्लले २ र सोमपाल कामी तथा प्रतिश जिसीले १/१ विकेट लिए।

घरेलु मैदानमा भएको त्रिदेशीय सिरिज क्लिन स्विप गरेको नेपाल सोमबार उच्च मनोबलसहित पीएनजीविरुद्ध उत्रिएको थियो। आजको खेलसहित नेपालले लगातार पाँच खेल जितेको छ।

नेपालले विश्वकपको वरीयता जोगाउन शीर्ष ५ र छनोट हुन शीर्ष ३ भित्र रहनु पर्नेछ। त्यसका लागि बाँकी खेलमा नेपालले लगातार जित निकाल्नुपर्ने दबाब छ।

आजको खेल जितेपछि २९ खेलबाट नेपालले २८ अंक जोडेको छ। २८ खेलबाट ५ अंक जोडेको पीएनजी अन्तिम स्थानमा छ।

नेपालले फागुन १८ गते घरेलु टोली युएई, १९ फागुनमा पीएनजी र २२ फागुनमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्ने तालिका छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP