घनश्याम भर
(विजयनगर) कपिलवस्तु, २१ साउन ।
खाद्य सुरक्षामा सामुदायिक रूपान्तरणलाई प्रभावकारी बनाउने उद्देश्यले ‘मुद्दामा आधारित संवाद, बहस, वकालत तथा सामाजिक अभियान’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम विजयनगर गाउँपालिकामा सम्पन्न भएको छ ।
विजयनगर गाउँपालिकाको आयोजना तथा कालिका स्वावलम्बन सामाजिक केन्द्र/अन्धेरी हिल्फेको सहयोगमा आयोजित कार्यक्रममा खाद्य सुरक्षा, जलवायु परिवर्तन, सिँचाइ व्यवस्थापन तथा प्राकृतिक स्रोतको संरक्षणका विषयमा बृहत् छलफल गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले सिँचाईको समस्या दिनप्रतिदिन जटिल बन्दै गएको बताइन् । गाउँपालिकाको बजेटले मात्र सबै समस्या समाधान गर्न सम्भव नभएकाले सम्बन्धित निकायसँग समन्वय गरी दीर्घकालीन योजना आवश्यक रहेको उनको भनाई छ । उपाध्यक्ष चौधरीले सिँचाई र जलस्रोत व्यवस्थापनका लागि गहन अध्ययनसहित योजना निर्माण गर्नुपर्नेमा जोड दिँदै गाउँपालिकाभित्र रहेका तालतलैया, कुलो, नदी तथा अन्य जलाशयहरूको संरक्षण, मर्मतसम्भार र प्रभावकारी व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याइन् ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले जलवायु परिवर्तनका कारण पानीका स्रोतहरू क्रमशः घट्दै गएको उल्लेख गर्दै प्राकृतिक स्रोतको संरक्षण र नवीकरणीय सोचका साथ विकासका योजना अघि बढाउनुपर्नेमा जोड दिए । उनले पानीको अभावले कृषि उत्पादन र खाद्य सुरक्षामा प्रत्यक्ष असर पारिरहेको भन्दै स्थानीय तह, सरोकारवाला निकाय तथा समुदायबीच सहकार्य आवश्यक रहेको बताए ।
यसैगरी कालिका स्वावलम्बन सामाजिक केन्द्रका कार्यकारी निर्देशक रामेन्द्र सिंह रावलले खाद्य सुरक्षा केवल कृषि उत्पादनसँग मात्र सीमित विषय नभई जलवायु परिवर्तन, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन, सामुदायिक सहभागिता र प्रभावकारी नीतिगत पैरवीसँग प्रत्यक्ष जोडिएको विषय भएको बताए । स्थानीय तह, समुदाय र विकास साझेदारबीच समन्वय र सहकार्यलाई थप सुदृढ गर्दै समुदायका वास्तविक आवश्यकता र समस्याका आधारमा योजना तथा अभियान सञ्चालन गर्न सके मात्र दिगो खाद्य सुरक्षा सुनिश्चित गर्न सकिने उनको भनाई छ ।
कार्यक्रममा सहभागीहरूले खाद्य सुरक्षा, कृषि उत्पादन वृद्धि, जलस्रोत संरक्षण, सिँचाइ व्यवस्थापन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि स्थानीय तह, सरोकारवाला निकाय र समुदायबीच समन्वय तथा साझा पहल आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।
कार्यक्रमलाई वडा नम्बर ७ का अध्यक्ष दिनेश कुमार चौधरी, वडा नम्बर ४ का अध्यक्ष तिलकराम कँडेल, प्रशासन शाखा प्रमुख बोधराज भुसाल, कृषि शाखाका सहायक अधिकृत प्रभुनाथ यादव, सुन्दर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष राम प्रघट कोरी लगायतले पनि सम्बोधन गरेका थिए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया