
काठमाडौं : नेपालमा प्रतिदिन ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखा पर्ने गरेको पाइएको छ। यही क्यान्सरका कारण नेपालमा हरेक दिन चार जना महिलाले ज्यान गुमाइरहेका छन्।
जसले गर्दा पाठेघर मुखको क्यान्सरलाई न्यूनीकरण गर्न नेपालमा पहिलो पटक विश्व पाठेघर मुखको क्यान्सर निवारण दिवस मनाइएको छ।
‘नेपालमा महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख हो । क्यान्सरबाट महिलाहरूको मृत्यु हुनेमा यो पहिलो नम्बरमा पर्छ। रोकथाम गर्न सकिने हुँदाहुँदै पनि नेपालमा प्रतिदिन ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखा पर्ने गरेको छ।’ स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटाले भने-‘यही क्यान्सरका कारण प्रतिदिन ४ जना महिलाले ज्यान समेत गुमाइरहेका छन्।’
यसको न्यूनीकरणका लागि उनले समयमा नै स्क्रिनिङ, एच.पि.भी (ह्युम्यान प्यापिलोमा भाइरस) खोप विस्तार, जनचेतना वृद्धि र स्वास्थ्य प्रणाली सुदृढीकरण गर्नुपर्नेमा जोड दिए।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा महिलामा पाठेघरको मुखको क्यान्सर चौथो मुख्य क्यान्सरका रूपमा रहेको छ। हरेक वर्ष विश्वमा छ लाख ६० हजार महिलालाई पाठेघरको क्यान्सर हुने र करिब तीन लाख ५० हजार महिलाको मृत्यु हुने गरेको सङ्गठनले जनाएको छ।
पाठेघर मुखको क्यान्सर विरुद्ध सरकारले सन् २०३० सम्म नेपाल सरकारले कम्तीमा ९० प्रतिशत किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी खोप लगाउने, ३० वर्ष माथिका कम्तीमा ९० प्रतिशत महिलाहरूको स्क्रिनिङ गर्ने र पाठेघरको मुखको क्यान्सरको निदान भएका कम्तीमा ९० प्रतिशत महिलाहरूको उपचार गर्ने रणनीतिक लक्ष्य लिएको छ।
सो लक्ष्य प्राप्तिको लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गत वर्षदेखि राष्ट्रिय खोप कार्यक्रममा एच.पि.भी. खोपलाई समावेश गरी ९४ प्रतिशत किशोरीहरूलाई पहिलो पटक निःशुल्क खोप सेवा प्रदान समेत गरेको थियो।
यस वर्षको फागुन महिनामा पनि विद्यालय जाने ६ कक्षाका छात्रा र विद्यालय बाहिर रहेका १० वर्षसम्मका किशोरीहरूलाई एच.पि.भी खोप दिने कार्यक्रम रहेको छ।
साथै स्थानीय तहमार्फत संचालन हुने एकीकृत प्रजनन स्वास्थ्य रुग्णता शिविर र तालिमप्राप्त स्वास्थ्यकर्मी भएका स्वास्थ्य संस्थामा निःशुल्क रुपमा ३० वर्ष माथिका महिलाहरूको नियमित स्क्रिनिङ कार्यक्रम समेत संचालन गरिँदै आएको छ।
त्यस्तै, यसका लागि नेपाल सरकारले क्यान्सरका विरामीहरूलाई उपचारमा सहुलियत समेत प्रदान गर्दै आएको छ।
नेपाल जनसाङ्ख्यिक सर्वेक्षणका अनुसार करिब ११ प्रतिशत महिलाले मात्र पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गराएका छन् । यसका प्रमुख चुनौतीहरूमा महिलामा सचेतना अभाव, स्वास्थ्य सेवामा सीमित पहुँच, दक्ष जनशक्ति अभाव, नियमित कार्यक्रमको कमी, कमजोर तथ्याङ्क व्यवस्थापन, सामाजिक लाजभाव र आर्थिक रहेका छन् ।
जसले गर्दा धेरै महिलामा रोग ढिलो चरणमा मात्र पत्ता लाग्ने र मृत्यु दर उच्च रहने गरेको समेत स्वास्थ्य सचिव डा देवकोटाको भनाइ छ।
त्यसैले पाठेघर मुख क्यान्सरबाट हुने मृत्यु तथा संक्रमण हुनै नदिन सरकारले यस बर्षदेखि यो दिवस मनाइएको हो। यस वर्ष पहिलो पटक ‘आजै देखि लागौँ : पाठेघरको मुखको क्यान्सर निवारण गरौँ’ भन्ने नाराका साथ यो दिवस मनाइएको हो। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया