(विजयनगर) कपिलवस्तु, १५ साउन ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिकाले देशका विभिन्न जिल्लामा हालै भएका संवेदनशील तथा दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सामाजिक, धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सबैमा हार्दिक अपिल गरेको छ ।
गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा मगर र प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माद्वारा संयुक्त रूपमा जारी अपिलमा घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
अपिलमा नेपालको पहिचान विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्व भएको उल्लेख गर्दै कुनै पनि प्रकारका उक्साहटपूर्ण गतिविधि तथा उत्तेजनामा नलाग्न आग्रह गरिएको छ । आवेग र उत्तेजनाले समस्या समाधान नभई थप जटिलता निम्त्याउने भएकाले सबै पक्षलाई संयमित रहन गाउँपालिकाले अनुरोध गरेको छ ।
त्यसैगरी धार्मिक सहिष्णुता, शान्ति र सद्भाव कायम राख्न राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, सञ्चारकर्मी तथा आम नागरिकलाई आ-आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरिएको प्रशासन शाखा प्रमुख बाेधराज भुसालले जानकारी दिए ।
गाउँपालिकाले संवेदनशील समयमा सामाजिक सञ्जालको जिम्मेवारीपूर्वक प्रयोग गर्न तथा सञ्चारमाध्यमलाई समेत संयमित र तथ्यपरक सूचना मात्रै सम्प्रेषण गर्न अनुरोध गरेको छ ।

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया