मनिष गुप्ता
कपिलवस्तु, साउन १५।
कपिलवस्तुको बाणगंगा नगरपालिका–१, वैरियास्थित मायादेवी रिसोर्टमा आयोजित एक कार्यक्रममा सहभागी भई खाना खाएका अधिकांश व्यक्तिमा झाडापखाला देखिएपछि जिल्ला प्रशासन कार्यालयले रिसोर्टको सञ्चालन तत्कालका लागि रोक्न निर्देशन दिएको छ।
गत मंगलबार रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनले आयोजना गरेको कार्यक्रममा करिब एक सय जना सहभागी भएका थिए। कार्यक्रममा रिसोर्टले उपलब्ध गराएको खाना सेवन गरेपछि सहभागीहरूमा झाडापखाला, वान्ता तथा पेटसम्बन्धी समस्या देखिएको जनाइएको छ।
बिरामीमध्ये केहीको स्थानीय अस्पताल तथा केहीको बुटवलस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उपचाररत एक सहभागीले रिसोर्टले गुणस्तरहीन तथा असुरक्षित खाना उपलब्ध गराएकै कारण समस्या उत्पन्न भएको आरोप लगाएका छन्।
घटनापछि स्थानीय नारायण पौडेलले प्रहरीमा उजुरी दिएका छन्। त्यसपछि जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय तथा सम्बन्धित निकायको टोलीले रिसोर्टमा पुगेर अनुगमन गर्दै खानाका नमुना सङ्कलन गरेको छ। प्रयोगशालाको परीक्षण प्रतिवेदन आएपछि थप कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।
प्रमुख जिल्ला अधिकारीले प्रारम्भिक रूपमा घटनालाई गम्भीर रूपमा लिँदै परीक्षण प्रतिवेदन नआउञ्जेल रिसोर्ट सञ्चालन नगर्न निर्देशन दिएको जानकारी दिएका छन्।
कार्यक्रममा सहभागी भएका जिल्लाका केही उच्चपदस्थ व्यक्तित्व, पत्रकार, प्रहरी, आयोजक तथा अन्य अतिथिसमेत बिरामी परेपछि घटना थप चर्चामा आएको छ। एकै कार्यक्रमका धेरै व्यक्तिमा समान प्रकृतिको स्वास्थ्य समस्या देखिएकाले समुदायमा समेत खाद्यजन्य रोग फैलिन सक्ने चिन्ता व्यक्त गरिएको छ।
यसअघि पनि सोही रिसोर्टमा गत जेठ महिनामा स्वीमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको थियो। उक्त घटनापछि पीडित पक्षलाई रिसोर्ट व्यवस्थापनले क्षतिपूर्ति उपलब्ध गराएको थियो। स्थानीयवासीले रिसोर्टको स्वीमिङ पुल मापदण्डविपरीत सञ्चालन हुँदै आएको भन्दै त्यसको समेत छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
यद्यपि, झाडापखालाको वास्तविक कारण प्रयोगशालाको परीक्षण प्रतिवेदनबाट मात्र पुष्टि हुने भएकाले सम्बन्धित निकायले त्यसअघि कुनै निष्कर्षमा नपुग्न आग्रह गरेको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया