
पर्वत : नेपाल रेडक्रस सोसाइटीले आफ्ना तथ्याङ्क र भण्डारण सहितका अन्य सबै प्रकारका विवरणहरुलाई ‘डिजिटल’ बनाउने अभियान थालेको छ।
नेपाल रेडक्रसका केन्द्रीय निकाय तथा विभागहरू सहित जिल्ला शाखा तथा जिल्लाभित्रका उपशाखाहरूमा कागजमा लेखेर राखिएका तथ्याङ्कहरूलाई ‘अनलाइन’ मा राख्ने गरी कामहरू भइरहेका छन्।
आउँदो अङ्ग्रेजी नयाँ वर्ष जनवरी एकदेखि नै अनलाइन प्रणालीमा तथ्याङ्क प्रविष्टि गर्ने गरी देशैभरि तालिमका अभियानहरू चलिरहेका नेपाल रेडक्रस सोसाइटीअन्तर्गत विपद् व्यवस्थापन विभागका उपनिर्देशक मदन फोजूले बताए।
विशेषतः विपद्को बेलामा पीडितहरूलाई छिट्टै राहत सामग्री उपलब्ध गराउन तथा रेडक्रसका नजिकका गोदामघरहरूमा सामग्रीहरू अपुग भएमा छिमेकका गोदामघरहरूबाट सामग्री उपलब्ध गराउन छिटो हुने गरी भण्डारणलाई अनलाइन प्रणालीमा राख्ने तयारी गरिएको हो।
‘जिल्लादेखि केन्द्रसम्म सबै तहमा कागजी ढड्डामा राखिएका तथ्याङ्कलाई हामीले अनलाइन प्रणालीमा सिफ्ट गर्न लागेका छौँ। जसलाई जुनसुकै समयमा जहाँबाट पनि हेर्न सकियोस्’, उनले भने, ‘यसले राहतको योजना बनाउन सहयोग गर्छ, तत्कालै राहत उपलब्ध गराउन पनि सकिन्छ। एउटा पक्ष पुराना तथ्याङ्कलाई अनलाइनमा राख्ने। अर्को कुन कुन भण्डारण केन्द्रमा कति कति सामग्रीहरू स्टकमा छन्, कति बिग्रिए, कति फिर्ता भए भनेर सबै ठाउँबाट हेर्न सकिने।’
नेपाल रेडक्रसका आकस्मिक कार्य सञ्चालन केन्द्रका प्रमुख डम्मर विष्टका अनुसार केही दिन अगाडि प्रदेश नं। २ अन्तर्गतका जिल्लाका प्रतिनिधिहरू र प्रादेशिक गोदामघरका कर्मचारीहरुलाई ‘म्यानेजमेन्ट इन्फरमेसन सिस्टम एमआइएसको प्रयोग र अद्यावधिक गर्ने विधिको बारेमा तालिम दिइएको छ। यस्तै गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाका प्रतिनिधिहरूलाई शुक्रवारदेखि दुई दिने तालिम पोखरामा चलिरहेको छ। तालिममा नेपाल रेडक्रस सोसाइटीका सूचना व्यवस्थापन अधिकृत अजन्ता ढकाल, ‘इन्टरनेशनल फेडरेसन अफ रेडक्रस’ का सूचना प्रविधि अधिकृत राजेश भट्टराई, नेपाल रेडक्रस सोसाइटीका बरिष्ठ लेखा अधिकृत तिलक श्रेष्ठ लगायतले प्रशिक्षण गरिरहेका छन्। अब सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि तालिम सञ्चालनको योजना बनाइएको भन्दै उनले बागमती र कोशीमा पनि तालिम चलाइने विष्टले बताए।
प्रशिक्षणका क्रममा हरेक जिल्लाका विभिन्न प्रकारका सदस्यहरूको व्यक्तिगत विवरणहरू अपलोड गर्ने, जिल्लामा रहेका राहत सामग्रीहरू अनलाइन प्रणालीमा दर्ता गर्ने, रेडक्रसका केन्द्र र प्रादेशिक कार्यालयबाट प्राप्त हुने सामग्रीहरूलाई अनलाइनमा अद्यावधिक गर्ने, फिर्ता गर्नुपर्ने तथा बिग्रिएका सामग्रीहरूको विवरण अद्यावधिक गर्ने लगायतका कामहरू तालिममा सिकाइएको छ।
सूचना व्यवस्थापन अधिकृत अजन्ता ढकालले भण्डारणमा रहेका सामग्रीहरूलाई अनलाइनमा राखेपछि जहाँ आवश्यक पर्छ त्यहाँ तत्कालै सामग्री पुर्याउन सजिलो हुने बताइन्।
कागजी रूपमा राखिएका विवरणबाट ‘स्टक’ सामग्रीहरूको विवरण खोज्दा चाहिएको बेलामा नपाउने र भनेको बेलामा घटना स्थलमा पठाउन नसकिने भएकोले अनलाइन प्रणालीले यसलाई पूर्ण रूपमा व्यवस्थित गर्ने बताइन्।
‘कुनै ठाउँमा तत्काल सामग्री पठाउनुपर्ने भयो तर त्यहाँ रहेको वेयरहाउसमा स्टक रहेनछ भने छिमेकी वेयरहाउसमा फोन गर्नुपर्ने, फोन नउठ्ला, उठे पनि स्टक नहोला। यति भइन्जेल पीडितको बिजोग भइसकेको हुन्छ’, उनले भनिन्, ‘अब यो प्रणालीमा विवरणहरू राखेपछि केन्द्रले सिधै भण्डारणको अवस्था हेरेर सामग्री पठाउन सक्छ। नजिकको केन्द्रमा सकिएको भए कुन वेयरहाउसबाट सामग्री लिने भन्ने हेर्न पनि सजिलो हुन्छ।’
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया